Sunday, January 30, 2011

क्यासिनोबाट नेपाली पक्राउ

प्रहरीले र्‍याडिसन होटलस्थित क्यासिनो र्‍याडमा शनिबार दिउँसो छापा मारेर जुवा खेलिरहेका पाँच नेपालीलाई नियन्त्रणमा लिएको छ । कानुनविपरीत नेपाली प्रवेश गराएको फेला परेपछि प्रहरीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार उक्त क्यासिनोको इजाजत खारेजीको प्रक्रिया सुरु गर्ने भएको छ ।
काठमाडौं- काठमाडौं प्रहरी प्रमुखबाट एसपी रमेश खरेल बाहिरिएपछि क्यासिनोमा नेपाली प्रवेशमा आँखा चिम्लिएको आरोप लागेको प्रहरीले पहिलो पटक शनिबार कारबाहीमा सक्रियता देखाएको छ ।
छापा मार्दा पक्राउ परेका कुमार शाक्य, प्रकाश लामा, चन्द्रमान तामाङ, नवीन लामा र बाबुराम गौतमलाई जुवा ऐनअन्तर्गत कारबाही चलाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले सार्वजनिक लेखा समितिको निर्देशनानुसार नेपाली प्रवेश गराउने क्यासिनो (र्‍याड) को इजाजत पत्र रद्द गर्ने प्रक्रिया थालिएको बताए । समितिले पुस १३ गते नेपाली प्रवेश गराउने क्यासिनोको इजाजत रद्द गर्न निर्देशन दिएको थियो ।
क्यासिनो र्‍याडमा शनिबार सादा पोसाकमा परिचालित टोलीले सबै ढोकामा प्रहरी तैनाथ गरेका कारण 'अलार्म' बजाए पनि कोही भाग्न नसकेको दाबी गरेको छ । 'क्यासिनो र्‍याडबाट भाग्न सकिने चारवटा ढोका पहिचान गरी प्रहरी तैनाथ गरिएको थियो,' टोलीका एक प्रहरीले भने । नेपाली प्रवेश गराउन नपाइने गरी इजाजत लिएका जुवाघर क्यासिनोहरूमा केही दिनयता ९० प्रतिशतभन्दा बढी नेपाली ग्राहक छन् । एसपी खरेल बाहिरिएलगत्तै नेपालीको प्रवेश ह्वात्तै बढेको हो । प्रहरीले छापा मार्दा नेपाली ग्राहकलाई उम्काउन 'अलार्म'
को व्यवस्था गरिएका छन् । पछाडिपट्टिबाट भाग्न गोप्य ढोकाहरू बनाइएका छन् । एसपी कार्कीले सांगि्रला, एभरेस्ट र अन्ना क्यासिनोमा पनि शुक्रबार छापा मारिएको जानकारी दिँदै तर नेपाली फेला नपरेको बताए । क्यासिनोका नियमित नेपाली ग्राहकहरू भने पछिल्ला दिनमा प्रवेशमा 'खुकुलो' भएको र नेपाली ग्राहकले नै क्यासिनो भरिने गरेको बताउँछन् ।
छापा मार्ने सूचना पाउनासाथ नेपालीलाई क्यासिनो सञ्चालकले गोप्य ढोकामार्फत भगाउँछन् । राजधानीका सबै आठ क्यासिनोमा दुईदेखि ६ वटासम्म यस्ता गोप्य ढोकाहरू छन् ।
क्यासिनोमा पक्राउ नै गर्ने र देखाउने गरी दुई तरिकाले छापा मारिने एक प्रहरी अधिकृतले बताए । 'पक्राउ गर्न गोप्य रूपमा सादा पोसाकका परिचालित गरिन्छ,' उनले भने, 'देखाउनु छ भने प्रहरी पठाइन्छ, भाग्ने मौका दिइन्छ र छापा मार्दा नेपाली नभेटिएको हल्ला मच्चाइन्छ ।'
क्यासिनो नजिकका प्रहरी इकाईले मात्र थाहा पाए भने पनि नेपाली भगाउन सूचित गरिहाल्ने उनले बताए । प्रहरीले नेपालीको प्रवेशमा कडाइ गरेका बेला र्‍याडिसन होटल अगाडिको प्रहरी बिटका प्रमुखचाहिँ क्यासिनोको आतिथ्यमा होटलमै सुत्ने गरेको फेला परेको थियो ।
गैरकानुनी रूपमा नेपाली प्रवेश गराई जुवा खेलाउने क्यासिनोको इजाजत खारेज गर्न लेखाले निर्देशन दिएको एक महिना बिते पनि कार्यान्वयन भएको छैन । 'पैसा खाएर प्रहरीले आँखा चिम्लने गरेको छ,' क्यासिनोका एक ग्राहकले भने, 'नत्र किन पक्राउ परेकामाथि कारबाही र क्यासिनोको इजाजत खारेज हुँदैन ?' नेपाली प्रवेश गराएकामा पक्राउ परेका ह्यातस्थित क्यासिनो ताराका प्रबन्धक मनोज सुवेदीलाई एसपी खरेल काठमाडौं प्रहरी प्रमुखबाट बाहिरिएलगत्तै थुनामुक्त गरिएका थियो ।
नेपाली छिराउने क्यासिनोको इजाजत रद्द गर्न स्पष्ट निर्देशन संसदीय समितिले दिएकाले तत्काल कारबाही गरिनुपर्ने समितिका सदस्य सभासद रवीन्द्र अधिकारीले बताए । 'क्यासिनोहरूले कानुनविपरीत नेपालीलाई स्वागत गरेको कारण हजारौं घर बर्बाद भएको, अपराध फस्टाएको देखिएपछि यस्तो कडा निर्देशन दिइएको हो,' उनले भने । समितिको निर्देशन कार्यान्वयन नभएको देखिए थप कडा कदम चालिने सभासद धनराज गुरुङले बताए ।
पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईका अनुसार समितिले निर्देशन जारी गरेपछि सबै क्यासिनोलाई नेपाली प्रवेश गराएमा इजाजत रद्द हुने बेहोराको पत्र पठाइएको थियो । समितिले क्यासिनो नियमनका लागि निर्देशिका बनाउन पर्यटनलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार द्रुत गतिमा निर्देशिका बनाउने काम भइरहेको उनले बताए । निर्देशिकाको मस्यौदा एक साताभित्र तयार भएपछि सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाएपछि मन्त्रिपरिषद्बाट जारी हुनेछ ।
समितिले ३५ दिनभित्र बक्यौता असुल गराउन सम्बद्ध निकायलाई निर्देशन दिँदै नतिर्नेको इजाजत रद्द गर्न भनेको थियो । राजस्व अनुसन्धान विभागले बक्यौता तिर्न दिएको ३५ दिनको समय २८ गते सकिँदैछ । 'समयभित्र नतिरे क्यासिनो बन्द गराउने प्रक्रिया सुरु हुन्छ,' विभागका महानिर्देशक महेश दाहालले भने । सोल्टीको क्यासिनो नेपाल (९ करोड), अन्नपूर्णको अन्ना (७ करोड), सांगि्रला (२ करोड) ले बक्यौता तिर्न चासो देखाएका छैनन् । फूलबारी रिसोर्टको क्यासिनो फूलबारीले अलिअलि गरेर तिरे पनि करिब ३ करोड तिर्न बाँकी छ ।

No comments:

Post a Comment

^ Scroll to Top