Sunday, January 30, 2011

राजधानीमा आगो निभाउन दमकललाई समेत पानी छैन

पर्याप्त पानीको स्रोत नहुँदा पुल्चोकस्थित जुद्धवारुण यन्त्रलाई आगो निभाउन पानीको अभाव हुने गरेको छ। आगो निभाउने पानी लिनका लागि अग्नि नियन्त्रण टोलीलाई बौद्ध महाङ्काल या भैंसेपाटीसम्म पुग्नुपर्ने स्थिति छ।
कतै आगो लागेको खबर पाउनेबित्तिकै आगो नियन्त्रण गर्न हिँड्नुपर्ने आगो नियन्त्रण टोलीलाई सबैभन्दा पहिला पानी लिन कता जानेभन्ने चिन्ताले सताउने गरेको टोलीका सदस्य रोहितबहादुर श्रेष्ठ बताउँछन्।
कार्यालयमा हाल चारवटा दमकल रहेपनि तीनवटाले काम लाग्ने अवस्थामा छैनन्। दुई हजार ४ सय लिटरको एउटा दमकलमा पानी भर्नका लागि महाङ्काल वा भैंसेपाटीसम्म पुग्नैपर्छ।
त्यहाँ पुगेर पानी भरेर आउँदा आगोले कति क्षति पुर्‍याइसकेको हुन्छ, आगो निभाउने क्रममै पानी सकियो भने त झनै बिजोक हुन्छ सदस्य श्रेष्ठ भन्छन्- 'बीचमा नै पानी सकिएर फेरि लिन जानुपर्ने स्थिति आयो भने त झनै समस्या आउने गर्छ।'
आगलागी भएको स्थान वरपर पानीको स्रोत नहुँदा समयमै आगो निभाउन निकै कठिन स्थितीको सिर्जना हुन्छ, ड्युटी कमाण्डर बाबुकृष्ण कार्की भन्छन्।
अन्तर्राष्ट्रिय मान्यता अनुसार आगलागी भएको तीनदेखि पाँच मिनेटभित्र आगो नियन्त्रण टोलीले सेवा पुर्‍याइसक्नुपर्छ। तर यहाँ भने आगलागी भएको स्थानमा पुग्ने त कहाँ हो कहाँ पहिले पानीको जोरजाम गर्नतिर लाग्नुपर्ने स्थिति छ।
यस समस्यालाई आफूले पनि झेलेको कार्यालयका पूर्वकर्मचारी केवलकुमार चापागाई भन्छिन्- वारुण यन्त्र कार्यालय भएपछि पानीको स्रोत पनि सँगै भए समयमा नै आगो लागेको स्थानसम्म पुग्न सकिन्छ।
त्यसो त कार्यालय परिसरमा एउटा इनार छ, इनारको पानी पिउनका लागि प्रयोग गरिन्छ। तर इनारको पानीले पनि पिउन नपुग्ने बाध्यता छ यहाँ। इनारको पानीले हामीलाई खानै नपुग्ने भएकाले आगो निभाउन भनेर दमकलमा ल्याइएको पानी खानुपर्ने अवस्था रहेको कार्यालयका कर्मचारीहरू बताउँछन्।

No comments:

Post a Comment

^ Scroll to Top