Monday, January 10, 2011

हात थापेर जीवन धान्नेहरू

काठमाडौ, पुस २६ - सर्लाही मानपुर-८ का २५ वर्षीय विघन रामको दैनिकी नयाँ सडक किनारमा मादल बजाएर मागेरै बित्छ । उनले घरमा मासिक १ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिएर एक जना कामदार राखेका छन् । तिनै कामदारले उनलाई हरेक बिहान नयाँ सडक लाने-ल्याउने गर्छन् । किशोरमै दुवै आँखा गुमाएका उनी पाँच वर्षदेखि माग्ने काम गरिहेका छन् ।
टेकुको सुकुम्बासी बस्तीमा बस्ने उनी दैनिक डेढ सयदेखि दुई सय रुपैयाँ कमाउँछन् । आकाशेपुल र सडकमा करिब ४० जना यसरी जीविका चलाइरहेका छन् । पोलियोले दुवै खुट्टा गुमाएका रौतहट सन्तपुर बेतौनाका ३५ वर्षीय गणेश गिरी पछिल्लो छ वर्षदेखि भोटाहिटीको फुटपाथमा सुतेर माग्छन् । दैनिक २ सय कमाउँछन् । श्रीमती र दुई छोराछोरी उनीसितै छन् । उनको कमाइले नै जीवन चल्ने भएपछि श्रीमतीले बिंडी, चुरोट बेच्ने काम बन्द गरेकी छन् ।
सुन्धाराको आकाशेपुलमा भेटिएका धनुषा हरिपुर-४ का विश्वेश्वर दास राजधानीमा दुई/तीन महिना सडकमा माग्छन् र घर फर्किन्छन् । एउटा आँखा र एक हात नचल्ने उनी दैनिक ५० रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म कमाउँछन् । उनी थापाथलीस्थित गोरख मन्दिरमा बस्छन् । यसरी माग्नेहरू कोही जीविकोपार्जनका लागि त कोही उपचार खर्च जुटाउन मागिरहेका छन् । डेढ वर्षदेखि दुईवटै मृगौला गुमाएका बारा पिपरा-५ का ३० वर्षीय कृष्ण चौधरीले मृगौला फेर्न चाहिने सात लाख रुपैयाँ जोहो गर्न न्युरोड गेट अघिल्तिर ब्यानर झुन्ड्याएर मागिरहेका छन् । उनी वनस्थलीस्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा साताको दुई पटक डायलोसिस गरिरहेका छन् । एक पटक डायलोसिस गर्न २ हजार ५ सय रुपैयाँ खर्च लाग्ने उनले बताए । उनी दैनिक २ सयदेखि हजार रुपैयाँसम्म कमाउँछन् । 'यो खर्चले सामान्य औषधि खर्चसम्म पुग्छ,' उनले भने । रोल्पा तालावाङ-९ का ३३ वर्षीय परसाराम खड्का नौ वर्षअघिदेखि खुट्टामा मासु पलाउने रोगको उपचार गर्न मागिरहेका छन् । दैनिक ५ सय रुपैयाँ आम्दानी हुने बताउने उनी भारतको बैग्लोरमा उपचारका लागि जानुपर्ने र यसका लागि ५ लाख भारतीय रुपैयाँ लाग्ने बताउँछन् ।
फुटपाथ र आकाशेपुललाई अवरोधमुक्त राख्ने जिम्मेवारी पाएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले यसको व्यवस्थापन चुनौतीपूर्ण भएको बताए । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहायक प्रवक्ता माधव भट्टराईले यसको कार्यान्वयन र व्यवस्थापनका लागि सरकारले अहिलेसम्म योजना नबनाएको बताए ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top