Monday, January 3, 2011

'नक्कली ड्राइभर बनाई पारसलाई जोगाइयो'

काठमाडौं, पुस १९ (नागरिक)- गायक प्रवीण गुरुङको मोटरसाइकललाई ठक्कर दिई मारेको अभियोगबाट तत्कालीन शाहज्यादा पारस शाहलाई बचाउन राजदरबार र नेपाल प्रहरीले कस्तो अवैध काम गरेका रहेछन् भन्ने दस वर्षपछि खुलेको छ। राजाका सैनिक सचिव विवेककुमार शाहले हालै प्रकाशित 'मैले देखेको दरबार' शीर्षक संस्मरण पुस्तकमा लेखेअनुसार राजदरबार र प्रहरी मिलेर पारसलाई जोगाउन नक्कली ड्राइभर खडा गरेका थिए। पत्रपत्रिकाले त्यही बेला उजागर गरिदिए पनि दरबार र सरकारका तर्फबाट कसैले पनि यसबारे अहिलेसम्म आधिकारिक रूपमा नक्कली ड्राइभर प्रकरण खोलिदिएका थिएनन्। 'दरबारको दक्षिण ढोकाअगाडि मोटरसाइकल चालक गायक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु भयो,' २०५७ साउन २२ गते आइतबार रातिको घटनाबारे प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले सैनिक सचिव शाहलाई फोनमा भनेका रहेछन्, 'दुर्घटनापश्चात् मोटर नरोकिई तेज गतिमा भागेर केशरमहल, लाजिम्पाटर हुँदै अगाडि गयो। पानीपोखरीमा प्रहरीले रोक्न खोज्दा नरोकिई अझ बढी गतिमा अगाडि बढ्यो र निर्मल निवासमा छिर्‍यो।' पुस्तकका अनुसार खरेलले उक्त ल्यान्डक्रुजर मोटरको नम्बरसमेत दिएको उल्लेख गर्दै 'यो के भएको रहेछ, विस्तृत रूपमा बुझेर खबर गर्छु' भने। सचिव शाहले त्यसपछि राजा वीरेन्द्रलाई जाहेर गरे। राजाले जवाफ दिएछन्, 'माइलाभाइ (अधिराजकुमार ज्ञानेन्द्र) लाई फोन गरेर तुरन्त बुझ।' सचिव शाहले अधिराजकुमार ज्ञानेन्द्रलाई फोन गरे। ज्ञानेन्द्रले 'म बुझेर खबर गर्छु' भन्ने जवाफ दिए, आधा घन्टापछि उनले फोन गरेर शाहलाई भने, 'त्यो मोटर पनि हो, पारसले चलाएको रहेछ। अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल।' शाहले त्यस रातका अधिराजकुमार ज्ञानेन्द्रबारे लेखेका छन्, 'त्यसबेला सरकार एकदमै आत्तिएको अवस्थामा भएको मलाई लाग्यो।' त्यसपछि शाहले 'समस्या समाधानको उपाय निकाल्न' प्रहरी महानिरीक्षक खरेलसँग परामर्श सुरु गरे। घटनाको दुई दिनपछि खरेलले शाहलाई नक्कली ड्राइभर खडा गर्ने उपाय सुझाउ"दै भने, 'उक्त नम्बरको मोटरले दुर्घटना गराएको कुराको जिम्मेवारी लिनैपर्छ तर कुनै ड्राइभरलाई उपस्थित गराएर सजाय ब्यहोर्न लगाउने व्यवस्था गरौं, मृतकको परिवारलाई क्षतिपूर्ति दिनु उचित हुन्छ।' शाहले उक्त सुझाव अधिराजकुमार ज्ञानेन्द्रलाई जानकारी गराए। 'उता ज्ञानेन्द्र सरकारका शाही पार्श्ववती महासेनानी प्रकाशविक्रम शाहले पनि उपत्यकाका प्रहरी प्रमुख डिआइजीसँग कुरा गर्नुभएको रहेछ। उनले पनि 'कुनै काल्पनिक ड्राइभर तयार पार्नु राम्रो हुन्छ, अहिले तत्कालै मृतकका परिवारलाई राहत दिने र भविष्यमा मृतकका छोराछोरी पढाइदिने व्यवस्था गर्दा राम्रो हुन्छ' भन्ने सल्लाह दिएका रहेछन्। होटलबाट मस्त पिएर आफैं गाडी चलाउ"दै निस्केका पारसले गराएको दुर्घटनाबाट गायक गुरुङको मृत्यु भएको समाचारबारे संसद्मा समेत प्रश्न उठेको थियो। कारबाही माग गर्दै एमालेको विद्यार्थी संगठन अखिलले विरोध प्रदर्शनसहित ५ लाख जनाको हस्ताक्षर राजदरबारलाई बुझाएको थियो। त्यसपछि राजा वीरेन्द्रले घटनाको छानबिनका लागि प्रधानमन्त्रीलाई पत्र लेखेको जनाउ दिँदै दरबारले प्रेस विज्ञप्ति जारी गरेको थियो। पारसप्रति लक्षित नकारात्मक समाचार आउने क्रम जारी रहेको उल्लेख गर्दै शाहले पुस्तकमा लेखेका छन्, 'यसबारे श्री ५ को सरकारको कुनै प्रतिक्रिया आएको छैन। एफएम र पत्रपत्रिकाबाट घटनालाई राजनीतिकरण गर्ने काम भइरहेको छ।' शाहले त्यस विषयमा प्रकाशित राप्रपाको वक्तव्यलाई 'संसद्मा केही नबोल्ने तर बाहिर अरूलाई उचाल्ने' जस्तो देखिन्छ भन्ने टिप्पणीसमेत गरेका छन्। राजाले भने उक्त मुद्दामा प्रहरी महानिरीक्षक खरेलको भूमिकाप्रति शाहसँग टिप्पणी गरेछन्, 'दुर्घटना सम्बन्धमा आएका समाचार विश्लेषण गर्दा आइजिपी खरेल दरबार र विरोधी पक्ष दुवैतिर खेलिरहेको प्रतीत हुन्छ, यसबारे सचेत हुन आवश्यक छ।' अन्ततः उक्त विवाद साम्य पार्न खड्गबहादुर भुजेल नाम गरेका ड्राइभर भेट्टाइएको उल्लेख गर्दै डायरी शैलीको उक्त पुस्तकमा लेखिएको छ, 'भुजेललाई प्रहरीसामु आत्मसमर्पण गर्न लगाउने तय भयो। यो घटनालाई जतिसक्दो चाँडो कानुनी रूपबाट टुंग्याउनुपर्ने हुन्छ।' नभन्दै भुजेलले प्रहरीसामु आत्मसमर्पण गरे। उनी तीन सातामात्र थुनिए, गृहमन्त्रालयको आदेशमा रिहा भइहाले।

No comments:

Post a Comment

^ Scroll to Top