Monday, January 10, 2011

परिवार नियोजनका कर्मचारीः जन्माए २३ छोराछोरी

जाजरकोट, २५ पुस
दुई सन्तान ईश्वरका बरदान भनेर गाउँलेलाई शिक्षा दिने जाजरकोटका एक स्वास्थ्यकर्मी आफैंले २३ सन्तान जन्माएका छन् । दुई श्रीमतीले धेरै छोरा पाउने प्रतिस्पर्धा गर्दा उनका यति धेरै सन्तान भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका ग्रामीण स्वास्थ्य कार्यकर्ता मानबहादुर बुढाथोकीका १२ छोरा र ७ छोरी जीवित छन् । चारजनाको बाल्यकालमै निमोनियाले मृत्यु भएको छ । अझ तीन बच्चा त तुहिएका थिए । उनको पहिलो सन्तान ०३२ सालमा र कान्छो सन्तान ०५९ सालमा जन्मिएका हुन् ।
०४६ सालदेखि स्वास्थ्य सेवाको जागिर सुरु गरेका बुढाथोकी अहिले थालारैकर उपस्वास्थ्यचौकीमा छन् । १९ जीवित छोराछोरीका बाबु बुढाथोकी अरूलाई भन्छन्, 'दुई सन्तान ईश्वरका बरदान ।'
सुर्खेत जिल्लाको दुरपाला स्थायी ठेगाना भएका बुढाथोकीका दुई श्रीमती छन् । जेठी श्रीमती पानसरीबाट पाँच छोरा र चार छोरी तथा कान्छी श्रीमती बालदरीबाट सात छोरा र तीन छोरी छन् । ५९ वषर्ीय उनी अहिले १८ नाति-नातिनाका बाजेसमेत बनेका छन् ।
आफू घरको एक्लो सन्तान भएको र सुरुमा दुई सन्तान खेर गएकोले सन्तानप्रतिको मोह बढेको बताउँछन् उनी । 'फेरि ज्योतिषीले सन्तान रोक्नु पाप हुनेछ भनेका थिए, त्यसैले म रोकथामतिर लागिनँ,' उनी भन्छन् ।
स्वास्थ्यकर्मी भएर पनि धेरै सन्तान जन्माउनुमा बुढाथोकीका श्रीमती दोषी भएको बताउँछन् छिमेकी । 'दुई सौतामा छोरा जन्माउने प्रतिस्पर्धा हँुदा बूढाले चाहेर पनि रोक्न सकेनन्, सन्तान बढी जन्माउनु उनको रहर नभई बाध्यता हो,' एक छिमेकी भन्छन् ।
जागिरको सिलसिलामा जाजरकोट आएपछि यति धेरै बालबच्चा जन्मिएकाले अब गाउँ फर्किन पनि लाज लागेको बताउँछन् बुढाथोकी । 'एक त स्वास्थ्यकर्मी, त्यसमाथि परिवार नियोजनको कर्मचारी । गाउँ नै ढाक्ने सन्तान लिएर के घर र्फकनु ?' उनी भन्छन् ।
अब जेनतेन जाजरकोटमै व्यवस्था मिलाएर बस्ने टुंगोमा पुगेका छन् उनी । 'कोही छोराले सम्झे जालान् बाबुको जन्म ठाउँ,' उनको आशा छ । समयमा बुद्धि नपुर्‍याएकोमा उनी आफैंलाई पछुतो छ । आफ्नै सन्तानले पनि किन समयमा परिवार नियोजन नगरेको भनी सोध्न थालेका छन् । 'जसले जे भने पनि सहनुपर्दोरहेछ, आफैंले जन्माएका छोराछोरीले समेत गाली गर्छन्, तिम्रा कारणले हामीलाई गरिखान गाह्रो भयो भनेर,' उनी पीडा पनि पोख्छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झलक शर्मा गौतमले परिवार नियोजनसम्बन्धी चेतना फैलाउन बुढाथोकी उत्कृष्ट उदाहरण भएको बताउँछन् । 'आफूलाई चेत खुलेकोले अरूलाई सही सल्लाह दिन उनलाई सजिलो भएको छ, उनले भनेको कुरा गाउँलेले पनि पत्याउँछन्,' डा. गौतमले भने ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top