Thursday, January 27, 2011

एकतर्फी प्रेम असफल भएपछि किशोरीको हत्या

माघ १३- एकतर्फी प्रेम अस्वीकार गरेको रिसमा आज बिहान स्थानीय स्कूलमा पढ्ने ११ कक्षाका विद्यार्थी सन्तोष चौधरीले आफूसँगै पढ्ने १७ वर्षकी किशोरी पुनमकुमारी सिंहको छुरा हानी हत्या गरेका छन्। सिरहाको चन्द्रलालपुरस्थित जनता उच्च माविमा साथीसित कलेज जाँदै गरेकी सिंहलाई साइकलमा आएका चौधरीले छुरा हानेका थिए।
'चौधरीले पहिला साइकलले ठक्कर दिएर पुनमलाई लडाइन्,' उनीसँगै कलेज जाँदै गरेकी र घटनापछि भागेर गाउँ पुगेकी सहपाठी कविता सिंहले भनिन्, 'त्यसपछि छुरा निकालेर पहिला घाँटीमा हान्यो, अनि शरीरका विभिन्न अंगमा'।
कविता गाउँ पुगेर घटनाका बारेमा अरुलाई बताएपछि प्रहरीसम्म खबर पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा घाँटीबाट अत्यधिक रक्तस्राव भई उनको मृत्यु भइसकेको थियो।
हत्याको विरोधमा स्थानीय बासिन्दाले किशोरीको शव पूर्व पश्चिम राजमार्गको चोहरवा खण्डमा राखी चक्काजाम गरेका थिए। यस क्रममा प्रहरीले गोली चलाउँदा अरुण महतो घाइते भएका छन्।
फरार चौधरीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्ने र पीडित राहतलाई उपलब्ध गराउने विषयमा स्थानीय बासिन्दा र प्रशासन बीच सहमति भएपछि राजमार्गको चक्काजाम फिर्ता भएको छ।

No comments:

Post a Comment

^ Scroll to Top