Sunday, January 16, 2011

नेपालको राष्ट्रिय झन्डासहित युवतीको अर्धनग्न नृत्य हेर्न वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सरोेजकुमार यादव पैसा नतिरी डान्सबारबाट भागे

नेपालको राष्ट्रिय झन्डासहित युवतीको अर्धनग्न नृत्य हेर्न वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सरोेजकुमार यादव पैसा नतिरी डान्सबारबाट भागेका छन् । तर, उनका सहयोगी भने पक्राउ परेका छन् ।
शुक्रबार राति साथीहरूसहित सुन्धारास्थित गाजलु आँखा डान्सबारमा गएका राज्यमन्त्री यादवले पाँच बोतल बियर, १४ गिलास वाइन, १० क्यान रेडबुल, हाफ बोतल सिग्नेचर खाएका थिए । युवतीहरूको अर्धनग्न नृत्य देखाउने रेस्टुरेन्टमा १० हजार ६ सय ७५ रुपैयाँको बिल उठेपछि राज्यमन्त्री यादव पैसा नतिरी भागेका थिए । मन्त्री भागेपछि उनका साथी विनयकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
बा.१झ ८३८९ नम्बरको सरकारी गाडीमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै राज्यमन्त्री यादव सुन्धाराको बिएन्डबी भवनको दोस्रो तलामा रहेको गाजलु आँखा डान्सबारमा गएका थिए । साँझ ८ बजे डान्सबारमा पुगेका उनीहरूले करिब दुई घन्टा रमाइलो गरेका थिए ।
तर पैसा नतिरी हिँड्न खोजेपछि डान्सबारका कर्मचारीले मन्त्रीको गाडी रोक्ने प्रयास गरेका थिए । यही विषयमा डान्सबारका कर्मचारी र मन्त्रीका पिएबीच डान्सबारअगाडि सडकमा झगडा पनि भएको थियो । विवादबीच राज्यमन्त्रीको गाडी साइरन बजाउँदै भागेको थियो भने डान्सबारका कर्मचारीको सहयोगमा प्रहरीले मन्त्रीका साथी विनयकुमार रायको गाडी कब्जामा लिएको थियो ।
बारका कर्मचारीले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी निरीक्षक अवधेश विष्टको नेतृत्वमा गएको टोलीले राति साढे १० बजे विनयकुमारलाई पनि पक्राउ गरेको हो । र, अर्काे एउटा कार लिएर राज्यमन्त्री यादव डान्सबारमा गएका थिए ।
डान्सबारका एक कर्मचारीका अनुसार मन्त्री यादवको नाममा करिब १२ हजार रुपैयाँको बिल उठेको थियो । त्यसमा छुट गरेर १० हजार ६ सय ७५ कायम गरिएको उनले बताए । राज्यमन्त्री यादव र उनका साथीहरूले पर्याप्त मदिरा खाए पनि कुनै 'फुड आइटम' लिएका थिएनन् ।
राज्यमन्त्री यादवका साथी रायलाई पक्राउ गरेपछि उनलाई छोड्न 'माथिल्लो निकायबाट' राति नै दबाब आइरहेको थियो । विनयकुमारले आफूलाई राति नै नछाडिए भोलिदेखि बार खोल्न नदिने भन्दै प्रहरीलाई पनि धम्की दिइरहेका छन् । 'म १० हजार रुपैयाँको मान्छे हो' भन्दै उनले निरीक्षक विष्टसँग झगडा गरिरहेका थिए । स्रोतका अनुसार डान्सबारको १६ नम्बर टेबल बुक गरी राज्यमन्त्री यादवले साथी राय, पिए र पिएसओसँगै बसेर रक्सी पिएका थिए । डान्सबारका सञ्चालक शंकर पौडेलले मन्त्री यादव र उनका साथी एक रुपैयाँ पनि नतिरी भाग्न खोजेपछि प्रहरीलाई खबर गरिएको बताए ।
राज्यमन्त्री यादव सद्भावनाको तर्फबाट बारा- १ बाट निर्वाचित सभासद् हुन् । त्यस्तै, नवलपरासी जमुनिया घर भएका विनयकुमार व्यवसायी हुन् । उनले पैसा नतिरेकोमा प्रहरीलाई खबर गरेको भन्दै डान्सबार सञ्चालक पौडेललाई धम्क्याएका थिए ।
डान्सबार स्रोतका अनुसार राज्यमन्त्री यादव टेबलमा युवतीहरूलाई वरिपरि राखेर बसेका थिए । ती युवतीहरूले समेत खाएको रक्सीका कारण बिल बढेको थियो । जनसेवाका प्रहरी निरीक्षक विष्टले डान्सबारको बिल तिरेपछि मात्र रायलाई छोडिने बताए ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top