Thursday, January 20, 2011

मुटु बलियो पार्न कुकुर पाल्नू

अचेल डाक्टरहरूले हृदय प्रणाली सशक्त बनाउन एउटा उपाय सुझाउन थालेका छन्- कुकुर, बिरालो पाल्नू। घरपालुवा जनावर विशेषगरी कुकुर हेरचाह गर्दा र डुलाउँदा मालिकको शरीरलाई पनि फाइदा हुन्छ, कुकुरलाई त हुने नै भयो! बिहान वा साँझको स्वच्छ हावा, सामाजिक वातावरण र कुकुर दौडाउँदा हुने व्यायामले स्वास्थ्य राम्रो बन्छ। काठमाडौंस्थित नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ भारत रावत भन्छन्, 'अध्ययनहरूले पनि कुकुर हिँडाउँदाको मनोवैज्ञानिक कारणले हृदय प्रणालीले तुरून्तै प्रतिक्रिया देखाउने पुष्टि गरेको छ जसले मुटुरोगीलाई सुरक्षित पार्छ।' नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी कुकुर, खरायो र बिरालोजस्ता घरपालुवा जनावरसँग खेल्दा शारीरिक व्यायाम र डिप्रेसन कम हुने बताउँछन्।
'बृद्ध अवस्था वा अवकासप्राप्त जीवनमा घरमा एक्लै बस्दा डिप्रेसनको सम्भावना हुन्छ,' उनी भन्छन्,' रेग्मी भन्छन्, 'घरपालुवा जनावर साथी बनाउँदा तनाव घटाउँछ।' उनी घरपालुवा जनावरको हेरचाह र सरसफाइले व्यायाम गराउनुसाथै मानसिक रूपमा व्यस्त पनि राख्ने बताउँछन्।
रावतका अनुसार तनाव नै हो जसले सम्पूर्ण स्वास्थ्य बिगार्न सुरु गर्छ। 'तनाव कम गर्न कुकर पाल्ने र कुकुरसँग खेल्नेका अतिरिक्त ध्यान र पूजा गर्ने, संगीत सुन्ने गर्न सकिन्छ,' उनले भने, 'तनावले नै जीवनशैली अस्वस्थकर हुन्छ, जीवनशैली बिग्रेपछि सबै बिग्रन्छ।'
डाक्टरहरू उच्च रक्तचाप कम गर्न औषधि प्रयोगभन्दा मनोरञ्जन, ध्यान र तनाव व्यवस्थापन गर्न सुझाव दिन्छन्। पछिल्ला दिनमा हृदयाघात, उच्च रक्तचाप, बे्रन स्ट्रोक, मधुमेह, मिर्गौलाजस्ता नसर्ने रोग बढ्दै जानुमा जीवनशैली प्रमुख कारण भएको डाक्टरहरू बताउँछन्।
विभिन्न अध्ययनले घरपालुवा जनावर विशेष गरी कुकुरले मनोसामाजिक स्थीरताका लागि सहयोगीको भूमिका खेल्ने पुष्टि गरेका छन्। अमेरिकामा भएको एक अध्ययनअनुसार घरपालुवा जनावर पाल्ने मानिसमा भन्दा नपाल्नेमा हृदयाघातको दर बढी भएको पाइएको छ।
रावतले भने, 'घरपालुवा पाल्नेमा हृदयाघात र उच्च रक्तचापको सम्भावना कम हुन्छ।' तर, उनले कुकुर पाल्दा रौंबाट हुने एलर्जी, परजिवीको संक्रमण, टोकाइ र खेल्दा हुने चोटपटकबाट बच्न सावधानी अपनाउन सुझाव दिए।
कुकुरसगै बालबालिकासँग खेल्दा र परिवारिक तथा सामाजिक जमघटले पनि स्वस्थ रहन मद्दत गर्छ। 'दिनमा ८/१० चोटि मज्जाले हाँस्ने, केही राम्रो कामको सोख राख्ने, धुम्रपानको नजिकै नपर्ने, रातो मासु नखाने, फलफूल बढी खाने, मैदाबाट बनेका परिकार नखाने, सेतो ब्रेड नखाने र दैनिक ४० मिनेटजति पसिना आउने गरी व्यायाम गर्दा मुटुरोगको खतरा निकै घटाउन सकिन्छ,' रेग्मी भन्छन्।
रावतका अनुभवमा समाजमा पाहुना आउँदा झन् अस्वस्थकर खाना खुवाउने र बढी खान प्रोत्साहन गर्ने चलन छ। 'आफन्तलाई बचाउन कि मार्न चाहन्छौ भन्ने प्रश्न उठ्छ,' उनले भने। प्राणायाम र योगलाई रोगबाट बच्ने सहायक उपाय बनाए पनि उचारको विकल्पै नबनाउन उनले सुझाव दिए।
नेपालमा सहरी क्षेत्रमा हरेक सयमा ८-१० र ग्रामीण क्षेत्रमा ४-५ जना मुटुरोगी छन्। उपचार र परीक्षण सेवा महँगो भएको र एकपटक उपचारपछि पनि जीवनभर परीक्षण, औषधि सेवन र सावधानी अपनाउनुपर्ने भएकाले सावधानी नै उत्तम विकल्प भएको रावत बताउँछन्। मधुमेह, धुम्रपान, उच्च रक्तचाप, रगतमा बोसोको मात्रा बढी र वंशाणुगत कारणले पनि मुटुरोग हुन्छ। डाक्टरहरूका अनुसार जीवनशैली बदल्न सकेमात्रै मुटुरोगको खतरा ८० प्रतिशत कम गर्न सकिन्छ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top