Thursday, January 6, 2011

बक्सिङ खेल्दाखेल्दै रिङमा ढलेका बक्सरको मृत्यु

अन्तर नगरपालिका बक्सिङ प्रतियोगिता दौरान मंगलबार गम्भिर घाइते भएका बक्सर राजु बुढामगरको बुधबार राजधानीस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ।
हेटौडामा भएको प्रतियोगिताअन्तर्गत मंगलबार धरानका नवीन लिम्बुसँग ५२ केजीको प्रतिस्पर्धामा भिड्ने क्रममा टाउकोमा मुक्का लागेपछि अचेत भएर उनी रिङमै लडेका थिए।
रुकुमका स्थायी बासिन्दा राजुलाई तत्काल उपचारार्थ हेटौंडाको स्थानीय अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचार हुन नसकेपछि मंगलबारै चितवनको भरतपुर मेडिकल कलेज पुर्‍याइयो। भरतपुरमा पनि उपचार सम्भव नभएपछि चिकित्सकको सल्लाहमा मंगलबार राति नै राजुलाई काठमाडौं ल्याइएको थियो। बिहान ४ बजे न्युरो अस्पताल पुर्‍याइएका उनलाई चिकित्सक उपेन्द्र देवकोटाले दिउँसो सवा २ बजे मृत घोषणा गरेका थिए।
चिकित्सकहरूले राजुको टाउको नसा फुटेर दिमागमा रगत जमेको बताएका थिए। भरतपुर अस्पतालमै भ्यान्टिलेटरमा राखिएका २० वर्षे राजुलाई अन्तिम प्रयासस्वरुप काठमाडौं ल्याइएको थियो। उनको उपचारका लागि भएको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद्ले बेहोर्ने प्रतिबद्धता गरेको छ। राखेपका सदस्यसचिव हरिबाबु चौधरी र सदस्यद्वय समिममियाँ अन्सारी र लालकाजी लामालगायतले बुधबार अस्पतालमै पुगेर सम्पूर्ण उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका थिए। यसबाहेक राखेपले काजक्रियाका लागि तत्काल ५० हजार सहयोग गर्ने र थप सहयोगका लागि सरकारसमक्ष माग गर्ने बताएको छ।
राजुको परिवारका लागि प्रतियोगिता आयोजक कमिटीले १ लाख तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ५० हजार दिने घोषणा गरिसकेका छन्। 'हामीले एउटा प्रतिभावान खेलाडीलाई दुःखद ढंगबाट गुमाएका छौं। खेल्दाखेल्दै गम्भीर घाइते भएर राजुजस्ता खेलाडीको मृत्यु भएकोमा हामी समवेदना प्रकट गर्न चाहन्छौं,' खेलाडी संघका महासचिव दीपक श्रेष्ठले भने।
साथै नेपाल बक्सिङ संघले पनि उनको परिवारको सहयोगलाई आवश्यक कदम चाल्ने संघका महासचिव राजीव श्रेष्ठले बताए। ...राजु नेपाली बक्सिङको एउटा अत्यन्तै आशा गरिएका खेलाडी थिए। उनको मृत्युले नेपाली बक्सिङलाई ठूलो क्षति पुगेको छ। संघ आफ्ना होनहार खेलाडीको यो दुःखद मृत्युमा गहिरो शोक प्रकट गदर्छ र उनको परिवारप्रति समवेदना व्यक्त गर्दछ,' श्रेष्ठले नागरिकसँग भने।
बोसिगाउँमा केही समयअघि सम्पन्न प्रतियोगितामा स्वर्ण जितेका राजु नोभेम्बरमा चीनको ग्वाङ्झाउमा सम्पन्न १६औं एसियाली खेलकुदको छनोटमा पुरन राईसँग पराजित भएका थिए। पुरनले एसियाडमा एक बाउट जितेका थिए। हेटौंडा नगरपालिकाले नेपाल पर्यटन वर्ष २०११ का मनाउन आयोजना गरेको प्रतियोगितालाई नेपाल बक्सिङ संघले मान्यता दिएको थियो।
नेपाली खेलकुदमा यस्तो अप्रिय घटना भएको यो दोस्रो हो। यसअघि असारमा कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा १५ वर्षे किशोर ग्याल्जेन लामाको पनि खेल्दाखेल्दै मृत्यु भएको थियो। च्यासल फुटबल मैदानमा खेल्ने क्रममा लडेका ग्याल्जेनलाई तत्काल बीएन्डबी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

No comments:

Post a Comment

^ Scroll to Top