Tuesday, October 11, 2011

जुवाखालबाट पक्राउ लगत्तै छुटिन् करिश्मा

दसैँको फुलपातीका दिन जुवा खालबाट अभिनेत्री करिश्मा मानन्धर पक्राउ परेकी थिइन् । पक्राउपछि रोइकराइ गरेकी उनलाई प्रहरीकै दबाबमा छाडिएको छ ।

फुलपातीको दिन १६ असोजमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जस्थित एक घरमा जुवा खेलिरहेकी करिश्मासहित अन्यलाई थुन्न काठमाडौं परिसर हनुमानढोका लैजान लाग्दा उनी छुटेकी हुन् । काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले छाड्न आदेश दिएपछि उनीसहित सबै जुवाडे तत्कालै छुटेको स्रोतले बतायो ।

स्रोतका अनुसार विभिन्न उच्च व्यक्तिबाट तीव्र दबाब आएको भन्दै एसपी श्रेष्ठले उनीहरूलाई पक्राउ परेलगत्तै छाड्ने आदेश दिएका हुन् । परिसरका डिएसपी आभूषण तिमल्सिनाको टोलीले जुवाखाल सञ्चालक रामबहादुरसहित अभिनेत्री करिश्मालाई पक्राउ गरेको हो ।

सादा पोसाकमा गएको प्रहरी टोलीले अभिनेत्री करिश्मासहितको साथबाट मोटो रकम र तास बरामद गरेको थियो । जुवाखालमा अभिनेत्री करिश्मा भएकोबारे सबैलाई नियन्त्रणमा लिएपछि मात्र प्रहरीले थाहा पाएको थियो । प्रहरीले बरामद रकम गन्नसमेत उनैलाई लगाएका थिए । तर, यसबारे प्रहरी स्रोतले जानकारी दिन चाहेन ।

'दिदीको भाउजु पर्नेकोमा दसैँको गिफ्ट लिएर गएको थिएँ, जुवा खेलिरहेको आशंकामा प्रहरी घरभित्र आएका थिए,' करिश्माले भनिन्, 'म माथिल्लो तलामा थिएँ, तल के गरेका थिए, थाहा भएन । प्रहरी आएर मलाई पनि सोधपुछ गरेको थियो, तर म कहिल्यै तास खेल्दिन, म पक्राउ परेको पनि होइन ।'

सबैलाई गाडीमा राखेर हिँड्नै लाग्दा छाड्ने आदेश आएपछि सादा पोसाकका प्रहरी रित्तै फर्केका थिए । स्रोतका अनुसार पक्राउ पर्नेमा धनाढ्य व्यक्तिहरू थिए ।

काठमाडौं परिसरका प्रमुख एसपी श्रेष्ठले घटनाबारे आफूलाई सम्झना नभएको दाबी गरे । महानगरीय प्रहरी आयुक्त कुबेरसिंह रानाले पनि घटनाबारे आफूलाई जाहेरी नगरिएको बताए । स्रोतका अनुसार पक्राउ परेको स्थानबाट अभिनेत्री करिश्मासहितका जुवाडेलाई पक्राउ गरी छाडिएकाले आयुक्त रानालाई पनि त्यसबारेमा जाहेरी गरिएको थिएन । मातहतका कार्यालयका प्रहरी प्रमुखले कुनै पनि घटनाबारे तत्कालै आयुक्तलाई जानकारी दिनुपर्ने हुन्छ ।

दसैँको समयमा क्यासिनोमा जस्तै व्यावसायिक रूपमा जुवा खेलाउने अखडाहरूको पहिचान गरी प्रहरीले छापा मारेको थियो । त्यसरी व्यावसायिक रूपमा जुवा खेल्ने र खेलाउने गरी दसैँ सुरु भएयता सोमबारसम्म ४० भन्दा बढी व्यक्ति पक्राउ परेको काठमाडौं परिसरका डिएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

एभरेस्टबाट दुई पक्राउ


जुवा खेलिरहेको अवस्थामा आइतबार प्रहरीले एभरेस्ट क्यासिनो नयाँबानेश्वरबाट दुई नेपालीलाई पक्राउ गरेको छ । कोटेश्वरका रविन श्रेष्ठ र जावलाखेलका बाबुराम तामाङलाई एक लाख चार हजार नगदसहित पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले एक सय रुपैैयाँ दरका तीन थान क्वाइन पनि बरामद गरेको छ ।

प्रहरीले ललितपुरको सैँबु, भैंसेपाटीबाट पनि १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर परिसर र र बुङमती प्रभागको प्रहरी टोलीले विश्वगोपाल कार्कीको घरमा व्यावसायिक रूपमा नै जुवा खेलाउने र खेल्नेहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक लाख ४३ हजार आठ सय रुपैयाँ पनि बरामद गरेको छ ।

नयाँ पत्रिका

No comments:

Post a Comment

^ Scroll to Top