Sunday, January 30, 2011

जिउँदैलाई सहिद घोषणा

मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने क्रममा भारतमा उपचार गराउन गएका एक व्यक्तिलाई पनि सहिदको सूचीमा राखिएको रहस्य खुलेको छ । गृह मन्त्रालयले सूची सच्चाए पनि मधेसवादी केही दलले भने जिउँदै रहेका जनकपुरका पवनकुमार साहलाई सहिदकै सूचीमा राखेका छन् ।
मधेसवादी दलहरूको सिफारिसमा मधेस आन्दोलका क्रममा मारिएका ५२ जनालाई गृह मन्त्रालयले ०६७ असारमा सहिद घोषणा गरेको थियो  । त्यसमा जनकपुरका पवनकुमारको नामसमेत थियो । सहिद परिवारले पाउने दस लाख रुपैया पवनको परिवारलाई उपलब्ध गराउन शान्ति तथा पुनस्थापर्ना मन्त्रालयले निर्णयसमेत गरेको थियो । तर, दस लाख रुपैयाँ लिन साह परिवार काठमाडौं आएको थियो  । क्षतिपूर्ति लिन पवनसमेत सँगै आएका थिए । पवन जिउँदै भएको थाहा भएपछि भने उनको नाम हटाएर गृह मन्त्रालयले सूची सच्याएको हो । त्यसअघि मधेस आन्दोलनका २६औँ सहिद भनेर गृहको सूचीमा पवनको नाम उल्लेख थियो ।
हाल जनकपुरमा पसल गर्दै आएका पवन मारिएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीले सहिद घोषणा गर्न शान्ति तथा पुनस्र्थापना मन्त्रालयलाई सिफारिस गरेको थियो  । तमलोपाले पवन २१ माघ ०६३ मा जनकपुरमा मारिएको भन्दै सहिद घोषणा गर्न सिफारिस गरेको थियो । तर, उनी भने त्यतिवेला उपचारका लागि भारत गएको स्रोतले बतायो । उपचार गराइ र्फकन ढिलो भएकाले आन्दोलनमा मारिएको भन्दै उनको नाम सहिदका लागि सिफारिस गरिएको हो । तमलोपा सिफारिसका आधारमा मधेस आन्दोलनका क्रममा निधन, घाइते र अपांग भएकाको अनुगमन गर्न बनेको अनुगमन समितिले पवनलाई सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो  । 'तमलोपाले सिफारिस गरेपछि पवन साहलाई सहिद भनी निर्णय गर्न हामीले गृह मन्त्रालयमा सिफारिस गर्‍यौँ । गृहले पनि उनलाई सहिद घोषणा गर्‍यो तर पछि उनी ज्युँदै रहेको थाहा भयो । उनको नाम हटाउन फेरि हामीले सिफारिस गर्‍यौँ,' अनुगमन समितिका सदस्य तथा सद्भावना पार्टी नेता मनीष सुमनले भने, 'साह ज्युदै छन् भनी थाहा पाएपछि क्षतिपूर्ति रकम रोकिएको हो ।'
गृह मन्त्रालयले साहको नाम हटाए पनि सद्भावनासहितका मधेसवादी दलले भने उनको नाम सहिदकै सूचीमा राखेका छन्  । अधिकांश मधेसवादी दलले सहिदको सूची भएको पोस्टरबाट पवनको नाम अझै हटाएका छैनन् । बरु माला लगाएर राखेका छन् । सद्भावना पार्टीको मुखपत्रमा 'मधेस आन्दोलनके वीर सहिदप्रति श्रद्धा सुमन' भनेर पवनप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । बानेश्वरमा रहेको सद्भावनाकै कार्यालयको भित्तामा टाँगिएका सहिदका पोस्टरमा समेत उनको नाम अझै छ ।
तमलोपा उपाध्यक्ष बिर्खेचन्द्र लालले भने ज्युँदै रहेको जानकारी भएपछि सहिदको सूचीबाट पवनको नाम हटाएको बताए  । 'सुरुमा उनी मरिएको भनी रिपोर्ट आएको थियो । त्यसैअनुसार सहिद घोषणा भयो, तर पछि ज्युँदै भएको थाहा भयो,' उनले भने । तत्कालीन मधेसी जनअधिकार फोरमको अगुवाइमा दुईपटक मधेस आन्दोलन भएको थियो  । आन्दोलनमा मारिएका भन्दै फोरमले ४७ जनाको नाम सहिद घोषणा गर्न सिफारिस गरेको थियो । तमलोपा र सद्भावनाले अरू ६ जनाको नाम थप गरेका थिए । उनीहरूको सिफारिसमा गुहमन्त्रालयले ५२ जनालाई सहिद घोषणा गरेको हो ।
मधेस आन्दोलनअघि ११ पुस ०६३ मा नेपालगन्जमा मधेसवादी दलले गरेको आन्दोलनमा मारिएका कमल गिरीलाई पनि गृह मन्त्रालयले सहिद घोषणा गरेको थियो  । सद्भावनाले गिरीको नाम सिफारिस गरेको हो । 'सद्भावना र तमलोपाको सिफारिमा ५२ जनालाई सहिद घोषण गरेको हो,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा अनुगमन समितिका सदस्य उपेन्द्र झाले भने  । तमलोपा नेता जितेन्द्र सोनालले भने मधेस आन्दोलनमा ५४ जना मारिएको र तीन जनालाई सहिद घोषणा गर्न अझै बाँकी रहेको दाबी गरे ।

No comments:

Post a Comment

^ Scroll to Top