Sunday, January 2, 2011

संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो

संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो Sunday, 02 January 2011 10:10 नागरिक
सुशील भट्टराई, काठमाडौं, पुस १८- राष्ट्रिय महत्वका साथ सरकार र निजी क्षेत्रले मनाइरहेको 'नेपाल पर्यटन वर्ष २०११' को पहिलो दिनमै सुखद समाचार आएको छ। १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारमा यो समाचारले महत्वपूर्ण भूमिका खेल्नेछ। अमेरिकास्थित अन्तर्राष्ट्रिय टेलिभिजन संस्था केबुल न्युज नेटवर्क (सिएनएन) को अनलाइन संस्करणले सन् २०११ का लागि उत्कृष्ट १० भ्रमण गन्तव्य सार्वजनिक गरेको छ। यो सूचीमा 'उत्कृष्ट साहसिक भ्रमण : सगरमाथा आधारशिविर' नाम दिएर पहिलो स्थानमा सिएनएनले नेपाल छनोट गरेको हो। 'यो सत्य हो कि अधिकांश भ्रमण गन्तव्य नयाँ फेसनका कपडाजस्ता हुँदैनन, जुन एक वर्ष चल्ने र अर्को वर्ष हराएर जाने,' सिएनएनले लेखेको छ, 'विश्व मानचित्रमा यस्ता स्थानहरू छन्, यिनमा सन् २०११ का लागि भ्रमणयोग्य विशेषता छन्। र, यी सधैं जीवित रहनेछन्।' सिएनएन सूचीले नेपालका उच्च हिमाली क्षेत्रमा साहसिक ट्रेकिङ विगतमा जति गाह्रो थियो, अहिले विस्तारै सजिलो हुँदै गएको विवरण लेखेको छ। उसले २०११ अप्रिलमा अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम वर्ल्ड ट्राभल्सका प्रस्तोता तथा ट्राभल राइटर रोबिन एसरक ट्रेकिङ गर्दै सगरमाथा आधारशिविरि पुग्ने उल्लेख गरेको छ। 'नेपाली हिमालको मौसममा आफूलाई ढाल्न साह्रै गाह्रो छ, यसका लागि महिनौं लाग्छ,' एसरकले भनेका छन्, 'यसमा आफ्ना सामानसँगै अविश्वसनीय सेर्पाको सहयोग महत्वपूर्ण हुनेछ।' सूचीका अनुसार काठमाडौंबाट अप्रिल ४ मा सुरु भई २४ तारिखमा सकिने यात्रा १८ हजार १ सय ९२ फिट उचाइसम्म पुग्नेछ। भ्रमण क्रममा सगरमाथा, तवाचे, नप्त्से, ल्होत्से, अमादब्लमलगायत हिमालका मनमोहक दृष्यावलोकन गर्न पाइनेछ। प्रतिव्यक्ति २ हजार ७ सय ६८ अमेरिकी डलर खर्च लाग्नेछ। यसमा खाना, ट्रेकिङ सामान, भरिया र बसाइ समेटिएका छन्। पर्यटन वर्ष मनाइरहेका सारा नेपालीसँगै, होटल, ट्राभल, ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङलगायत व्यवसायी, सरकारी अधिकारी सबै यो खबरले थप हौसिएका छन्। 'यो असाध्यै सुखद र उत्साह जगाउने खबर हो,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले शनिबार नागरिकसँग भने, 'सिएनएन जस्तो त्यति ठूलो संस्थाले २०११ का लागि नेपाल र त्यसमाथि सगरमाथा छान्नु आफैमा एउटा गौरव हो।' सिएनएनको सूचीबाट यो वर्षका लागि नेपाल विश्वकै नम्बर एक साहसिक भ्रमण गन्तव्य बनेको उनले बताए। 'यो ठूलो सफलता हो,' उनले भने, 'हाम्रो पर्यटन वर्ष सफल पार्न यो सूचीबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ।' नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य सचिव सुभाष निरौलाले सिएनएनको सूचीबाट नेपालको पर्यटन उद्योगमा 'सुनमा सुगन्ध' थपिएको धारणा राखे। 'हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा वर्षौंदेखि हाम्रा गन्तव्यलाई उत्कृष्ट भन्दै आएका छौं,' उनले भने, 'बल्ल यसको पुष्टि भएको छ।' नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रचार-प्रसार गर्न अब सिएनएनको सूचीबाट थप सहयोग र बल पुगेको उनले बताए। सिएनएनको प्रभाव समग्र अमेरिकासहित पश्चिमी देशहरूमा भएका कारण उसले छनोट गरेका भ्रमण सूचीमा नेपाल पर्नु 'अमूल्य' प्रचार भएको उनको भनाइ छ। 'यो निःशुल्क तर अमूल्य प्रचार हो,' उनले भने, 'हामी यहाँ करोडौं खर्च गरेर विदेशी सञ्चारमाध्यममा पर्यटन वर्षको विज्ञापन दिने तयारीमा छौं, तर सिएनएनको यो खबरबाट हाम्रो तयारीभन्दा सयौं गुणा बढी माइलेज पाएको छ।' यही सूची हेरेर नेपाल आउन चाहने पर्यटक हजारौं हुने उनले जानकारी दिए। प्रेसिडेन्ट ट्राभल्सका अध्यक्ष तथा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य भोलाविक्रम थापाले लाखौं खर्च गरेर सिएनएनमै विज्ञापन दिएकोभन्दा यो सूचीबाट कयौं गुणा सकारात्मक प्रभाव पर्ने बताए। 'योभन्दा ठूलो प्रचार नेपाली पर्यटन उद्योगका लागि अरु हुन सक्दैन,' उनले भने, 'अब सरकार र निजी क्षेत्रले यसलाई क्यास गर्नुपर्छ। हामी अन्तर्राष्ट्रिय प्रबर्द्धनमा जाँदा सिएनएनको सूचीबारे व्यापक प्रचार गर्छौं।' पर्यटन बोर्डका मिडिया सल्लाहकार शरद प्रधानले सिएनएनको सूचीलाई बोर्डका ब्रोसियरमा राखेर प्रचार-प्रसार गर्ने जानकारी दिए। सिएनएनको सूचीमा दुईदेखि दसौं स्थानमा क्रमशः चीनको चेङ्दु, आयरल्यान्ड, मलेसियाको मलेसियाको बोर्नियो, प्रशान्त आइसल्यान्ड पलाउ, मोरक्को, फ्रान्स, क्यानडाको भ्यानकुभर, बोलिभियाको चे ग्वेभारा रुट र कम्बोडिया परेका छन्। यसअघि सन् २००४ मा बेलायतको आई एक्सप्लोर ट्राभल वेबसाइटले संसारका उत्कृष्ट १० गन्तव्यमा अन्नपूर्ण पदयात्रा, २००५ मा बिबिसीले मृत्युअघि पुग्नैपर्ने संसारका ५० मध्ये एक गन्तव्य नेपाल र २००८ मा नेसनल जियोग्राफिक एड्भेन्चर म्यागाजिनले साहसिक गन्व्यका लागि उत्कृष्ट देशमध्ये एकमा नेपाल छनोट गरेको थियो।

No comments:

Post a Comment

^ Scroll to Top