Friday, January 28, 2011

अब एसएमएसबाटै फेसबुक स्टाटस परिवर्तन

इन्टरनेट नचल्ने ठाउँमा पुग्नुभएको छ। साथीहरुबीच रोचक घटना बाँड्न मन लाग्यो भने पनि अब सम्भव भएको छ। मोबाइल टेलिफोनबाट एउटा एसएमएस पठाएपछि तपाईको फेसबुक स्टाटस अपडेट गर्न सकिन्छ।
जानकी टेक्नोलोजीले मोबाइल एसएमएसबाटै फेसबुकको स्टाटस अपडेट गर्ने सुविधा ल्याएको छ। 'क्यान इन्फोटेकको अवसरमा हामी यो सेवा सार्वजनिक गर्दैछौं,' जानकी टेक्नोलोजीका बिजनेश डेभलपमेन्ट अफिसर विपुल काबराले भने। अहिले परिक्षणको रुपमा यो सेवा सुरु भैसकेको छ।
यो सेवाले गर्दा मोबाइलमा थ्रीजी र जिपीआरएस नचलेपनि फेसबुक प्रयोगकर्ताले आफ्नो स्टाटस फेर्न सक्नेछन्। 'धेरै ठाउँमा जिपिआरएसबाट फेसबुक निकै ढिलो खुल्ने, स्टाटस अपडेट गर्न समस्या परेको महसुस गरेर हामीले यो नयाँ सिस्टम विकास गरेका हौं,' उनले भने।
यो सेवा प्रयोग गरेर फेसबुक स्टाटस अपडेट गर्दा एक पटकको एक रुपैयाँ तिर्नुपर्छ। यो सेवा लिन एफबी डट स्पारोएसएमएस डट कम साइटमा गएर दर्ता गर्नुपर्छ। त्यहाँ रहेको डायलग बक्समा मागिएको विवरण भरेर आफ्नो मोबाइल नम्बर दर्ता गरेपछि एसएमएस मार्फत जहाँसुकेबाट पनि फेसबुक स्टाटस फेर्न सकिन्छ।
फेसबुकसँग सम्झौता गरेर जानकी टेक्नोलोजीले नेपालमा यस्तो सुविधा सुरु गरेको हो। नेपाल टेलिकम र एनसेलको मोबाइल प्रयोगकर्ताहरुले मात्र यो सेवा प्रयोग गर्न सक्छन्। एसएमएसबाट स्टाटस अपडेट गर्न एफबी स्पेस स्टाटसको विवरण अंग्रेजीमा टाइप गरेर ४००१ नम्बरमा एसएमएस पठाउनुपर्नेछ।
प्रति एसएमएस तीन रुपैयाँ लाग्ने काबराले बताए।

No comments:

Post a Comment

^ Scroll to Top