Thursday, January 27, 2011

थप्पड हान्नेको हाइहाइ

एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हानेर पक्राउ परेका सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले आफ्नो रिहाइपछि गाउँवासीबाट भव्य स्वागत पाएका छन् । भरौलवासीले मंगलबार उनलाई फूलमाला लगाएर अबिरजात्रा गरी 'विजयोत्सव' मनाए । भरौल-१ स्थित कालाबञ्जर बजारमा रहेको निवासमा उनलाई स्वागत गर्न बिहानैदेखि भीड लागेको थियो । रिहा भएपछि सोमबार साँझबाटै उनलाई आफन्त, शुभचिन्तक तथा गाउँलेले अबिर र फूलमालाले स्वागत गर्ने क्रम सुरु भएको थियो । मंगलबार भने औपचारिक नै राखेर उनलाई स्वागत गरिएको हो । कार्यक्रममा सहभागीले परिवारका साथ उनलाई पालैपालो फूलमाला र अबिर लगाइदिएका थिए । बिहान साढे नौ बजेदेखि थालिएको अबिरजात्रा र फूलमाला लगाउने क्रम साँझ पाँच बजेसम्म चलेको थियो । २८ हजार 'पुरस्कार’ रेग्मीलाई हेर्न सुनसरीका विभिन्न गाविसबाट शुभचिन्तकहरू घरमै आएका थिए । उनलाई सुनसरीका मधुवन केदार विष्टले २८ हजार रुपैयाँ दिए पनि लिन अस्वीकार गरे । रकम लिन अस्वीकार गरेपछि विष्टले उनकी आमा तिलकुमारी रेग्मीलाई सो रकम दिएका थिए । 'रेग्मीलाई २८ हजार धरौटी तोक्ला भन्ने लागेर हाम्रो परिवारले यो रकम छुट्याएको थियो,' विष्टले भने, 'छुट्याइसकेको रकम भएकाले मैले उहाँलाई लिन आग्रह गरेँ । तर उहाँले मान्नुभएन । आमाले भने लिनुभयो ।' अरू कुनै स्वार्थले सो रकम नदिएको विष्टको भनाइ छ । अरू वेला खेतीको काम गरिरहने रेग्मी एमालेका अध्यक्ष खनाललाई झापड हानी रिहा भएपछि एकाएक व्यस्त बनेका छन् । मंगलबार उनी दिनभर घरमा आएका आफन्त, शुभचिन्तकको स्वागत ग्रहण गर्दै र नमस्कार फर्काउनमा व्यस्त थिए । रेग्मीलाई स्वागत गरिरहँदा घरपरिवारमा खुसियाली छाएको थियो । कहिल्यै नदेखेका मान्छेहरू ताँतीका ताँती आएपछि ७६ वर्षीया आमा तिलकुमारी अचम्मित बनेकी थिइन् । 'हामी गरिबका घरमा पनि यतिका मान्छे आए । सही काम गर्नेलाई जनताले साथ दिने रहेछन्,' उनले भनिन्, 'नेताहरूले पनि सही काम गरेको भए मेरो छोराले जस्तै स्वागत पाउँथे ।' रेग्मीले आफूले व्यक्तिगत स्वार्थका लागि नेता खनाललाई झापड नहानेको फेरि दोहोर्‍याए । नेताहरूले यस घटनाबाट पाठ सिक्नुपर्ने समेत उनको भनाइ छ । रेग्मीले भने, 'फेरि अरू नेतालाई झापड हान्नु नपरोस् ।' उनले मंगलबार घरमा आएजति सबैलाई आफूले कसैसँग माफी नमागेको पनि दोहोर्‍याइरहेका थिए । सोमबार माफी मागेको भनी आफ्नो नाममा आएको विज्ञप्तिबारे आफूलाई केही थाहा नभएको उनको दाबी छ । यसैबीच, रेग्मी हिरासतबाट छुटे पनि एमाले जिल्ला कमिटीले घटना सम्बन्धमा छानबिन भने जारी राखेको छ । घटनाको वास्तविक कारण पत्ता नलागिसकेकाले छानबिन जारी राख्ने छानबिन समितिका सदस्य केशव विष्टले बताए । घटना भएको दिन एमालेले जिल्ला उपसचिव मोतीराज सुनवारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साताको म्याद बुधबार सकिने भएकाले एक साता थप गर्न समितिले माग गरेको छ । समितिले एमाले अध्यक्ष खनालसित टेलिफोन सम्पर्क गर्दा खनालले एक साधारण किसान आवेशमा आएर झापड हानेको कुरालाई धेरै नउचाल्न भनेको विष्टले बताए । समितिले रेग्मी र उनका परिवार, आफन्तजन, स्थानीय बासिन्दा, प्रहरीलगायतसित प्रारम्भिक चरणको छलफल गरिसकेको छ । रेग्मीसँग पनि एक-दुई दिनभित्रै विस्तृत बयान लिइने विष्टले बताए ।
'थप हौसला मिलेको छ’ मलाई थप हौसला, आँट र भरोसा अनि जाँगर आएको छ । झापड हान्नुअघि गाउँमा मलाई गरिने व्यवहार र रिहा भएपछिको व्यवहारमा आकाश-जमिनको फरक पाएँ । त्यो स्वाभाविक पनि हो । सही कुरालाई आत्मासात गरेर हिँड्यौँ भने जोकोहीलाई पनि जनताले साथ दिने रहेछन् । प्रहरी हिरासतमा बस्दा मलाई कुनै पछुतो भएन । मैले कुनै जघन्य अपराध गरेको थिइनँ । जब सार्वजनिक अपराध मुद्दा ममाथि दर्ता गरियो, अनि लाग्यो यो देशको कानुन गरिब-दुःखीका लागि नभई अरूकै लागि मात्र बनेको रहेछ । त्यसवेला मैले सिडियो कुट्ने मन्त्री करिमा वेगम र सिडियो दुर्गाप्रसाद भण्डारीलाई सम्झेँ । एलडिओलाई शौचालयमा थुन्ने मातृका यादवलाई सम्झिएँ । तर, म विचलित भइनँ । शुभचिन्तक र गाउँलेले गरेको स्वागतले देशभरि राम्रो सन्देश दिएको भन्ने लागेको छ । घटनापछि आमा, श्रीमति र आफन्तको सहानुभूति पहिलेको भन्दा बढेको छ । आमा र श्रीमतीले चाँहि मेरो सुरक्षाबारे पनि चिन्ता गरिरहेका छन् । मलाई एक्लै घरबाहिर जान पनि दिएका छैनन् । पहिलेको भन्दा अहिले परिवारका सदस्यले बढी केयर गर्न थालेका छन् । मेरो कामप्रति सबैजना उत्साहित हुनुहुन्छ । पहिले सामान्य तरिकाले कुराकानी गर्न आउने छिमेकी र गाउँलेहरू हातमा माला र रातो अबिर लिएर आए । म ज्यादै उत्साहित भएको छु । अबिरमाला लगाउने मेरो इच्छा थिएन । तर, छिमेकी र गाउँवासीको भावनालाई पनि मान्न पर्दो रहेछ ।

No comments:

Post a Comment

^ Scroll to Top