Sunday, January 9, 2011

अपांगका देउता

बिहान पाँचै बजे आफ्ना तीन छोराछोरी ओछ्यानबाट ब्यँूझन नपाउँदै ललितपुर बुङमतीका दयाराम महर्जन, ४५, घरबाट निस्कछन्। यी कुनै अड्डाका जागिरे वा कामदार होइनन्। न व्यायाम, फिटनेस वा मर्निङ्वाकमा नै निस्केका हुन्। दायाँबायाँ कतै नहेरी उनी आदर्श शौल उच्चमाविको छेवैमा रहेको अपांगहरूको छात्रबासको ढोका ढक्ढक्याउँछन् र भित्र छिर्छन्।
चिसोबाट बच्न शारीरकि रूपमा अपांग २६ केटाकेटीहरू सिरकभित्र गुजुल्टिएर सुतेका छन्। महर्जन तिनीहरूलाई गुडमर्निङ् भन्दै उठाउँछन्। हिटर बाल्छन्, पानी तताउँछन्। उनले कतिलाई हि्वलचियरमा गुडाउँदै शौचालय पुर्‍याउँछन्। ओछ्यानमै पिसाब गर्नेहरूको कट्टु फेरििदन्छन्। अनि, सबैलाई पालैपालो तातोपानीले मुख धोइदिन्छन् र चिया खुवाउने बन्दोबस्त मिलाउँछन्। ०४६ सालदेखि यिनको यो दैनिकी फेरएिको छैन।
बिहानभर महर्जन होस्टेलका अपांग विद्यार्थीलाई गृहकार्यमा सघाउँछन्। नेत्रहीनहरूको गृहकार्यर् ब्रेललिपिमा अनुवाद गरििदन्छन्, श्रवणहीनहरूलाई सांकेतिक भाषामा गृहकार्य गर्न भन्छन् अनि नजानेकाहरूलाई मायाले गृहकार्य सिकाउँछन्। घडीमा ९ बज्न आँटेपछि यिनी खाना खान घरतिर दौडन्छन् र वेगसरी र्फकेर स्कुलको जागिर भ्याउँछन्।
महर्जनले अपांगहरूलाई पढाउनकै निम्ति ब्रेललिपि र सांकेतिक भाषाको तालिम लिएका छन्। आफैँले होस्टेलको देखभाल गरेका छन्। जहाँ विभिन्न खालका अपांग केटाकेटीहरू बस्छन्। महर्जन आफँैले पढाउने स्कुलमा तिनीहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएका छन्। आफ्नो घरभन्दा धेरै समय अपांग केटाकेटीको संरक्षणमा खर्चेर उनलेे कमाएको सबैभन्दा ठूलो कुरा सन्तुष्टि हो। महर्जनकै भाषामा यो सन्तुष्टिको व्याख्या सम्भव छैन। कान नसुन्नेहरू, दृष्टि गुमाएकाहरू, कम्मरमुनिको भागै नचलेर घिसर्ंदै हिँड्नेहरू, होस गुमाएकाहरू सबैखालका केटाकेटीको अनुहारमा खुसी पोत्न महर्जन हरहमेसा लागिपरेका छन्। जसका निम्ति लाग्ने खर्चको जोहो गर्न पनि उनले धेरैकहाँ हात पसारेका छन्। भन्छन्, "कति दानवीरहरूले होस्टलमै आएर सहयोग गर्छन्। कतिले कोठाभाडा तिरििदएका छन्। कतिले खानेकुराको प्रबन्ध गरििदएका छन्। सानाजस्ता लाग्ने सहयोगले पनि उनले संरक्षण दिएका अपांगहरूको रेखदेखमा ठूलो सहयोग पुगेको छ।"
आमा गुमाएका नानीहरू, बाबु गुमाएका बाबुहरू, गरबिीले थिलिएका दम्पतीका स्याहार नपुगेका अपांग केटाकेटीहरू, अभिभावकको पहिचान नै नखुलेकाहरू सबै खालका केटाकेटी अहिले होस्टेलमा छन्। महर्जनले तिनीहरूलाई गाँस, बास र कपासको मात्रै व्यवस्था गरििदएका छैनन्, उनीहरूको पढाइको व्यवस्था पनि गरििदएका छन्। उनको होस्टलमा दलित र ब्राह्मणका केटाकेटी छन्, सुदूरपूर्वका पनि छन्, सुदूरपश्चिमका पनि छन् अनि मध्यपहाड र मध्यतराईका पनि छन्। आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, "जो जहाँका भए पनि उनीहरूको समस्या उस्तै छ। अझै गरबिको घरमा जन्मिएका अपांगहरूको समस्या झनै चर्को छ।"
महर्जनको २१ वर्षे सेवा यात्रा सजिलो बाटोबाट हिँडेर यहाँसम्म आइपुगेको होइन। नेत्रहीन जीवन डंगोललाई घरमै राखेर उनले पढाउने संकल्प गरेपछि उनले अपांगताको समस्या भोगेकाहरूका अप्ठ्यारहरू बुझ्दै गए। जीवनलाई उनले घरैमा राखेर एक वर्षसम्म पढाए र पछि एकैचोटि ४ कक्षामा भर्ना गरििदए। उनलाई थाहा थिएन, ब्रेललिपिमा कसरी पढाइन्छ भन्ने। जीवनलाई पढाउनकै निम्ति उनले ब्रेललिपिको तालिम लिए। आफ्नो जागिरे जीवन र समाजसेवाको यात्रालाई सँगै बढाउनु कम चुनौतीपूर्ण थिएन महर्जनका निम्ति। समाजसेवाको सुरुका दिनमा यी महर्जनलाई कसैले दया देखाएनन्। पछि उनले तीन जना बहिरालाई पनि आफैँसँग राखे। तर, बहिराहरूलाई कसरी पढाउने भन्ने फसादले उनलाई पिरल्यो। लगत्तै महर्जन काठमाडौँ हान्निए र सांकेतिक भाषाको तालिम सिके। चार जना केटाकेटीलाई हुर्काउने र पढाउने कामबाट महर्जनले धेरै कुरा सिके। अपांगहरूका अप्ठ्याराहरू बुझे र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने पनि सिके।
महर्जनले ०५३ सालमा ललितपुरका छ दुर्गम गाविस घुमेर २ सय ७६ अपांगहरूको तथ्यांक संकलन गरे। त्यसपछि उनलाई लाग्यो, अब अपांगहरूको सेवालाई संस्थागत आकार दिनुपर्छ। ०५४ सालमा उनले आफ्नै बलबुतामा अपांग सेवा समाज नामक संस्था गठन गरे। घरघरमा पुगेर पुराना कपडा संकलन गरे। कतिले कार्यालयमै आएर सहयोग गरे। यस्तै सहयोगबाट हौसिएका महर्जनले आफँैले पढाउने विद्यालयसँग मिलेर अहिले छात्राबास र अपांग विद्यार्थीहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएका छन्। महर्जनले कति केटाकेटीलाई सडकबाटै उठाएर ल्याएका छन्। तिनीहरूको मैलो र च्यातिएको कपडा फेरििदएका छन्। दुनियाँलाई हेर्ने तिनीहरूको चेतना बदलिदिएका छन् र तिनीहरूको अनुहारमा हाँसो भरििदएका छन्।
महर्जनका लागि कहिल्यै शनिबार आउँदैन। आफ्ना साथीभाइले जस्तो यिनी जाडो र गर्मी बिदामा आफ्नी श्रीमती र छोराछोरीसँग घुम्न निस्िकँदैनन्। दसँै र तिहारका बेला रमाइलो गर्नतिर लाग्दैनन्। बरु यिनै केटाकेटीको स्याहारमा लागिपर्छन्। शनिबार आउँछ, जान्छ। चाडपर्व आउँछन्, जान्छन्। अप्ठ्याराहरूले उनलाई कहिल्यै दया गर्दैनन्। जब पसलमा उधारोको खाता बढ्न थाल्छ, जब कुनै केटाकेटी बिरामी हुन्छन् वा कोही परीक्षामा फेल हुन्छन्, त्यतिखेर यिनी अलिक बढी चिन्तित हुन्छन्। यस्तै बेला हो, महर्जनका आँखाका डिलहरू चिसिने। दुःखका कैयन् दिन सम्भिएर महर्जन भक्कानिए। उनको आँखाबाट दुई थोपा आँसु गुडुल्किएर नाकको डाँडी हुँदै चिउडोबाट तप्प चुहिए।

No comments:

Post a Comment

^ Scroll to Top