Thursday, January 13, 2011

भिसा बिना कसरी पुगे नेपाली नेदरल्यान्डस् ?

काठमाडौं, पुस २९- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पाँच वटा सुरक्षा घेराहरुलाई तोड्दै बिना भिसा २९ वर्षीय प्रकाश गुरुङले नेदरल्यान्डसको आम्सटर्डम पुगेर त्यहाँ पाँच महिना हिरासतमा बसेर स्वदेश फर्किएको दावी गरेका छन्। अध्यागमन विभागका महानिर्देशक नारायण सञ्जेल यसलाई असंभव भन्छन् तर गुरुङ आफ्नो फिंगरप्रिन्ट, शरणार्थीको लागि दिएको आवेदन र बयान नेदरल्यान्डसमा रहेकोले दूतावासमार्फत् मगाएर अनुसन्धान गर्न चुनौति दिन्छन्।
भिसा र कागज पत्रविनै प्रकाश त्रिभुवन विमानस्थलबाट आर्केफ्लाइको विमान हुंदै आम्सटर्डम पुगेको घटना जति अपत्यारिलो छ, त्यतिकै रोमाञ्चक पनि। उनले आम्सटर्डमको हिरासतमा भोगेका पीडा उत्तिकै दुखदायी छन्। शरणार्थी बनेर युरोपमा बस्न पाइने लोभमा नेदरल्यान्डसको आम्सटर्डम पुगेका थिए उनी। तर काठमाडौं फर्केपछि उनको दैनिकी युरोप पठाउन सक्रिय समूहलाई बुझाएको साढे ६ लाख रुपैयाँ उठाउन प्रहरी कार्यालय धाउनु बनेको छ।
मंसिरमा आइपुगेका उनले आफ्नो रकम फिर्ता नपाएपछि पुस ११ गते काठमाडौं प्रहरीमा युरेसिया म्यान पावरका अग्नि पौडेल विरुद्ध उजुरी दिएका थिए। उनको उजुरीबाट जोगिन पौडेलले पुनरावेदन अदालत पाटनबाट तत्काल पक्राउ नगर्न निशेधाज्ञा जारी गराएका छन्। प्रकाश सुन्धाराको गेष्ट हाउसमा बसेर रकम उठाउन प्रहरी कार्यालय धाइरहेका छन् ।
पौडेलविरुद्ध गुरुङले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसरले अनुसन्धान सुरु गरेको छ। उजुरीको प्रकृतिका आधारमा मानव बेचबिखन विरुद्धको कानुन आकर्षित हुने परिसर मुद्धा शाखा प्रमुख लालमणि आचार्यले बताए।
पोखरा निवासी गुरुङका आफन्तले नेदरल्याण्ड्समै बस्ने आफन्तले युरोप पुग्ने यो उपाय बताएपछि उनी बैशाखमा काठमाडौंको बागबजारस्थित युरेसिया म्यानपावर पुगे।
म्यानपावरका पौडेलको नाम र सम्पर्क विवरण उनले नेदरल्याण्ड्सबाटै पाएका थिए। प्रारम्भमा सहजै भिसा पाइने आश्वासन दिए पनि उनको यात्रा विना भिसा सुरु भयो। 'सुरुमा कानुनी रुपमै पठाउने भन्ठानेको थिए,' उनले नागरिकसँग भने, 'पौडेलले सबै कागजपत्र मिलाउँछु भनेकाले पत्यार पनि लाग्यो।'
गुरुङका अनुसार पौडेलले सेवा शुल्क भन्दै साढे ६ लाख रकम लिएर बैशाख १३ गते बेलुका राहदानीसहित विमानस्थल आउन अह्राए। उनी सामान प्याक गरेर बेलुका सात बजेतिर विमानस्थल पुगे।
प्रकाशजस्तै वीरबहादुर गुरुङ, अमिर गुरुङ, रेशम गुरुङ र युवराज गुरुङसमेत विमानस्थल पुगेका थिए।
प्रकाशका अनुसार विमानस्थल पुगेसम्म उनीहरूको राहदानीमा भिसा लागिसकेको थिएन। 'भिसा खोइ?' भनेर सोध्दा पौडेलले 'भिसाको किन चिन्ता? जान पाए भएन?' भन्दै उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल छिराए।
पौडेलले पाँचैजनालाई किङफिसर एयरलाइन्सको बोर्डिङ्ग र टिकट दिएर विमानस्थल सुरक्षाकर्मीलाई दिल्ली जान लागेको भन्न सिकाएका थिए। सोही अनुसार उनीहरूको ब्यागमा किङफिसर एयरको ट्याग लगाइएको थियो।
पौडेलकै निर्देशनमा उनीहरूले विमानस्थल सुरक्षाकर्मी, अध्यागमनका कर्मचारीलाई दिल्ली जान लागेको बताउँदै प्रहरी, अध्यागमन सुरक्षाकर्मीलाई पार गर्दै यात्रु प्रतिक्षा कक्षमा पाँचै जना पुगे।
'डर लागिरहेको थियो, तर के गर्ने पैसा फसिसकेकाले उनले जे भन भने त्यही भन्यौं,' उनले भने 'उनी अगाडि अगाडि गएर कुरा मिलाउँथे, प्रहरी र अध्यागनका कर्मचारीले यसो हेरे जस्तो गरेर छाडिदिन्थे।'
उनका अनुसार, अन्तर्राष्ट्रिय उडानको यात्रु प्रतिक्षालय पुगेपछि पौडेलले राहदानी सौचालयमा लगेर च्यातेर फ्याक्न लगाएका थिए। त्यसबीचमा उनीहरूको ब्यागमा रहेको किङफिसर एयरको ट्याग समेत निकालिएको थियो।
विमान उडानका लागि तयार भएको जानकारी आएपछि अरु यात्रुहरु टिकट बोकेर विमानतिर लम्किदासम्म उनीहरूको हातमा टिकट आएको थिएन। 'अब फसियो जस्तो लागेको थियो, तर पौडेल केही समयमै हातमा पाँचवटा टिकट लिएर आए,' प्रकाशले भने। पाँचवटै टिकट डच नागरिकको नामका थिए। उनको टिकटमा पारसोल विस्लरको नाम लेखिएको थियो र सिट नम्बर थियो २६ जी।
गेटमा एक सुरक्षाकर्मी टिकट जाँच गर्दै बसेका भए पनि पौडेलले पाँचै जनाको टिकट एकैचोटी देखाएर विमानस्थलभित्र छिराएको उनले बताए। बाहिर पुगेलगत्तै हतार-हतार बसमा चढे, अनि सहजै आर्के विमानमा उनीहरू पुगे।
आर्के विमान बहराइनमा रोकिएको थियो। विमान आम्सर्टडम पुग्दा बिहानको ६ बजेको थियो। आम्सटर्डम विमानस्थलको अध्यागमनमा पुगेपछि पाँचै जनाले नेपालमा आफूहरू असुरक्षित रहेकाले भागेर आएको दावी गर्दै शरणार्थीका रुपमा बस्न दिन माग गरे।
प्रकाशका अनुसार अध्यागमन कर्मचारीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछपछि विमानस्थलभित्रै रहेको शरणार्थीसम्बन्धी अनुसन्धान गर्ने सरकारी केन्द्रमा पठाए। पौडेलले भिसा बेगरै नेपालबाट पठाएका थप २ जना नेपाली पनि त्यहाँ भेटिएका थिए।
डच अधिकारीहरूले उनीहरुलाई नेपालबाट भाग्नु परेको कारणबारे तीन दिनसम्म निरन्तर सोधपुछ गरे। प्रत्येक पटक अनुसन्धान अधिकृत परिर्वतन हुन्थे। तर प्रश्न एकै सोध्थे। 'लामो समय पटक-पटक एउटै प्रश्न सोध्दा पहिला के भनिएको थियो भन्ने नै बिर्सिएर हैरान भइयो,' उनले भने 'सबैको थर गुरुङ थियो, उत्तर पनि गोलमाल भएकाले म र वीरबहादुरलाई उनीहरूले विश्वास गरेनन्।'
अन्य तीनजनालाई डच अधिकारीले विश्वास गरी थप छानवीन गर्न शरणार्थीसम्बन्धी 'ओपन क्याम्प'मा पठायो भने उनी र वीरबहादुरलाई 'क्लोज क्याम्प'मा। पाँच महिना क्लोज क्याम्पमा राखेपछि दुबैलाई डच अध्यागमन अधिकारीले आर्के विमानबाटै नेपाल फर्काइदिएका थिए।
नेपाल फिर्ता भए लगत्तै यस्तो प्रक्रियाबाट फर्केकालाई अध्यागमनले नियन्त्रणमा लिएर सोधपुछ गर्ने प्रावधान छ। तर उनले अध्यागमन पुग्नुपरेन। उनी भन्छन् 'हामी ओर्लिएर विमानस्थल आएपछि केही समय एउटा कोठामा राखे। पौडेलले हामीलाई सहजै विमानस्थलबाट बाहिर ल्याएर होटल पठाए।'
पौडेलले प्रकाशको आरोप झूठो रहेको दावी गरे। उनले नागरिकसँग भने 'मैले प्रकाश गुरुङ भन्ने ब्यक्तिलाई चिनेकै छैन।' उनले आफूविरुद्ध प्रहरीसमेतको मिलेमतोका षड्यन्त्र भएकाले सुरक्षाका लागि अदालत गएको दावी गरे। उनले युरेसिया नामको म्यानपावर आफ्नो नभएको र ग्रिनच्यानल नामको ट्राभल एजेन्सी चलाएर बस्ने गरेको बताए।
पौडेलले उजुरीसम्बन्धमा बुधबार काठमाडौं परिसर गएर डिएसपी लालमणि आचार्य र प्रहरी निरीक्षक कृष्ण पंगेनीलाई भेटेको दावीसमेत गरे। दुबै प्रहरी अधिकृतले भने उनी बुधबार प्रहरी कार्यालयमै नआएको दावी गरे। डिएसपी आचार्यले भने 'छलफलका लागि आउनोस् भनेर धेरै पटक बोलाउँदा पनि उनी आएका छैनन्।'
घटना अपत्यारिलो प्रकाशको घटना विवरण सुनेलगत्तै अध्यागमन विभागका महानिर्देशक नारायण सञ्जेलले पत्याएनन्। उनले भने 'घटना सुन्दा पत्याउने आधार देखिएन।'
उनका अनुसार विमानस्थलभित्र प्रवेश गरी विमानसम्म पुग्न करिब पाँचवटा सुरक्षा घेरा पार गर्नुपर्छ। भिसा, टिकट र बोर्डिङ पास विना विमानसम्म पुग्न असम्भव रहेको उनले दावी गरे।
त्रिभुवन विमानस्थलका सबै सुरक्षा घेरा छलेर गए पनि नेपाललाई कुनै जानकारी नदिई आम्सटर्डमबाट डिर्पोट हुन नसक्ने उनले बताए। सञ्जेलका अनुसार, गैर कानुनी रुपमा विदेश पुगेका नेपालीबारे सम्बन्धित देशले नेपालको अध्यागमनसँग विवरण मागेर मात्र पूर्व जानकारी पत्र सहित फिर्ता पठाउँछ। उनले भने 'यो घटनाबारे अध्यागमनलाई कुनै जानकारी आएको छैन। जुन सम्भवै छैन।' उनले घटना रोचक भएकाले बिहीबार थप जानकारी लिने बताए
प्रकाशले भने आफू जसरी नै विदेशिएका पाँच नेपाली अहिले आम्सटर्डममा रहेकाले अध्यागमनले चाहेमा अनुसन्धान अगाडि बढाउन सक्ने बताए। उनले भने 'कुनै प्रमाण नलिई म विदेश गए पनि उता मेरा सबै कागजपत्र छन्,' उनले भने, 'मेरो फिंगरप्रिन्ट, शरणार्थीको लागि दिएको आवेदन र बयान त्यहाँ छ। अध्यागमनले चाहेमा दुतावास मार्फत् मागेर अनुसन्धान गर्न सक्छ।'

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top