Thursday, January 6, 2011

१८ सम्म घुमघाम, १९ मा बिहे, २० गते दम्पतीको आत्महत्या

काठमाडौं, २१ पुस नयाँ वर्षको अवसरमा एक साता चितवन घुमेर आएको एक जोडीले १९ पुसमा 'कोर्ट म्यारिज' गरेको थियो, तर २० गते बेहुला-बेहुली दुवैले आत्महत्या गरेका छन् । ललितपुरको धापाखेलमा बस्दै आएका २८ वषर्ीय करुण ढकाल र उनकी श्रीमती ३० वषर्ीया लिली श्रेष्ठले सोमबार सँगै जिउने सँगै मर्ने शपथसहित जिल्ला प्रशासन कार्यालयमा बिहे गरेका थिए । उनीहरू सँगै धेरै बाँच्न सकेनन्, अर्को दिन सँगै आत्महत्या गरे ।
करुण ढकाल -बाहुन) को परिवारले लिली श्रेष्ठ -नेवार) लाई अस्वीकार गरेको आवेगमा उनीहरूले आत्महत्या गरेको आशंका प्रहरीको छ । त्यसो त लिलीले करुणलाई भाइ मानेर तिहारमा टीकासमेत लगाइदिएको देखेका परिवारले उनीहरूको सम्बन्ध अस्वीकार गरेका थिए ।
करुण र लिलीले सोमबार ललितपुर प्रशासनमा 'कोर्ट म्यारिज' गरेका थिए । तर, उनीहरूको विवाहको सम्बन्ध तोड्न केटाकी आमाले उनीहरूलाई मंगलबार चेतावनी दिएकी थिइन् । धापाखेलमा दुई कोठा भाडामा लिएर बस्दै आएका उनीहरूले छुट्टाछुट्टै कोठामा छुट्टाछुट्टै तरिकाले आत्महत्या गरेका हुन् । ढकालले नाडीमा छुरीले रोपेर र श्रेष्ठले विष सेवन गरेर आत्महत्या गरेका थिए । ललितपुर प्रहरीका अनुसार उनीहरूको मृतशरीर अलग-अलग कोठामा भेटिएको थियो । करुण होटल डेला अन्नपूर्णमा अधिकृत तहमा कार्यरत थिए भने लिली रोजगारमा थिइनन् । लिलीको परिवारले केही दिनअघि मात्र चितवनमै अर्का केटासँग बिहेको निधो गरेको थियो । तर, आफूले अर्कै केटासँग बिहे गर्ने भन्दै उनले परिवारको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् । करुणको पनि परिवारमा बिहेको कुरा चलिरहेको थियो । पहिलेदेखि नै प्रेम गर्दै आएका उनीहरूले बिहेको दबाबपछि 'कोर्ट म्यारिज' गरेका थिए ।
प्रहरीका अनुसार उनीहरू दिदीभाइको रूपमा १० वर्षदेखि सँगै बस्दै आएका थिए । चितवनको भरतपुरमा सँगै घर भएका करुण र लिली पारिवारिक निकटताको कारण सानैदेखि मिल्ने साथी थिए । कतिसम्म भने ढकालको परिवार काठमाडौं आएपछि लिली पनि उनकै परिवारसँग बस्न थालेकी थिइन् । छोरीजस्तै गरेर ढकाल परिवारमा उनी सँगै बस्दै आएकी थिइन् ।
लिलीले करुणलाई तिहारमा टीकासमेत लगाउने गरेको अनुसन्धानमा संलग्न ललितपुर परिसरका प्रहरी निरीक्षक नवीन राईले बताए । तर, पछि उनीहरूबीच प्रेम-सम्बन्ध रहेको खुलेपछि करुणको परिवारमा विवाद भएको थियो । बुबाआमासमक्ष उनीहरूले बिहेको प्रस्तावसमेत राखेका थिए । तर, दिदीभाइका रूपमा सँगै बस्दै आएका व्यक्तिले बिहे गर्दा समाजले नराम्रो दृष्टिले हेर्ने भन्दै ढकालको परिवारले त्यसलाई अस्वीकार गर्दै आएको थियो । परिवारको अनुमति नपाएपछि उनीहरूले सोमबार 'कोर्ट म्यारिज' गरेका हुन् । ढकाल र श्रेष्ठले अन्तर्जातीय विवाह भएको कारण पनि परिवारले नरुचाएको प्रहरी बताउँछ । नयाँ वर्षको अवसरमा उनीहरू करुणले होटलबाट एक साता बिदा लिएर चितवन घुमेपछि आइतबार काठमाडौं फर्किएका थिए । चितवनबाट फर्किएकै भोलिपल्ट उनीहरूले बिहे गरेका हुन् ।
सोमबार बिहे गरेको थाहा पाएपछि करुणकी आमाले बोलाएर विवाह तोड्न दबाब दिएकी थिइन् । परिवारले त्यसरी बिहेलाई अस्वीकार गरेकै कारण उनीहरूले आत्महत्या गरेको ललितपुर परिसरका प्रमुख एसपी विक्रमसिंह थापाले बताए । धापाखेलमा लिली, करुण र करुणका भाइ शक्ति बस्दै आएका थिए । पाटन अस्पतालमा नर्सका रूपमा कार्यरत करुणकी आमा पनि केही समयअघिसम्म सोही कोठामा बस्दै आएकोमा अफिसबाट टाढा भएको भन्दै केही महिनाअघिबाट मात्र लगनखेलमा बस्न थालेकी थिइन् । उनीहरूले आत्महत्या गरेको दिन बेलुका करुणका भाइ शक्ति आमासँग बस्न लगनखेल आएका थिए । करुणका बुबा विराटनगरमा खेती गरेर बस्छन् भने लिलीको परिवार भरतपुरमै छ ।

No comments:

Post a Comment

^ Scroll to Top