Wednesday, January 12, 2011

स्कूले विद्यार्थीले मोबाइलमा 'हेर्न नहुने' भिडियो हेर्न थाले

जाजरकोट, पुस २८ (नागरिक)- जाजरकोटका स्कूले विद्यार्थीहरुले मोबाइल बोकेर हेर्न नहुने भिडियो हेर्ने, गीत सुन्ने र मोबाइल किनिनदिए आत्महत्या गर्ने धम्की दिन थालेका छन्।
जाजरकोटका अधिकांश स्कुलेका हात हातमा मोबाइल छ। 'देखासिकीमा गरिब बाबुआमाले समेत छोराछोरीलाई मोबाइल किनिदिएका छन्,' पजारु, घोगीका खडक बिसीले भने, 'उनीहरुको ध्यान पढाइभन्दा मोबाइलका गीत र भिडियोतिरै छ।'
विद्यार्थीले अश्लील भिडियो समेत हेर्न थालेको बिसीले बताए।
वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका शिक्षक भीमराज सिंहले मोबाइलबाट विद्यालयमा पढाइको वातावरण बिग्रिएको बताए।
'हामीले मात्र रोकेर भएन,' सिंहले भने, 'अभिभावकले नै मोबाइल किनिदिएपछि के गर्नु?' त्रिभुवन उच्च मावि खलंगाका शिक्षिका रेखा शाहले ५/६ कक्षाका विद्यार्थीसमेत मोबाइल खेलाउन थालेपछि शैक्षिक वातावरण बिथोलिएको टिप्पणी गरिन्।
'हुने, नहुने सबैका हातमा मोबाइल छ,' उनले भनिन्, 'जता गयो, उतै मोबाइलमा गीत बजिरहेको हुन्छ।'
दीपक थापा त्रिभुवन उच्च मावि खलंगामा ९ कक्षा पढ्छन्। स्कुल आउँदाजाँदा मोबाइलमा गीत सुन्ने भएकाले अरु विद्यार्थी उनको साथ लाग्छन्।
शंकर भवन मावि, बाहुनथानमा कक्षा ८ मा पढ्ने सुरिता शाही पनि मोबाइल च्यापेरै स्कुल पुग्छिन्। फोन गर्नेभन्दा पनि गीत सुन्ने तथा भिडियो हेर्छिन्।
'कक्षामा सरले पढाइरहेका बेला विद्यार्थीको मोबाइलमा घन्टी आउँछ,' त्रिभुवन उच्च माविको कक्षा १२ मा विद्यार्थी एकता शर्माले भने, 'सरले जति हप्काए पनि मान्दैनन्।'
अभिभावकहरु भने छोराछोरीको घुर्कीका कारण मोबाइल किन्न बाध्य भएको बताउँछन्। 'के गर्ने हजुर, मोबाइल किन्दिनँ भन्दा आत्महत्या गर्छु भन्यो,' ढिमे-५ का धनबहादुर बुढाले भने, 'अनि १० पढ्ने छोरोलाई मोबाइल किनिदिएँ।'
नागरिक समाज जाजरकोटका संयोजक केशवजंग शाहले भने १२ कक्षासम्मका विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top