Friday, August 26, 2011

म आफ्नै तरिकाले बाँच्ने मान्छे ! झमक घिमिरे


मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ

झमक घिमिरे

यो संयोग हो मेरो जन्म आकाश रुने समयमा भएको रहेछ । मान्छेले पसिना बगाउनुपर्ने समयमा भएको रहेछ अनि मानो खाएर मुरी उब्जाउने समयमा भएको रहेछ । मैले आमालाई यही समयमा दुःख दिएँछु । घरमा काम गर्ने बुहारी यो मौसममा सुत्केरी बनेर बस्दा पुराना सासूहरूले के राम्रो मान्थे र ? त्यसमाथि मेरी हजुरआमा ठकुर्नी परिन् । उनले त्यो दिन पनि दिनभरि अफिसमा काम गरेर साँझ घर फर्किएको छोरालाई दैलाबाट भित्र छिर्न नपाउँदै भनेको थिइन् रे, 'कति न राम्रो कुरो पाई भनेर फुर्केलास्, मुर्कुट्टी पाएर बसेकी छे ।' मेरी हजुरआमा त त्यो समयको प्रतिनिधि पात्र मात्र हुन् । समग्र नेपाली समाजका महिलाको स्थिति कस्तो रहेछ भनेर अनुमान गर्ने जिम्मा मैले तपाईंमै छोडेँ । अँ, म त्यो वर्षा ऋतुको रमझमका कुरा गर्दै छु । हो, मैले धर्तीमा खसेर पहिलोपटक आँखा खोलेकी रहिछु । यो ऋतु मलाई साँच्चै मनपर्छ, जताततै हरियाली, त्यसमाथि आकाश रोएर भर्खर घाम देखिएको त्यो रमाइलो क्षण आफैंमा कति रमाइलो हुन्छ ।

जीवनको प्रारम्भ नै वर्षात्को समयमा भएकाले पनि होला त्यो आकाशले जस्तै मैले पनि जीवनका धेरै मोडहरूमा रोइरहनुपर्‍यो । तर, त्यो आकाश रुँदा त्यसका थोपा-थोपा आँसुले धर्ती हिलाम्य बनेर छपक्कै भिज्थ्यो, बोटबिरुवाका जरासम्म पुगेर चिसोपन दिन्थ्यो र मौलाएर आउँथे बोटबिरुवा, धरती हराभरा बनेर आउँथ्यो । ठीक त्यसको विपरीत मेरो मन साह्रो दुखेपछि म रुन्थेँ र आँखाबाट आँसुको रूपमा दर्द, पीडा बाहिर निस्केर जान्थ्यो । त्यसपछि मन हलुका हुन्थ्यो । साँच्चै म पीडा भोग्नकै लागि त्यससँग संघर्ष गर्नकै लागि जन्मेकी रहेछु क्यारे । मेरो जिन्दगीले पीडाबाहेक केही भोग्न पाएन, आँसुको दलदलको अनुभूति गर्नबाहेक केही पाएन । त्यसैले त मलाई पीडा पनि अति मनपर्छ । सायद मैले जिन्दगीमा धेरैपटक रुनु परेकाले होला मलाई आँसु पनि मनपर्छ । कसैले नदेखुन्, आँसुको आहालमा डुब्दाको क्षण रमाइलो लाग्छ । विज्ञानले पनि भन्छ, 'मान्छेलाई रुन पनि आवश्यक हुन्छ ।'


मैले हत्तपत्त रुन कहिल्यै जानिनँ, बालकमा मलाई सन्तोकी छे भन्थे । मान्छेहरू कति मज्जाले खेलिरहिछ भन्थे । जब मलाई असह्य पीडा हुन्थ्यो तब चिच्याएर रुन्थेँ । हो, रोएपछि मनलाई आनन्द हुन्थ्यो, शीतलताको आभास हुन्थ्यो । नरुनु रोएपछि बेस्सरी रुनुपर्छ, आँसुसँगै सारा पीडा बगोस् । त्यसपछि मन फूलजस्तै उन्मुक्त बनेर हाँसोस् । ओठमा बिलाएको हाँसो पुनः फर्किएर आओस्, नओभाएका आँखाहरू आँसुको दहमा चुर्लुम्म डुबेपछि ओभाओस् । म जिन्दगीमा धेरै रोए पनि हाँसेपछि मज्जाले दिल खोलेर हाँसेँ, रोमान्स पनि त्यससँग भोगेँ । आँसुसँगै मनका कुविचार, कुभावनाहरू जम्मै बगेर गए । अप्ठ्यारो समय चारैतिर पर्खालैपर्खाल उभिएको वेला म त्यसको विरुद्धमा उभिएकी मलाई आफन्तले, कोहीले साथ नदिए पनि आफ्नो आत्माले दियो, विचार र विवेकले दियो । विश्वासले दियो, त्यही बन्द समय, स्वतन्त्रता-समानताको हक खोसिएको समय मान्छेको बोल्न-लेख्न पाउने हकधरी खोसिएको समयमा त्यो समयका आततायी ऐँजेरुले मलाई चालै नपाई जेलेर सिध्याउन खोजेका रहेछन् । योजना के बनाइएको रहेछ भने मैले ०५७ सालमै राजा वीरेन्द्र जीवितै हुँदा पाएको 'प्रबल गोरखा दक्षिण बाहु चौथो' नामक पदक मलाई अझै दिइएको थिएन, मैले त्यसको खोजी खबर केही गरेकी थिइनँ, मलाई वास्ता पनि थिएन । किनभने मैले कहिल्यै पुरस्कार, सम्मान, पदकको आशा पनि गरिनँ, म आफ्ना लागि दिनभरि खट्थेँ । त्यसबाट थोरै पैसा कमाउँथेँ र बचाउँथेँ, त्यसैमा म खुसी थिएँ, सन्तुष्ट थिएँ, कसैले मलाई योग्य ठानेर पुरस्कार, मान, सम्मान, पदक दिँदा मैले भो ! मलाई योचाहिँ चाहिँदैन कहिल्यै भनिनँ, म त्यति असभ्य मान्छे कहिल्यै बनिनँ । म सबै खालका मान्छेसँग मजाक गर्थें, हाँस्थेँ, गफ गर्थें, भरपूर रमाइलो गर्थें, तर म आफ्नो विचारमा अडिग, निष्ठामा अडिग । मलाई जति जनाले भेटे कसैले नराम्रो लाग्यो भन्ने प्रतिक्रिया दिएनन् ।

राजा वीरेन्द्र जीवित हुँदै मलाई 'गोरखा दक्षिण बाहु चौथा' नामक पदक दिइँदा एक शब्द सोधिएन । त्यसवेला सायद कसैलाई पनि सोध्ने चलन थिएन । त्यो वेला दरबारवरिपरिका मान्छेले मात्र पहिलो, दोस्रो, तेस्रो श्रेणीको पदक पाउँथे । हामी नागरिकलाई त चौथो, पाँचाँ श्रेणीको दिइएर चित्त बुझाइन्थ्यो । मेरो उमेर भर्खर उन्नाइस वर्ष लागेको थियो । किशोर मन आफूले गरेको काम राम्रो भएबापत पदक दिइँदा खुसी लाग्नु स्वाभाविकै थियो । सबै साथीले त्यो पाउने घोषणा हुँदा बधाई र शुभकामना पनि दिए । किनभने यो पाउनुमा मेरो कुनै आग्रह थिएन, न त दरबारका मान्छेलाई खुसी पार्ने कामै गरेकी थिएँ मैले । कसरी दिइयो आफैंलाई अचम्म लाग्यो । पदक दिइने वेलामा बोलाइयो । म आफ्नो व्यक्तिगत कारणले त्यो समारोहमा उपस्थित भएर सो लिन सकिनँ, त्यो त्यहीँ रह्यो । न त तत्कालीन सरकारका मान्छेले खोजेर दिने काम गरे, न त मैले खोज्ने काम गरेँ । मेरो कसैले खोजेर दिन्छ ठीक छ, लिइदिन्छु दिँदैन भने वास्ता, खोजी, निन्दा गर्ने बानी छैन । जब वीरेन्द्रको वंशविनाश भयो मान्छेहरूले मलाई त्यो पदकको सन्दर्भमा नानाथरी प्रश्न गर्न थाले । केही पत्रकारलाई समाचार पनि बने । जे-जस्तो भए पनि समय बित्दै गयो । हप्ता, महिना, वर्ष ती पटक्कै खोजिएन । जब निरंकुशताले देशलाई दरोसँग अठ्यायो, तब मैले यसको विरुद्ध विचार दिन थालेँ अनि खोजी गरियो । सायद निरंकुशताका मान्छेहरूलाई लागेको थियो होला यसलाई सम्मानको भोक छ । हामीले सम्मान गरेर दिने भनेपछि यो पक्कै आउली, तर स्वतन्त्र र प्रजातन्त्रका पक्षधर मान्छेलाई त्यो अप्ठ्यारो समयमा सम्मान हुने कुरा मन्जुर थिएन । मलाई पनि मन्जुर भएन ।

त्यस्तो अप्ठ्यारो समयमा मैले अझै पाउन नसकेको पदक खोजेर ल्याएर संविधान दिवसको दिन त्यो समयका विरुद्ध उभिएकाहरूको दलबलसाथ मलाई भिराएर कलंकित पार्ने योजना रहेछ । कालो दिवस कालो समय त्यो पनि कालो सभामा गएर त्यो 'प्रबल गोरखा दक्षिण बाहु' नामको पदक भिरेर औंसाहरूलाई खुसी बनाएर आफ्नै टाउकोमा कलंकको छिर्का छर्ने काम गर्ने कुरै थिएन । यसो गर्न आत्माले मानेन । विचार, विवेक, विश्वासले केहीले पनि पटक्कै मानेन, म स्वतन्त्रताको पक्षमा उभिएकी व्यक्ति त्यो दिन तिनीहरूलाई समर्थन गर्दै आफ्नो आत्मविश्वास र स्वाभिमान कुल्चिँदै गला थाप्न जान अँ हँ सकिनँ र गइनँ । यता बाबाआमाको दिमागमा भुइँचालो गएको थियो, डरले सात्तोपुत्लो उडेको थियो । यो असतीले हाम्रो उठिबास लाउने भई भनेर पुर्पुरोमा हात राखेका थिए । त्यस दिन भक्कु गाली खाएकी थिएँ मैले, बूढाबूढीले सबै तीतो ओकले । त्यस दिन म भात खानु नपर्ने गरी टन्न अघाएँ । मेरो मन-मुटु चसक्क घोच्दाघोच्दै त्यो छियाछिया भएर भक्कानिएर आँखाबाट अविरल बगिरह्यो आँसुको भल अविरल, अविरल ।

त्यस दिन मलाई बाबाआमादेखि साह्रै रिस उठ्यो, उनीहरूसँग चरचरी बाझ्न मन लाग्यो, चिच्याउन मन लाग्यो किनभने मैले धेरै सहिसकेकी थिएँ । अब सीमा नाघेको थियो, ममा अब सहने शक्ति थिएन । के गर्नु आवाज थिएन । उफ्, कति अभिशप्त जिन्दगी ? जिन्दगी त्यतिवेलाचाहिँ साह्रो दुख्यो । अतिचारै गरे गर्न पनि बूढाबूढीले गाली । त्यो दिन रुँदै कान थुनेर बसेकी थिएँ । आस्था र विचार बचाउनका लागि पनि मैले आँसु नै बगाउनुपरेको थियो । उमेर पुगेका छोराछोरीलाई कस्तो संवेदनहीन भएर वचन गरे भने त्यसको चोट यहाँ शब्दले उतार्न सक्दिनँ म । यो असतीलाई जन्माएको यही दिन देख्न रहेछ । के गर्नु यो यहाँ बस्छे भने एक डल्लो भात दिने, यसलाई वास्तै नगर्ने, यसलाई जहाँ जाओस् जे गरोस् केही वास्तै नगर्ने भने आफ्नै जन्मदिने साख्यै आमाबाबाले । उनीहरूलाई त म बसेको पनि धेरै भएको रहेछ । नाथे एक डल्लो भात दिन कत्रो कष्ट भएको रहेछ त जस्तो लाग्यो, झनै परेलाका डिलबाट आँसुको भल बग्न रोकिएन, किन यिनीहरूको एक डल्लो भात दिँदा यस्तो चित्त दुख्यो ? त्यस दिन मलाई जिन्दगी साह्रै बोझ लाग्यो ।

बाबाआमाका रगत, पसिनाले बनेको घरमा पनि बस्न पटक्कै मन लागेन । सायद मेरो आफ्नै रगत, पसिनाले बनेको घर हुँदो हो त यस्तो अपशब्द, अपमान त गर्ने हिम्मत गर्दैनथे होला । म आफ्ना लागि आफैं बाँच्न खोज्ने व्यक्ति मलाई कसैले स्वाभिमानमाथि यस्तो निकृष्टसँग प्रहार गरेको कहिल्यै मन पर्दैैनथ्यो । यिनीहरूको रगत, पसिनामा मात्र म बाँचेकी त थिइनँ । मैले पनि श्रम गरेर अलिकति पैसा कमाएकी थिएँ । मैले जति आफ्नो कमाइ घरमा दिए पनि व्यवहारमा जति भरथेग गरे पनि कहिल्यै छोरीले दिई र भरथेग भो भनिँदैन । आखिर मैले दिनु पनि सन्तानले दिनु हो, भाइले दिनु पनि सन्तानले दिनु हो भन्ने कहिल्यै सोचिएन । किनभने भाइले कमाउन सकेर दिए बाबाआमा छाती फुलाएर भन्छन् होला, 'छोराको कमाइ खान पाइयो ।' मैले कमाएर दिँदा कहिल्यै छोरीको कमाइ खान पाइयो भन्दैनन् । त्यो कुरालाई जति सक्दो छोपछाप पार्न खोजिन्छ । किनभने बाबाआमालाई छोरीको कमाइ खाएँ, लाएँ भन्न सरम लाग्छ । त्यसको लाज र क्षोभले शिर निहुरिन्छ । किनभने श्रम र कमाइमा पनि लिंग हेरिन्छ । कुनै घरमा पनि छोराले कमाएर केही ल्याउनु पनि स्वाभाविक ठानिन्छ, छोरीले त्यही कमाएर ल्याउनु सामान्य ठानिँदैन, उसको लिंग हेरेर यसरी भनिन्छ, 'के ल्याएकी छोरी मान्छेले नानी ?'

मेरी बहिनी मीनाको आइएको भर्खर रिजल्ट भएको थियो । ऊ परीक्षामा सफल भएकी थिई । उसको त्यो सफलतामा खुसीको सीमै थिएन । हुन पनि हो, मान्छे वर्षौंसम्म गरेको मिहिनेत खेर नजाँदा साह्रै खुसी हुन्छ । मीना पनि आफूले परीक्षामा पाएको सफलताबाट यति खुसी थिई । हर्षले उसका चम्किला आँखाहरू चमक्क चम्किएका थिए, उसको गालामा एक खालको चमक नाचिरहेको थियो । उसका पातला ओठमा मन्द मुस्कान छाइरहेको थियो । मानौँ उसको अंगअंगमा खुसी ओखाइपोखाइ भएर छरपस्ट भएको थियो । ऊ साँच्चै मज्जाले रमाएकी थिई । ऊ खुसी हुँदै आफू पास भएको खबर बाबाआमालाई सुनाई । बाबाले अलिकति खुसी हुँदै भने, 'गरिछस् जिन्दगी सुधार ।' आमा भने रिसाएर तीन दिनसम्म उससँग बोलिनन् । त्यही ठाउँमा भाइले सफलता पाएको भए खुसीले भुइँमा खुट्टा हुने थिएनन् । आफ्नो सफलतामा आमा रिसाएपछि ऊ अँध्यारो मुख लाएर मनजिकै छेउमा आएर भनी, 'किन मेरो खुसीमा ती मनहरू रमाएनन् ?' मैले उसको आँखाका भाव र अनुहारको भाव पढेँ, जसमा अधिक खुसीका लहरहरू जम्मै ओइलाएर झरिसकेका थिए । ऊ आफैंमा निराश थिई, हतास थिई, तर पनि ऊ भन्दै थिई, 'कोही खुसी भए पनि नभए पनि मैले आफ्नै लागि पढेकी हुँ ।' मैले उसलाई भन्न त केही भनिनँ । मनमनै भनेँ स्याबास् तैंले आफूलाई त चिनिछस्, ती मनहरू खुसी नभए पनि म त खुसी छु । हो, हाम्रा लागि आकाश समान छैन, धर्ती समान छैन, हामी जसको कोखबाट बाहिर निस्किन्छौँ, त्यो कोखले हामीलाई तँ स्त्री जाति भनेर घृणा गर्छ । हामी जहाँ जन्मिन्छौँ, हुर्किन्छौँ, बढ्छौँ, त्यही आँगन, त्यही धर्तीको एक अंश हाम्रो हुँदैन । हामी जुन कुल-वंशका हौँ, त्यो कुलवंशका हुँदैनौँ । मान्छे भए पनि मान्छे होइनौँ, म त्यही समानान्तर आकाश र समानान्तर धर्ती चाहने व्यक्ति, समानान्तर दृष्टिकोण खोज्ने व्यक्ति त्यो मैले कहिल्यै पाइनँ ।

मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ । तर, सम्झौता कसैसँग गरिनँ । मैले जिन्दगीमा धेरै चिज गुमाएँ । ती गुमाएका चिजहरू सायद मेरा लागि बनेकै थिएनन् । त्यसमा कोमलपन र नरमपन पनि गुमाएँ म आफैंमा चट्टान बनेँ । मान्छेले पलपल पीडा भोगेपछि त्यो पीडा पनि मीठो लाग्दोरहेछ । मलाई पनि दुख्नु मीठो लाग्छ, किनभने म एकैचोटि शीतलताको अनुभूति गर्न सक्दिनँ । कुनै वेला केही कुराले जिन्दगीलाई घोच्नुपर्छ, त्यसले दुखेर मान्छेलाई आराम भएपछि मात्र उसले शीतलताको अनुभूति गर्न सक्छ । कष्टपछि मात्र मान्छेले आनन्दको अनुभूति गर्न सक्छ ।

मान्छे स्वयंमा पीडा हो किनभने मान्छेले आफ्नो कारणले पीडा भोग्छ, पीडा ओढ्छ, पीडा ओछ्याउँछ, पीडा सुत्छ, पीडा उठ्छ, निदाउँछ र मर्छ पनि, नपत्याए हेर्नुहोस् गोबरेकीरो ! जो बाँच्न गोबरमा पल्टिन्छ, लडिबडी गर्छ, कहिले गोबर माथि ऊ मुनि, कहिले गोबर मुनि ऊ माथि हुन्छ । उसको जिन्दगी त्यही गोबरसँग खेल्दाखेल्दै चिलिम भए तापनि त्यहाँ अनन्तकालदेखि सृष्टिले भोगेको पीडा उसले पनि भोगेको छ । त्यो बाँच्नुको, जिउनुको पीडा हो । किनभने मर्नभन्दा बाँच्न र जिउन साह्रै कष्ट छ । मर्नु पनि एउटा सुन्दर कला रे । अनि मृत्यु महाआनन्द रे, संसारका केही मान्छे यसो भन्छन् । तर म ठीक उल्टो भन्छु- 'जिउनु एउटा सुन्दर कला हो, अनि मृत्यु ? जिन्दगीको एउटा शाश्वत सत्य । जुन मृत्यु भागेर होइन, लड्दालड्दै वरण गरियोस् ।' त्यो हो महाआनन्द या परमानन्द चाहे जे भनेर बुझौँ । मैले जति धेरै आँसु बगाए, पीडा भोगे पनि मलाई बाँच्नु सुन्दर लाग्यो । त्यही आस्था बचाउनका लागि मैले आँसु धेरै चुहाउनुपर्‍यो तर पनि विभेदका पर्खालहरू उभिरहे । आँसुले त के गल्थे र ? विचारको घनले दरोसँग हानेपछि मात्र बल्ल भत्किन थाल्थे, मैले त्यही गरेँ । आँखाबाट पीडाका नदीहरू बगिरहे बाँच्ने आस्थामाथि जल मज्जाले पुग्यो । यसो भनौँ जिउने आस्था आँँसुसँगै बर्सियो । बर्सिएर आफैंलाई निथु्रक्क भिजाएर पनि मेरो बाँच्ने आस्था कहिल्यै ढलेन र गलेन ।

(घिमिरेको आत्मकथात्मक कृति 'जीवन काँडा कि फूल' को 'आस्था आँसुसँग बर्सियो' शीर्षकको निबन्ध ।


मैले पुरस्कारको आशा राखेकी थिइनँ

झमक घिमिरे
०६७ सालको मदन पुरस्कार विजेता साहित्यकार

युवा उमेरमै मदन पुरस्कार पाउनुभएको छ । कस्तो अनुभूति गर्नुभएको छ ?

युवाहरूको तर्फबाट यो खुसीको कुरो हो । मैले भन्नुपर्दा यो दबिएको आवाजको स्ाारपूर्ण मूल्यांकन हो ।

पुस्तक लेखिरहँदा यसले मदन पुरस्कार जित्ला भन्ने सोच्नुभएको थियो ?

पुस्तक लेखिरहँदा त्यस्तो लागेको थिएन । लेखिसकेपछि पनि आशा त्यति थिएन । तर, योग्य छ जस्तोचाहिँ लागेको थियो ।

मदन पुरस्कार झमक घिमिरेले पाएको हो कि 'जीवन काँडा कि फूल’ पुस्तकले ?

'जीवन काँडा कि फूल'ले ।

पुरस्कार तपाईंको कृतिका लागि होइन, तपाईंकै लागि दिइएको हो भनेर आलोचना गर्नेहरू पनि छन् नि ?

यो मदन पुरस्कार गुठीलाई सोध्नुहोस् ।

तपाईं साहित्यकार पारिजातलाई आफ्नो आदर्श मान्नुहुन्छ । पारिजातले पनि मदन पुरस्कार पाउनुभएको थियो । पारिजातलाई किन आदर्श मान्नुभएको ?

आदर्श होइन, उहाँलाई श्रद्धाचाहिँ गर्छु ।

पुरस्कारले तपाईंको आगामी लेखनमा के प्रभाव पार्ला ?

जिम्मेवारीबोध भएको छ ।

धनकुटा बस्दा काठमाडौंले मोफसलको बेवास्ता गर्छ भन्नुहुन्थ्यो । अहिले त काठमाडौंमै बसिरहनुभएको छ । के फरक रहेछ त ?

मोफसल र काठमाडौं जोड्न खोजेँ मैले । खास अहिले पनि म मोफसल (धनकुटा) मै बस्छु ।

पारिजातपछि कुनै महिला लेखकले मदन पुरस्कार पाएका थिएनन् । के यसअघिका महिलाले मदन पुरस्कारयोग्य कृति लेखेका थिएनन् ?

यो कुरो म जान्दिनँ ।

सरकारले तपाईंलाई राष्ट्रिय विभूति घोषणा गर्ने चर्चा पनि छ । कस्तो लागिरहेको छ ?

यो विषयमा मलाई त केही थाहा छैन !

***

आफ्नै नजरमा झमक ?

संघर्ष र धैर्यताको निरन्तरता ।

तपाईंका खुसी ?

कसैले उन्मुक्त बनेर हाँसेका वेला ।

कतिवेला दुःखी हुनुहुन्छ ?

कसैले कमजोर भन्दा ।

झमकको कमजोरी ?

कसैलाई बढी विश्वास गर्ने ।

झमकका बलिया पक्ष ?

कला र विचार ।

पछुतो लाग्ने कुनै गल्ती ?

छैन, त्यस्तो ।

कतिवेला रुनुहुन्छ ?

एक्लो जिन्दगी दुःखेको वेला ।

कतिवेला भावुक हुनुहुन्छ ?

लेख्दै जाँदा कहिलेकाहीँ भावुक बनिन्छ ।

कतिवेला संयमित हुनुहुन्छ ?

दुःखको वेला ।

तपाईंका आदर्श व्यक्तित्व ?

समयले जन्माएका सबै पात्रहरू ।

तपाईंले सबैभन्दा घृणा गर्ने व्यक्ति ?

त्यस्तो मान्छे, जसले स्वाभिमान झुकाउँछ ।

मनपर्ने पुस्तक ?

जीवनको मूल्य बोकेका सबै ।



प्रस्तुति: राजेश राई
Nayapatrika
अरु यता >>

Wednesday, August 24, 2011

नेपालका डक्टरहरुलाई के भ'को यस्तो ?


ए बाबा ! नेपालका डक्टरलाई के भ'को यस्तो ? गल्ती माथि गल्ती । एउटा गल्तीको घाउ आलै छ, अर्को घाउ तयार भईसकेको छ । गल्ती हुन्छन्, तर मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएको ठाउँमा पटक पटक गल्ती ? यो त अति भएन र ? अस्ति भर्खरको समाचार चितवनमा घाँटीको अपरेसन हुनुपर्ने डक्टरले पाठेघर झिकेर फ्याकिदिएछन् । धन्न कसो कसो ज्यान बँचेको थियो त्यो बेला बिरामीको । तर अहिले त दमका बिरामीलाई टिबीको औषधी बोकाएर पठाएछन् । बिरामीको ज्यानै गयो ।

दमकी बिरामी भरतपुर-४ कमलनगरकी ५७ वर्षीय पूर्णकली ढकाललाई चितवन मेडिकल कलेजका चिकित्सकले क्षयरोगको औषधि सेवन गराउँदा गएराति मृत्यु भएको हो । गत १ भदौमा दमको उपचारका लागि भर्ना गरिएकी ढकाललाई ४ भदौमा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुँदा चिकत्सकले क्षरोगको औषधि लेखिदिएको र सो किनेर खुवाउँदा स्वास्थ्यमा थप खराबी देखिएपछि सोमबार पुनः अस्पताल ल्याइएकामा गएराति सघन कक्षमा उपचारका क्रममा ज्यान गएको आफन्तले जनाएका छन् । पीडितका आफन्तले अस्पतालका उपचार गराइरहेको क्षय रोगका बिरामी रिङकल घिमिरेको औषधि ढकाललाई दिएको दाबी गरेका छन् ।

डिस्चार्ज हुँदा चिकित्सकले लेखिदिएको औषधि सोमबार सकिएपछि किन्नका लागि मेडिकलमा जाँदा औषधि पसलेले तपाइँको मान्छेलाई टिबी भएको हो र भनेर सोधेको थियो।

'त्यसपछि त हामी झसङ्ग भयौं। डाक्टरलाई सम्पर्क गरेको तत्काल अस्पताल ल्याउनु भन्नुभयो। दिउँसो अस्पताल ल्यायौं, राति साढे नौ बजे उहाँको निधन भयो' पूर्णकलीका आफन्त बालकृष्ण कँडेलले जानकारी दिए।

पूर्णकलीको निधनपछि आफन्तहरुले अस्पताल घेराउ गरेका थिए। अस्पताल प्रशासन र मृतकका आफन्तबीच चार बूँदे सहमति भएपछि पुर्णकलीको लाश अस्पतालबाट आफन्तले बुझेको बालकृष्णले जानकारी दिए।

वार्तामा समेत सहभागी बालकृष्णका अनुसार अस्पताल प्रशासनले गल्ती स्वीकार गर्दै क्षमा माग्न तयार भएको छ। त्यस्तै गल्ती गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता पनि अस्पतालले प्रकट गरेको छ। मृतकको नाममा अस्प्तालले अक्षय कोष खडा गर्ने सहमति पछि मात्रै लाश बुझेको कँडेलले बताए।

'दमको रोगीलाई टिबीको औषधि परेको हो' अस्पतालका चिकित्सक डा.सिपी सेढाईले भने। औषधि फरक परेको कारण नै मृत्यु नै भएको हो या अन्य कारणले हो भन्ने निर्क्यौल भने भइनसकेको चिकित्सकहरु बताउँछन्। बिरामीको मृत्यु घाँटीमा केही सर्किएका कारण भएको चिकित्सकले बताए।

paniphoto.com
अरु यता >>

Tuesday, August 23, 2011

अमेरिकामा बुबु देखाउने दिवस


दिवस पनि थरीथरीका ! अमेरिकामा हिजो मात्र बुबु (स्तन) देखाउने दिवस मनाइएको छ । झण्डै ९० वर्षअघि महिलाले भोट हाल्ने अधिकार पाएको दिनको सम्झनामा अमेरिकामा हरेक वर्ष अगष्ट २१ मा राष्ट्रिय स्तन देखाउने दिवस (नेशनल टपलेस डे) मनाउने गरिएको छ ।
अचम्म लाग्न सक्छ, भोट हाल्न पाएको दिनको सम्झनामा किन स्तन देखाएर दिवस मनाउनु ? झनै सभ्य भएर थप अधिकारकोे माग गर्नुपर्ने हो । तर दिवस मनाउने हरुले अनौठो तर्क पेश गरेका छन् । उनीहरु भन्छन् जसरी मताधिकारको मामिलामा पुरुष र महिलाबीच समानता छ त्यसैगरी सरिरका अंग देखाउन पाउने सबालमा पनि महिलालाई पछि पारिनु भएन । अर्थात् पुरुषले जस्तै खुलेआम छाति खोलेर स्तन देखाएर महिला हिड्न पाउनुपर्यो ।

अमेरिकाका विभिन्न सहरमा स्तन देखाउने दिवस अगष्टको अन्तिम हप्ता सप्ताहव्यापी रुपमै मनाउने गरिएको छ । महिलालाई स्तन देखाएर हिड्न छुट भएका न्यूयोर्क, वासिंटन तथा पोर्टल्याण्ड लगायतका सहरमा मात्र होइन नग्नता प्रतिबन्धित रहेका शिकागो, मियामी तथा सन फ्रान्सिस्को जस्ता सहरमा पनि धूमधामसित स्तन देखाउने दिवस मनाइन्छ । रोचक कुरा दिवसका अवसरमा छाति नांगै गराएर र्‍याली निकाल्ने महिलाको हुलमा पुरुषहरु पनि थपिएका हुन्छन् । र्यालीमा बोकिएका प्लेकार्डमा लेखिएको हुन्छ, पुरुषले देखाउँछन् भने हामीले किन ढाक्नु ?

Onlinekhabar.com
अरु यता >>

Sunday, August 14, 2011

नोभेम्बर ५ फेसबुकको अन्तिम दिन रे


हुन त प्रकृतिको नियम हो, जसको उत्पति वा जन्म हुन्छ त्यस्को अन्त्य निश्चित छ । कुरा छिटो वा ढिलोको मात्र हो । जन्मिएको केही समयमा नै आफ्नो अभुतपूर्व उपस्थिती देखाएको फेसबुकको अन्तिम दिन यही नोभेम्बर ५ मा हुने घोषणा गरेका छन्, संसारकै शक्तिशाली ह्याकर समूहले । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर स्मरण रहोस् यो चेतावनी दिने त्यही समूह हो जसले विश्वका ७० भन्दा बढि ठुला ठुला वेभसाइटहरुलाई तहसनहस पारिसकेको छ । र, भर्खरैमात्र सिरियाको रक्षामन्त्रालयको वेभसाइट ध्वस्त पारेका थिए । सकारात्मक र नकारात्मक दुबै किसिमले प्रयोग र प्रसिद्धि पाएको फेसबुक ध्वस्त पार्नुको कारण जानकारी सुरक्षासँग सम्बन्धित भएको जनाएका छन् ।
ह्याकरहरुको समुहका केही सदस्यहरुले फेसबुकमाथि आक्रमण गर्ने योजना बनाइरहेको भिडियो सार्वजनिक भइरहेकै बखत फेसबुकमाथिको आक्रमणको योजना पुष्टि गरिएको हो । बुधबारमात्रै ह्याकरहरुले ट्वीटरमार्फत यो योजना पुष्टि गरेका हुन् । फेसबुकमाथि आक्रमणको योजना बनाउने ह्याकरहरु चानचुने होइनन्, यो वर्षका हलचल मच्चाउने खालका ह्याकिङमा उनीहरुको संलग्नता भएको दावी गरिएको छ । उनीहरुले अहिलेसम्म ७० वटा ठूला ठूला वेभसाइटहरु ध्वस्त पारिसकेका छन् । त्यो मध्ये गतहप्तामात्र उनीहरुले सिरियाको रक्षामन्त्रालयकै वेभसाइट ध्वस्त पारिदिएका थिए ।

फेसबुकको हत्या गर्ने ह्याकरहरुको विज्ञप्तीको पूर्ण पाठ



ह्याकरहरुको विज्ञप्तीमा फेसबुक सबैको प्रिय भएपनि अब पुर्णरुपमा ध्वस्त गरिने बताइएका छन् । उनीहरुले विश्वभरका ह्याकरहरुलाई सूचनाको स्वतन्त्रताका लागि भन्दै आफ्नो काममा सहभागी हुन पनि आवह्वान गरेका छन् । उनीहरुले विज्ञप्ती मार्फत फेसबुकले सूचना संकलन गरि सरकार तथा जासुसी एजेन्सीहरुलाई बिक्रि गरिरहेको आरोप पनि लगाएका छन् । फेसबुकले उसका प्रयोगकर्ताका बारेमा परिवारले भन्दा पनि बढि जानकारी संग्रह गरेको र ति जानकारीहरु एकाउन्ट बन्द गरे पनि तथा प्राइभेसी सेटिङ मिलाए पनि नमेट्ने गरेको तथा बिक्रि गर्ने गरेको पनि ह्याकरहरुले विज्ञप्ती मार्फत आरोप लगाएका छन् । यसैले सुरुमा नराम्रो लागे पनि पछि फेसबुकको हत्या गराएर उनीहरुले ठिक गरेको प्रमाणित हुने उनीहरुको भनाई छ । यसबाट फेसबुकका करोडौं प्रयोगकर्ताहरु सुरक्षित हुने उनीहरुले भनेका छन् ।

ह्याकरहरुले फेसबुकलाई नोभेम्बर ५ मा ध्वस्त पारेरै छाड्ने र कुनैपनि हालतमा माफी नदिने चेतावनी समेत दिएका छन् । ह्याकरहरुको यस्तो आक्रमणको योजना सामना गर्न फेसबुक विफल भएमा नोभेम्बर ५ देखि विश्वबाटै फेसबुक सधैका लागि विदा हुनेछ ।

फेसबुकमाथि आक्रमणको चेतावनीसहितको भिडियो वक्तब्य :
http://www.youtube.com/watch?feature=player_embedded&v=SWQTS8zqYXU

Attention citizens of the world,


We wish to get your attention, hoping you heed the warnings as follows: Your medium of communication you all so dearly adore will be destroyed. If you are a willing hacktivist or a guy who just wants to protect the freedom of information then join the cause and kill facebook for the sake of your own privacy.


Facebook has been selling information to government agencies and giving clandestine access to information security firms so that they can spy on people from all around the world. Some of these so-called whitehat infosec firms are working for authoritarian governments, such as those of Egypt and Syria.


Everything you do on Facebook stays on Facebook regardless of your "privacy" settings, and deleting your account is impossible, even if you "delete" your account, all your personal info stays on Facebook and can be recovered at any time. Changing the privacy settings to make your Facebook account more "private" is also a delusion. Facebook knows more about you than your family.

You cannot hide from the reality in which you, the people of the internet, live in. Facebook is the opposite of the Antisec cause. You are not safe from them nor from any government. One day you will look back on this and realise what we have done here is right, you will thank the rulers of the internet, we are not harming you but saving you.


The riots are underway. It is not a battle over the future of privacy and publicity. It is a battle for choice and informed consent. It's unfolding because people are being raped, tickled, molested, and confused into doing things where they don't understand the consequences. Facebook keeps saying that it gives users choices, but that is completely false. It gives users the illusion of and hides the details away from them "for their own good" while they then make millions off of you. When a service is "free," it really means they're making money off of you and your information.


Think for a while and prepare for a day that will go down in history. November 5 2011, #opfacebook . Engaged.


This is our world now. We exist without nationality, without religious bias. We have the right to not be surveilled, not be stalked, and not be used for profit. We have the right to not live as slaves.


We are anonymous
We are legion
We do not forgive
We do not forget
Expect us

Paniphoto.com
अरु यता >>

Friday, August 12, 2011

कस्ता डॉक्टर ??????? घाँटीकी बिरामीको पाठेघर झिकियो


बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक महिलाको घाँटीको 'थाइराइड' क्यान्सरको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले पाठेघर नै झिकेर फयाँकिदिएका छन् ।

नाक, कान र घाँटी (ईएनटी) रोगअन्तर्गत शल्यक्रियाका लागि भर्ना भएकी बिरामीको चिकित्सक जितेन्द्र परियारले चरम लापरबाहीपूर्वक बिहीबार बिहान पाठेघर झिकिदिएका हुन् ।

रूपन्देही शंकरनगर-३ की छमकुमारी बोहराको स्त्रीरोग विशेषज्ञ परियार लगायतको टोलीले गलत शल्यक्रिया गरेको अस्पतालले पुष्टि गरेको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ अनीलविक्रम कार्कीले बिहीबार बिहान मेसिन बिग्रेको जनाउँदै बिरामीका आफन्तलाई शल्यक्रिया सरेको जानकारी गराएका थिए ।

उनले आउँदो आइतबार बिरामीलाई अस्पताल ल्याएर भर्ना गरेपछि मंगलबार शल्यक्रिया गर्ने भन्दै घर जान भनेका थिए । 'बिरामीलाई घर लाने तयारी गरेर आयौं,' बिरामीका काका पूर्णबहादुर खत्रीले भने, 'एक्कासि अप्रेसन सकेर निकालेको देखेपछि झस्क्यौं ।'

उनले घाँटीको भाग खुला देखेपछि बिरामीको पेट हेर्दा चिरिएको बताए । गलत शल्यक्रिया भएको भन्दै आपत्ति जनाएपछि चिकित्सकले 'गल्ती भएकाले 'थाइराइड को पनि उपचार गरिदिने' आश्वासन दिएर थामथुम पार्न खोजेका थिए ।

नन्द धनकुमारी खत्रीका अनुसार छमकुमारीको २ महिनाअघि एउटा थाइराइडको शल्यक्रिया भएको थियो । 'अर्को थाइराइड फ्याँक्नुपर्ने भनेकाले ल्यायौं,' चरम लापरबाही भएकोमा आक्रोश पोख्दै उनले भनिन्, 'एकतिर घर लैजाऊ भन्ने, अर्कोतर्फ जानकारीसम्म नदिई शल्यक्रिया गर्न लगेर पाठेघर फालिदिन मिल्छ ?'

'मेजर अप्रेसन' गर्नुपर्ने भन्दै चिकित्सकले बोलाएकाले आफन्त बिरामी लिएर बुधबार आएका थिए । उनको बिहान ८ बजे देखि १२ बजेसम्म शल्यक्रिया चलेको थियो । अपराह्न लापरबाहीको अनुसन्धान गर्न अस्पताल प्रशासनले निमित्त कार्यकारी निर्देशक डा. भोलाप्रसाद रौनियारको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा विभिन्न विभागीय प्रमुख र वरिष्ठ चिकित्सक छन् ।

पत्रकार भेटमा समितिका प्रवक्ता एवं ईएनटी विभाग प्रमुख डा. डेज गौतमले घाँटीको 'थाइराइड क्यान्सरको शल्यक्रिया हुनपर्नेमा चिकित्सकले लापरबाही गर्दा पाठेघरको शल्यक्रिया हुन पुगेको स्विकारे । अस्पतालका अनुसार अर्की बिरामी केशमाया गुरुङको पाठेघरको शल्यक्रिया गर्नुपर्ने थियो । उनको ठाउँमा 'भुलवश' छमकुमारीको शल्यक्रिया गरिएको हो । 'गाइनोको टिमले शल्यक्रिया गरेको हो,' उनले भने, 'गल्तीले यस्तो भयो ।'

गौतमका अनुसार बिरामीलाई 'अप्रेसन थिएटर'मा लग्नुअघि नर्सलाई जिम्मा लगाइन्छ । रोगअनुसार शल्यक्रिया कक्षमा लगिन्छ । 'कमन रुममा' लगेर बिरामीसँग समस्याबारे सोधिन्छ । शल्यक्रियाअघि बिरामीका आफन्तले सहमति जनाउनुपर्ने हुन्छ ।

'अस्पतालको गल्ती हो,' स्त्री रोग विभाग प्रमुख विनिमा श्रेष्ठले भनिन्, 'युनिटको गल्ती होइन ।' सामूहिक समस्या भएकाले समितिले छानबिन गर्ने बताइन् । निमित्त निर्देशक रौनियारले शल्यक्रियाअघि विभिन्न चरणमा 'चेकिङ' हुने बताए । चिकित्सकको गल्ती भएकोमा लुकाउनुपर्ने केही नभएको उनले बताए । बिरामीको अवस्था स्थिर रहेको बताउँदै उनले भने, 'बाँकी उपचार गर्छौं ।' ३२ वर्षीया छमकुमारीका श्रीमान्को निधन भइसकेको छ । उनकी १४ वर्षीया छोरी छिन् ।
अरु यता >>

Thursday, August 11, 2011

राशिफल लेख्ने मुर्ख कि पढ्ने मुर्ख ?

दिपध्वनी


पत्रिका हातमा परिसकेको हुन्न, कतिपयलाई हतार हुन्छ आजको राशिफल कस्तो छ हेर्नलाई । राशिफल धेरै किसिमले हेरिदा रहेछन् । कोही कोही राशिफलमा पुरै विश्वास गर्ने, राशिफलमा मित्र भेट लेखेको छ भने चिट्टिक्क परेर साथी भेट्न निस्किने । कोही कोही अनलाईन भएका साथी भेटेर राशिफल मिल्यो भन्ने अनि कोही कोही राम्रो लेखेको छ भने आत्मविश्वास बढ्छ, मिल्नु नमिल्नु त के भयो र भन्दै राशिफल हेरिदिने । यसैले पत्रिकाको लागि राशिफल राम्रो मसला हो । यसैले राशिफल बिनाको पत्रिका सायदै हुन्छन् । तर विश्वास गर्नेले विश्वास गरे झै संवेदनशिल भएर लेख्छन् त राशिफल लेख्नेले ?

राशिफलको मसला पनि अचम्मको छ । संसारमा लगभग ७ अरब मानिसहरु छन् । राशिफल जम्मा १२ वटा । भाग लगाउँने हो भने सालाखाला ५० लाख भन्दा बढि मानिसहरुको राशि एउटै हुन्छ । यति धेरै मानिसको दैनिकीका बारेमा निकालिने औसत दैनिक राशिफलहरु बलैले एक हरफ हुन्छन् । अझ कतिपय पत्रपत्रिकाहरु त यति खर्रो र साक्षात् हुन्छन् कि जम्मा दुई शब्दका राशिफल निकालिदिन्छन् । कस्तो अचम्मको राशिफल, ५० लाख भन्दा बढिका लागि २ शब्द । यदि त्यो राशिफल मिल्ने हो भने संसारका ५० लाखभन्दा बढि मानिसहरुको दैनिकी उस्तै हुनुपर्ने हो । यो त मानिसलाई भेडाको बथान सम्झिए जस्तो भएन र ?

पुर्वाञ्चलबाट प्रकाशित हुने एकदैनिक पत्रिकाका साथीले भन्थे, बाजेले बेलामा राशिफल नपठाईदिएर कनिकनि १२ वटा राशिफल निकाले । कुनै पहिलेकै दोहोरिए कुनै फुराएँ । राशिफल कसरी निकालिन्छ भन्ने कुरालाई राष्ट्रिय दैनिक पत्रिकाका एक बरिष्ठ सम्पादकले आफ्नो उपन्यासमा पनि खुलाएका छन् । उनको उपन्यास पढ्नेले थाहा पाउँनु हुनेछ ।

कुनै पत्रिका(चलेको राष्ट्रिय दैनिक, जसले आफुलाई नेपालको सबैभन्दा बढि बिक्री हुने भनि दाबी गर्छ ।)ले पत्रिकामा अघिल्लो दिनको राशिफल हुबहु पनि निकाल्ने गर्छ । तर, उसले त्यसको माफी मागेर भोली पल्ट सच्याउँदैन । जसलाई पढ्नेले हिजो झै विश्वास गरे आज पनि पढ्लान् । उनीहरुलाई के छ र पत्याईदिन्छन् । तर जान्नुपर्ने कुरा यो हो कि राशिफल सबै पत्रिकामा निस्किए पनि तिनीहरुमा लेख्ने वा छाप्नेले पत्याउँनेले पत्याए जस्तो संवेदनशिलता देखाएका हुन्नन् । उनीहरुलाई पनि थाहा छ, राशिफलले दैनिक जीवनमा कति असर पार्छ । राशिफल त मानिसको विश्वासलाई नगदिकरण गर्ने काम मात्र हो । यसैले लेख्नेले त लेखेपछि स्वार्थ पुरा गर्छ । तर मुख्य सोच्नु पर्ने बिषय यो हो कि, सबै कुरा पहिले नै लेखिएको हुन्छ भनेर भाग्यवादी भई किन मानिसको शक्तिलाई कम आक्ने ?

Paniphoto.com
अरु यता >>

साइको प्रेमिको करामत

प्रेममा ब्यक्ति कतिसम्म साइको हुने रहेछ भन्ने एक घटनाले देखायो। पढ्न बेलायत गएको समयमा नेपालमा रहेकी प्रेमिका अर्को युवकसंग घनिष्ठ भएको सुईको पाएका २१ वर्षिय साइको प्रेमी सुभाष उप्रेतीले प्रेमीहरुको बदनामै गरे आफ्नै प्रेमिकाको हत्या गराएर। आवेगको आक्रोश रोक्न नसक्दा अहिले उनीे प्रहरी खोरमा छन्। उनकी २१ वर्षिय प्रेमिका रोजी महर्जनको कुहिएको शब पोष्टमार्टम गृहमा छ।

घटनाको मुख्य कारण नै शंका बन्यो। करिव २ वर्षदेखी अफेयर चलिरहेको थियो यि दुबैविच। प्लसटुमा जोडिएको सम्बन्ध विविए पढ्दासम्म जारी रहेछ। उप्रेती विचैमा पढाई छाडेर युके गए पढ्न। तर, त्यतापनि टिक्न सकेनन् उनी र नेपाल आए।

उनी युके गएपछी रोजीको नयां युवकसंग मित्रता गासियो। सुभाष नेपाल आएपछी उनका साथीहरुले चै अफेयर नै चलेको छ भनिदिएछन्। जसवाट उनको मनमा आफुले धोका पाएको अनुभव गरी सुसाईड गर्ने प्रयास गरे। तर, उनी बांचे। तर,आफैंले माया गर्ने प्रेमिकालाइ भने बांच्न दिएनन्।

उनले प्रेमिकाको हत्याका लागी मोटरसाईकल वेचेर अपराधि समुहलाई सुपारी दिएछन् एक लाख ७५ हजारमा। अनी हत्याका लागी सहज वातावरण बनाउन डेटिगं जाउं भन्दै ललितपुर लेलेको जंगलमा पुर्‍याएर कञ्चटमा गोली हानेर जीवन लिला समाप्त पारे प्रमिकाको। अनी लास जंगलमा छाडेर घरमा आरामले बसे।

प्राय अपराधको योजना बनाउनले आफु जोगिने बाटो पनि तयार पारेका हुन्छन् पहिलानै। तर,त्यो त्यत्ति परिपक्व हुन्न। उनले पनि योजना बनाईका थिए जोगिन। उनले प्रेमिकाको मोवाईलवाट उनका दाजुलाई एसएमएस पठाएर ३० लाख रकम मागे। अनीसंगै अनलाइनमा बसेर साथीहरुसंग च्याट गरेर बसे। एक त प्रहरीले आफुलाई फेलै नपार्ने र फेला पारेपनी त्यो बेला आफु घरमै बसेको बहाना गरेर सहजै फुत्किनसक्ने उनको निष्कर्ष रहेछ। तर, घटनाकै दिन बेलुका उनी प्रहरीको फन्दामा परीहाले।

तर, उनको दोस्रो योजनाले काम गर्यो। रोजीको शब मध्य जंगलमा सडिरहेको थियो। तर प्रहरी उनी जिउंदै छिन कि मरिसकिन् भन्ने पत्तो थिएन। शंकाको भरमा समातेपनि सुभाषले उनको हत्या गरेको भन्ने प्रहरीले सोचेको पनि थिएन।

पक्राउ परेको ६ दिनसम्म पनि प्रहरीले केही फुत्काउन सकेन सुभाषवाट। उनले अनेक बहाना बनाएर अनुसन्धानमा खटिएको प्रहरीलाई घुमाईरहे। प्रहरी घुमिरह्यो। मंगलवार बेलुका अनुसन्धानकर्ता प्रहरीले गफैगफमा सोधिदिए–अब त केटी ज्युदै छैन होला है? सुभाषको मुखवाट फुत्त फुत्कियो–अ छैन।

यही एक शब्द काफि भयो अनुसन्धानमा खटिएका डिएसपी ह्दय थापा अनी सोमेन्द्र राठौरका लागी। केरकार शुरु भयो भब्य। तैले कसरी ज्युदै छैन भनिस् ल भन भन्दै प्रहरीले सोध्न थालेपछी सुभाष टिक्न सकेनन् र आफ्नो प्रेमिकाको हत्या गरेको स्विकार गरे। प्रहरीले मध्यरात जंगलमा पुगेर शब फेला पार्यो। अनी घटनामा संलग्न अन्य तीन जनालाई पनि पक्राउ गर्यो। तर, २ जना भने फुत्कीसकेका थिए।

घटना योजना
हत्यामा सुभाषसंगै संचित खडका, कुमार तामाङ्ग र राजु लोहार समेत संलग्न थिए। उनीहरुले ३ हप्ता अगाडी रोजीको अपहरण गरी फिरौती लिने र फिरौती पश्चात हत्या गर्ने योजना बनाएका थिए। सुभाष र कुमार तामाङ्ग हत्याको एक दिन अगाडि साउन १९ गते लतिपुरको नल्लुको जंगलमा गएर हत्या गर्न सजिलो हुने ठाउं हेरेर आए।

२० गते सुभाषले प्रेमीका रोजीलाई विहान ११:०० बजे लेलेमा डेटिंग जाउं भन्ने प्रस्ताव राखे। उनले पनि प्रेमिमाथी विश्वास गरिन। अनी एकान्त स्थानमा कुममा टाउको राखेर प्रेमका मिठा गफ गर्ने मुड बनाएर उसको मोटरसाईकलमा बसिन। उता तयारी अर्कै थियो। कुमार, राजु र संचितले दुबैलाइ अर्को मोटरसाईकलवाट फलो गरिरहेका थिए।

लेले पुगेपछि सुभाषले बाईक रोक्यो। पछाडी बसेको रोजीलाई राजुले कन्चटमा गोली हान्यो। उनी त्यही ढलीन। अनी दुबैले शब उठाएर जंगलको भित्री भागमा लगेर फालिदिए।

हत्याको कारण
सुभाष उप्रेतीले आफ्नो प्रेममा दरार उत्पन्न भए पश्चात अपराधीक मनस्थिती भएका व्यक्तिहरु संग सम्पर्क बढाई आफ्नो प्रेमीकाको हत्या गर्ने र सोही क्रममा फिरौती रकम समेत असुल गरी बाड्ने योजना बनाएका थिए।

त्यसै अनुसार सुभाषले २५ हजार कुमार तामाङ्गलाई एडभान्स दिइसकेका थिए हत्याका लागी। काम भए पश्चात फिरौती रकम प्राप्त गर्न नसकेकोले सुभाषले कुमार र अन्य केटालाई थप १ लाख पचास हजार दिएर शुरक्षित बस्नु भन्दै घर फर्किएका थिए। तर उनी शुरक्षित हुन सकेनन्।

हत्याको प्रकृती अनुसार आवेगपुर्ण र योजनावद्ध हुने गरेका छन्। आफ्ना प्रिय ब्यक्तिहरुको हत्यामा संलग्न भएकाहरुले प्राय आवेगमा आउंदा हत्या गरेका घटनाहरु सार्वजनिक हुने गरेपनी सुभाषको केसमा भने त्यस्तो देखिएन। जुन युवती नहुंदा आफ्नो जीवन खल्लो हुने आभाष गर्दै आफ्नै जीवन समेत समाप्त गर्ने प्रयास गरेका उनले उनैको योजनावद्ध हत्या गरे।

उनको मुर्खताका कारण जीवन के हो भन्ने पूर्ण अनुभव गर्नु अगाडि नै युवतीको जीवननै समाप्त भयो। जीवनका आगामी गोरेटाहरु सहज बनाउन अध्ययन र सिप विकास गर्ने उमेरमा उनी पनि आफैं बन्दी भए। प्रहरीले बुधवार सार्वजनिक गरेको घटना विवरण अनुसार उनी हत्याको मुख्य योजनाकार हुन। यसमानेमा अब कमसेकम ७ वर्ष उनको जिवन जेलमा वित्नेछ। २८ वर्षमा उनी कारागारमुक्त भएपनी हत्याको कलंकले छाड्ने छैन उनलाई। त्यसमा पनि आफ्नो प्रिय ब्यक्तिको अनाहकमा जीवन समाप्त गरेको प्रायश्चितले पनि उनलाई सुखसंग पक्कै बांच्न दिंदैन।

आवेगलाई थेग्न नसक्दा उनको जीवन त बर्बाद भयो नै। आफ्ना २ जना साथीको भविष्यमाथी समेत खेलवाड गरे। यो पश्चातापले पनि उनलाई पोल्ने छ पक्कै। घटना सम्झदा उनलाई पश्चाप हुनेनै छ एकदिन। तर, समय वितिसकेपछी पश्चाताप गरेर के गर्ने?

hamroblog.com
अरु यता >>

Wednesday, August 10, 2011

करोडपति डनहरूको भागाभाग

काठमाडौं, साउन २५ । टोले गुण्डा तथा डान्सबारका बाउन्सरबाट आपराधिक गिरोह चलाएर रातारात करोडपति बनेका राजधानीका गुण्डागर्दीका नाइके अथवा 'डन' हरूको पछिल्लो समयमा निदहराम भएको छ।

महानगरीय प्रहरीले उनीहरू विरुद्ध अप्रेसन सुरु गरेपछि उनीहरूको भागाभाग सुरु भएको छ। खास गरी डनहरूको सम्पतिको खोजी सुरु भएपछि डनहरू आतंकित बनेका छन्। गत शुक्रबारबाट सुरु भएको सम्पति शुद्धीकरण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र महानगरीय प्रहरी मिलेर गुण्डाहरूको सम्पति छानबिन सुरु गरेका हुन्। हालसम्म विभागले राजस्व अनुसन्धान विभागअन्तर्गत रहँदा गणेश लामाको प्रारम्भिक छानबिन गरी उनको फाइल तयार गरेको छ। आइतबारबाट उनको फाइल पल्टाउन सुरु गरिएको विभाग स्रोतले बताउँछ। सिआइबीले विभागलाई दिएका अन्य एक दर्जन व्यक्तिको पनि अनुसन्धान सुरु भएको छ।

विभागका महानिर्देशक खुमराज पुञ्जालीले पनि प्रहरीसँग सहकार्य गरेर आपराधिक गतिविधिमा लागेर करोर्डौं कमाएकाहरूको सम्पति छानबिन सुरु गरिएको बताए। त्यसका लागि प्रहरीसँग नियमित रूपमा सहकार्य हुने उनको भनाइ छ। महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना पनि प्रहरी अब डनहरूको सम्पति छानबिनतर्फ लागेको बताउँछन्। 'उनीहरूलाई पक्राउ गरेर थुन्दैमा मात्र गतिविधि नियन्त्रण गर्न सकिदैन,' आयुक्त कुवेरसिंह राना भन्छन्, 'त्यसकारण सम्पतिमाथि पनि हामीले अनुसन्धान सुरु गरेका छौं।'

सबै जसोले अवैध गतिविधिबाट करोडौं कमाएकाले उक्त सम्पतिको स्रोत खुल्ने देखिँदैन। त्यसकारण पनि उनीहरू आतंकित भएका हुन्। उनीहरूले धमाधम सम्पति लुकाउन थालेका छन्। उनीहरू भने आफूहरूले व्यापार गरेर सम्पति कमाएको बताउँछन्।


सम्पति छानबिनमा सुरुमा प्रहरीले ठूला अर्थात् पछिल्लो समयमा क वर्गमा राखिएका १५ जना डनहरूमाथि छानविन सुरु गरेको छ। जसमा दीपक मनाङे, राजु गोर्खाली, चक्रे मिलन, गणेश लामा, बागे नामले चिनिने बागबहादुर लामा, रोज राणा, चन्द्रबहादुर लामा, साजन महर्जन, चरी भनिने दिनेश अधिकारी, रमेश बाउन भनिने सुजन पौडेल, बाबु भनिने विश्वक्रान्ति सिंह र तेजेन्द्र गुरुङ लगायत छन्।

महानगरीय प्रहरी र सिआइबीले संयुक्त रूपमा गुन्डागर्दीविरुद्ध हालै थालेको अपरेसनमा आपराधिक गतिविधिमा लागेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरणलाई पनि प्राथमिकतामा राखिएको थियो। संगठित रूपमा आपराधिक धन्दामा लागेकाहरूको अवैध सम्पति नियन्त्रण नगरी उनीहरूको अवैध क्रियाकलाप नियन्त्रण गर्न नसकिने निष्कर्ष निकाल्दै प्रहरीले डनहरूको सम्पति अनुसन्धानलाई पनि प्राथमिकता दिएको हो पैसाका लागि आपराधिक गतिविधि हुने र यसकै बलमा डनहरूको आपराधिक धन्दा फस्टाएकाले उनीहरूको अकूत सम्पतिमाथि अनुसन्धान नगरी संगठित अपराध नियन्त्रण गर्न नसकिने सिआइबीका निर्देशक डिआइजी राजेन्द्रसिंह भण्डारीको विचार छ। उनी भन्छन्, 'पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएर केही दिन थुन्दैमा गुण्डा तह लाग्दैनन्।'


डनहरूमध्ये गणेश लामा सबैभन्दा धनी भएको प्रहरी अधिकारीहरू बताउँछन्। उनले गुन्डागर्दी र ठेक्कापट्टाबाट मात्र करिब एक अर्ब सम्पत्ति जोडेका छन्। एकताका होटलमा बाउन्सर रहेका लामा पछि दीपक मनाङेको समूहमा लागे। मनाङ जेल परेपछि उनले छुट्टै गिरोह चलाएका थिए। पछिल्ला केही वर्ष रक्तचन्दन तस्करीबाट उनले अकूत सम्पत्ति कमाएका हुन्। गत वर्षदेखि नै उनको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको थियो। व्यापारी पवन गुप्तालाई २५ लाख ठगेको आरोपमा ६ साउनमा पक्राउ परेका उनी पैसा तिरेपछि १६ साउनमा पाँच हजार धरौटीमा रिहा भएका थिए।

अन्य डनहरूका सम्बन्धमा भने हालैमात्र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। राजनीतिक संरक्षणमा रहेका उनीहरू सबैले ठेक्कापट्टा र तस्करीबाट मोटो रकम जम्मा गरेका छन्। कतिपय डनले भने हप्ता असुली, बालुवा तस्करी, अर्धनग्न नृत्य प्रदर्शन गरिने डान्सबारको सञ्चालनबाट अकूत सम्पत्ति कमाएका छन्।

गत वर्षसम्म डनहरूको कमाइको मुख्य स्रोत हाउजिङ र रियलस्टेट व्यवसाय थियो। तर घरजग्गा व्यवसाय खस्किएपछि उनीको कमाइ पनि सुकेको हो। व्यवसायीलाई थर्काएरसमेत उनीहरूले सित्तैमा सेयर लिने गरेका थिए। गत फागुन ९ गते गोंगुबस्थित ह्याबिटेन्स हाउजिङसँग २ करोड सेयर मागेकामा नदिएपछि केन्द्रीय जेलमा रहेका चक्रेले चालक यादव सिलवालसहित हाउजिङको डोजरमा आगजनी गराएका थिए। हाल उनी गोलघरमा छन्। कतिपयले भने आफैले घरजग्गामा लगानी गरेका थिए।


भक्तपुरका साजन महर्जनले पनि रक्तचन्दनको कारोबारबाट लाखौं कमाएका थिए। भक्तपुरका नाइके महर्जनले सिन्धुपाल्चोकका व्यापारीलाई धम्क्याएर पैसा असुलेका थिए। भक्तपुर क्षेत्रमा उनका रेष्टुरेन्टसमेत छन्। काभ्रेका चन्द्र लामा पनि गुण्डागर्दीबाट सरकारी ठेक्का हात पारी लाखौं कमाउन सफल भएका हुन्। उपत्यका सबै डान्सबार तिनै गुण्डाहरूको लगानी र नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

कुमार घैंटेले सामाखुसीमा व्यापारिक कम्प्लेक्स चलाउदै आएका थिए। नुवाकोटका कांग्रेस नेताहरू अर्जुननरसिरंह केसी, जगदीश्वरनरसिहं केसी लगायत नेताले उनलाई संरक्षण दिदै आएका छन्। घैंटे ठेक्कापट्टामा पनि संलग्न छन्। सामाखुसी क्षेत्रका होटल रेष्टुरेन्टमा उनको दबदबा छ। बिदेश गएका उनी हालसालै काठमाडौं फर्किएका छन्।
पहिले कांग्रस रहेका र पछिल्लो समयमा वाईसीएल बनेका स्वयम्भू क्षेत्रमा सक्रिय बागे पनि क वर्गका ठेकदार हुन्।

रामेछापका रमेश बाउन उपत्यका बाहिरै बसेर व्यापारीलाई थर्काएर पैसा कमाउँदै आएका छन्। त्यसो त घैंटे मात्र होइनन्, सबै डनहरू उच्च राजनीतिक संरक्षणमा चल्दै आएका छन्। उनीहरूले अकूत रूपमा कमाएको करोडौं रकमले राजनीतिक प्रभाव बढाएको प्रहरीको भनाइ छ। 'उनीहरुले पार्टीलाई आर्थिक सहयोग र पार्टीले उनीहरूलाई राजनीतिक सहयोग गर्दछ,' एक उच्च प्रहरी अधिकारी बताउँछन्।

त्यसैले डनहरू पनि खुलेरै राजनीतिमा लाग्न थालेका छन्। गणेश लामा उपेन्द्र यादव नेतृत्व गर्ने फोरमको केन्द्रीय सदस्य छन्। दीपक मनाङे एक क्षेत्रीय पार्टीमा लागेका छन् भने राजु गोर्खाली पहिलेदेखि नै कांग्रेसको छत्रछायामा छन्।
प्रहरीले उनीहरूको सक्रियता र सम्पतिको आधारमा राजधानीका डनहरूलाई ए, बी, सी र डी गरी चार वर्गमा विभाजन गरी अपरेसन चलाइरहेको छ। अपरेसनमा पक्राउ करिब एक हजार पक्राउ परेकामा त्यसमध्ये १२ जना त फरार अभियुक्त परेको आयुक्त रानाले बताए । बागे र काभ्रेका दावा लामालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेर गत बिहीबार छोडिदिएको छ। बी र सी वर्गका डनमाथि पनि प्रहरीले निगरानी बढाएको छ। यसरी प्रहरीले गुण्डागर्दीविरुद्ध कडा कदम चालेपछि उनीहरूको भागाभाग भएको हो। अप्रेसनपछि उपत्यकाको शान्ति सुरक्षामा पनि सुधार भएको प्रहरीले महसुस गरेको छ। तर, डनहरु पनि नयाँ चलखेलमा लागेको बताइन्छ।

weeklynepal.com
अरु यता >>

Friday, August 5, 2011

'हरहर महादेव छोरा देऊ'

सञ्चिता लुइँटेल भदौमा आमा बन्दैछिन्। त्यही भएर होला, सञ्चिताभित्र पहिलो सन्तान धर्तीमा ल्याउने छटपटी दिनानुदिन बढ्दैछ। हलिउडकी डेमी मुर गर्भवती भएका बेला न्युड तस्बिर खिचाएर चर्चामा आएकी थिइन्। नेपाली समाजमा न्युड फोटो नै खिच्ने चलन त आइसकेको छैन, तर आमा बन्न लागेको खुसी र उत्साहको एउटा क्षणलाई सामाजिक सञ्जालमा राखेर भए पनि सञ्चिता लुइँटेल उप्रेतीले गर्भावस्थाको रोमाञ्चक ढंगबाट आनन्द लिएकी छिन्। विदेशतिर गर्भवती हुँदा हरेक महिना पेटको उभार बढ्दै गएको तस्बिर खिचाइएको पाइन्छ। त्यही शैलीमा सञ्चिताले 'हरहर महादेव' लेखिएको पहेंलो वस्त्र लगाएर खिचाएको यो तस्बिरले उनको आमा बन्न लागेको खुसी र कौतूहलताको चित्रण गर्दैन त ? आखिर आमा बन्नु हरेक नारीका लागि गौरवको कुरा हो।
अरु यता >>

Thursday, August 4, 2011

जड्याहाले घरभित्रै मच्चाएको विनाशलीला


पर्वतको लिमिठाना-९ का ४८ वषर्ीय भक्तबहादुर भण्डारीलाई रक्सीको मात चढेपछि एउटा हासो­-खुसीको माहोल विभत्स दृष्यमा परिणत भयो

पर्वत, १८ साउन

मंगलबार साँझपख देउरानी-जेठानीलगायत परिवारका अन्य सदस्यहरू पिँढीमा गफिइरहेका थिए । उनीहरूलाई के थाहा कस्तो दुर्दशाले घेर्न लागेको छ ।

पर्वतको लिमिठाना-९ का ४८ वषर्ीय भक्तबहादुर भण्डारीलाई रक्सीको मात चढेपछि एउटा हासो­-खुसीको माहोल विभत्स दृष्यमा परिणत भयो । उनले आफ्नै पत्नी र काकीआमालाई हँसियाले हानेर हत्या गरे भने आफूलाई जन्मदिने आमा धनसरी र भाइबुहारी पवित्रालाई समेत घाइते बनाए ।

सँधैजसो गफगाफ गर्न भनेर भक्तबहादुरको घर पुगेकी ६५ वषर्ीया माइलीआमा हरिकलाले पहिलोप्रहार भेटेकी थिइन् । हँसियाको प्रहारबाट हरिकलाको टाउको र शरीरको भाग छुट्टनि केही मात्र बाँकी थियो । त्यतिले मात्र भक्तबहादुर शान्त भएनन् । उनले आफ्नै पत्नी मीनालाई टुक्रा-टुक्रा पारे । उनीहरूको हत्यापश्चात् भक्तबहादुरले आमा धनसरीलाई प्रहार गरेका थिए । हँसियाको चोटबाट धनसरी बोल्नसक्ने अवस्थामा छैनिन् भने बुहारी पवित्राको दुवै हातमा गहिरो चोट लागेको छ । आमा धनसरीको चिउँडो नै काटिएको छ र हातमा समेत गहिरो चोट लागेको छ ।

त्यतिनै वेला छोरीको घरमा पुगेका ठानामौला-२ का पवित्राका बाबु भीमबहादुर क्षेत्री पनि भक्तबहादुरको प्रहारबाट जोगिन सकेनन् । आक्रमणबाट क्षेत्रीको पनि टाउकोमा गहिरो चोट लागेको छ । घाइते क्षेत्रीले भण्डारी बाहिरबाट आएर अचानक हँसिया हातमा लिएर एकाएक प्रहार गरेको बताए । 'घरभित्रबाट हँसिया झिकेर पहिले माइलीआमालाई प्रहार गरेपछि छुट्टाउन गएकी पत्नी मीनालाई हँसियाले छप्काएको हो,' गहभरि आँशु पार्दै उनले भने, 'छुट्टाउन खोज्दा मलाई र छोरी पवित्रालाई पनि प्रहार गर्‍यो ।'

हत्यारा भक्तबहादुरलाई प्रहरीले मंगलबार बेलुका नै नियन्त्रणमा लिएको छ । भक्तबहादुरले प्रहरी खोरमा पश्चाताप गरिरहँदा उनलाई जन्मदिने आमा अस्पतालको बेडमा आफ्नै कोखलाई धिक्कारिरहेकी छिन् । मृतकको शव जिल्ला अस्पतालमा पोस्मार्टमका लागि ल्याउँदा स्थानीय सर्वसाधारणको थाम्नै नसकिने भीड लागेको थियो । प्रहरीले अभियुक्तलाई समेत चेकजाँचका लागि अस्पताल भित्र्याउन खोज्दा उपस्थित समूहलाई नियन्त्रण गर्न नसकेपछि त्यत्तिकै फर्काएको थियो । प्रारम्भिक अनुसन्धानपश्चात् अभियुक्तलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।




भागेर बाचेँ
भाइबुहारी पवित्रा

सासूहरू आपसमा गफिइरहेका वेला म घरको काम-धन्दामा थिएँ । माइतबाट बुबा (भीमबहादुर) आउनुभएको थियो । बुबालाई खाजा खुवाउँदै गर्दा घरबाट चिच्याहटको आवाज आयो । आत्तिदैँ घरभित्र पस्दा सासू रगताम्य भएको देखेँ । त्यसपछि जेठानीदिदीले सम्झाउँदै गर्दा दिदीलाई पनि हँसियाले हानेर टुक्रा-टुक्रा पारेको आफ्नै आँखाले देख्नुपर्‍यो ।

त्यसपछि म त्यहाबाट भाग्न खोजेँ । तर, मेरो पनि दाहिने हातमा हँसियाले चोट लाग्यो । जेठीसासू धनसरी र बुबा -भीमबहादुर)लाई भगाउन खोज्दा हामीलाई समेत आक्रमण गर्‍यो । धन्न भागेर बाँचियो । अनि गाउँलेहरूलाई गुहारेँ । सबै गाउँलेहरू आउँदा भक्तबहादुर त्यहाँ थिएनन् ।

नयाँ पत्रिका
अरु यता >>
^ Scroll to Top