Friday, November 25, 2011

न्युयोर्कमा एक नेपाली युवकको बिजोग

दिनेशजंग शाह न्युयोर्क, मंसिर ९ - आमाका बिलौना कम्ती हृदयविदारक छैनन् । छोराको हरेक प्रसंगपिच्छे आँसुका बलिन्द्रधारा बगाउँछिन्, उनी । हुन पनि किन नहोस् । छोरा, न्युयोर्कको गल्लीमा बेवारिसे अवस्थामा छन् । सुत्ने, खाने सडकमै । पश्चिमी भाषामा 'होमलेस' । रक्सीको कुलत र न्युयोर्कको ठन्डीले अवस्था गम्भीर बन्दै गएको छ ।

त्यसमाथि 'होमलेस' का रूपमा गरिने उनीमाथिको दृव्र्यवहारले जो कोही नेपाली भाषीलाई बिझाउँछ । तर समस्या यतिमै सीमित छैन । झन्डै एक वर्षअघिदेखि यो अवस्थामा रहेका उनलाई घर फर्काउन आमा न्युयोर्क आएको दुई महिना बितिसक्यो । तर छोरा रमणराज पाण्डे र्फकन मान्दैनन् ।

जबर्जस्ती फर्काउन अमेरिकी कानुनले दिँदैन । अब के गर्ने ? मुख्य समस्या यहाँनिर छ । 'आफ्नै आँखाले छोराको यो अवस्था देखेपछि म कसरी रित्तै नेपाल फर्किन सक्छु ?' शारीरिक रूपमा अशक्त देखिँदै आएको आमा रूपाले आँसु झार्दै भनिन्, 'उच्चशिक्षाका लागि अमेरिका आएको छोरो यस्तो भयो ।'

नेपाल फर्काउने आमाको इच्छामा छोराको नाइनास्ती र अमेरिकी कानुन तगारो बनेका छन् । 'फर्काउन पनि गाह्रो छ, नफर्काए स्थिति गम्भीर बन्दै गएको छ,' पाण्डेलाई थोरबहुत रेखदेख गर्ने रेस्टुरेन्ट व्यवसायी दुर्गा गुरुङले भने ।

छ वर्षअघि अमेरिकामा पढ्न आएका २६ वर्षीय रमण काठमाडौंको सम्भ्रान्त परिवार, तत्कालीन दरबारका बडागुरु पाण्डे खलकका सदस्य हुन् । न्युयोर्क युनिभर्सिटीमा फोटो पत्रकारिता पढ्दापढ्दै छोडेका उनी त्यसपछि सानोतिनो काम गर्दै आएका थिए । केही वर्षअघि बुवाको निधनपछि उनमा पिउने लत एकाएक बढ्यो । त्यसपछि उनी साथीभाइ अनि परिवारको घुलमिलबाट अलग्गिँदै गए ।

नेपाली समुदायमा सक्रिय शैलेश श्रेष्ठका अनुसार धेरैपटक उनका आफन्त एवं नेपाली समुदायले उपचारका लागि थुप्रै अस्पताल पुर्‍याए पनि उनमा कुनै सुधार आएन । आठ महिनाअघि समाजसेवी एवं व्यवसायी मोहन ज्ञवालीको अगुवाइमा पाण्डेलाई नेपाल फर्काउने दुईपटक प्रयास असफल भए । ज्ञवालीले कान्तिपुरसँग भने, 'पहिले उनी राजी भए तर एयरपोर्ट जाने क्रममा बीच बाटामा पुगेपछि नेपाल पठाउन खोजे आत्महत्या गर्छु भनेपछि हामी उनलाई यतै ल्याउन बाध्य भयौं ।' दोस्रोपटक उडानको दिन एयरपोर्ट जानै मानेनन् ।

छोरा फर्काउन अमेरिका आउनुअघि आमाले परराष्ट्र मन्त्रालयमा निवेदन दिएकी थिइन् । न्युयोर्कस्थित नेपाली नियोगले यसबारे पहल गर्दै आएको पनि छ । राष्ट्रसंघीय नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले यसबारे न्युयोर्कका मेयर वा सम्बन्धित अधिकारीलाई भेट्ने पहल गरिरहेका छन् ।

यसअघि कानुनीरूपमा पाण्डेलाई नेपाल सुपुर्दगी गरियोस् भन्ने नेपाली समुदायको आग्रहलाई न्युयोर्कस्थित अध्यागमनको डिपोर्टटेसनसम्बन्धी निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट -आईसीई) ले अस्वीकार गरेको छ । विद्यार्थी भिसामा आएका उनले अमेरिकी बसाइको वैधानिकता गुमाइसकेका छन् ।

'नेपाल सरकारले अमेरिकी सरकारसँग समन्वय गरे निकासको सम्भावना रहन्छ', वकिल विनोद रोकाको सुझाव छ ।

Ekantipur.com
अरु यता >>

Monday, November 14, 2011

विश्वका सात प्राकृतिक आश्चर्य !

नेपाल प्राकृतिक रुपमा निकै धनी छ । यहाँ विश्वको सबैभन्दा गहिरो गल्छीदेखि लिएर सबैभन्दा अग्लो शिखर सगरमाथा समेत छ । हाम्रा लागि यस्तो विविधता प्राकृतिक आश्चर्य हुनसक्छ तर एक अन्तराष्ट्रिय संस्थाले गरेको विश्वव्यापी सर्भेक्षणमा भने नेपालका कुनैपनि प्राकृतिक स्थल विश्वका प्राकृतिक आश्चर्यमा पर्न असफल भएका छन् ।

स्विस फाउण्डेसनले ४ वर्ष लगाएर विश्वव्यापी मत सर्भेक्षण गरी हालै विश्वका सातवटा प्राकृतिक आश्चर्य चयन गरेको छ । फिल्म निर्माता बर्नाड वीबर देखि लिएर फुटबल स्टार लियोनेल मेस्सीको समेत सहभागिता रहेको स्विस फाउण्डेसनले न्यू सेभेन वन्डर्स नामको वेभसाइटमार्फत अनलाइन मार्फत झण्डै १० लाख मानिसको राय संकलन गरेको थियो ।

आश्चर्यको दौडमा विश्वका ४ सय ४० स्थान समावेश थिए । जसमा भोटिङका आधारमा पहिलो चरणमा ७७ स्थान छनोटमा परे । अन्तिम चरणमा छनोट हुन सफल भएका २८ स्थानमध्येबाट ७ प्राकृतिक आश्चर्य चयन गरिएको हो ।

यसरी विश्वका सात प्राकृतिक आश्चर्यमा पर्न सफल स्थानहरुमा अमेजनको जंगल, भियतनामको १६ सय टापुहरुको समूह, ह्यालोंग खाडि, अर्जेन्टिनाको इगुआजु झरना, दक्षिण कोरियाको जेजू टापु, इण्डोनेसियाको कोमोडो टापु र दक्षिण अफ्रिकाको टेबल माउन्टेन परेका छन् ।





Onlinekhabar.com
अरु यता >>

Tuesday, November 8, 2011

टाउको नभएको बालकको जन्म


सल्यानमा टाउको नभएको बालक जन्मिएको छ । घाँजरी पिपल १ पाखापानीका बसन्त रोका र देवी रोकाको तेस्रो सन्तानको रुपमा सोमबार आफ्नै घरमा जन्मिएको बाललको टाउको छैन भने आँखा दुईवटा काँधमा र मुख छातिमा रहेको छ ।

बालकलाई हेर्नेको भिड लागेको छ । बालकको नाक र कान भने छैन । अहिले सम्म बाललकको स्वास्थ्य अवस्था राम्रो भएको र राम्रो हेरचाह गर्न डाक्टरले रोका दम्पतिलाई सल्लाह दिएका छन् । बालकले अहिले छातिमा रहेको मुखबाट दुध खाइरहेको उनका बुबा बसन्त रोकाले जानकारी दिनुभयो । सो ठाउ सल्यान सदरमुकामबाट झण्डै ५० किलोमिटर पश्चिममा पर्छ ।

mydcnepal.com
अरु यता >>

Sunday, November 6, 2011

नेपाली हास्यव्यंग्य क्षेत्रमा लामो समय देखि क्रियाशील कलाकार राजाराम पौडेलको जिबनी


राजाराम पौडेल नेपालका एक प्रसिद्द हाँस्यकलाकार हुनुहुन्छ । सानैदेखि चुलबुले र बदमासी स्वभाभ भएका राजाराम रेडियो नेपालमा प्रत्येक शनिबार आउने बाल कार्यक्रमको 'रेडियो नाटक' बाट कला यात्राको सुरु गर्नुभएको हो। हाल सम्म करिब ८ सय नाटकमा अभिनय गर्नु भएका राजारामले तीन दर्जन टेलिफिल्ममा अभिनय गर्नुभएको छ भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ । राजारामले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई मह जोडी नाम राखिदिनुभएको हो । पौडेल मह जोडीकै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ ।

पिता सीताराम पौडेल र माता अम्बिका पौडेलको जेठो सन्तानको रुपमा काठमाडौंको नक्साल, नागपोखरीमा २०१३ पुस १२ मा जन्मनु भएका पौडेलका दुई दाजुभाइ र दुई दिदी बहिनी पनि हुनुहुन्छ । उहाँको न्वारानको नाम यादवकुमार हो । पाँच वर्षको उमेरमा घरमै पढाई प्रारम्भ गर्नु भएका राजारामको पहिलो गुरुनै पिताजी हुनुहुन्छ । ४ कक्षामा विजय मेमोरियल स्कुलमा भर्ना भएका राजाराम अर्को वर्ष ६ कक्षामा पद्मोदयमा भर्ना भएर पढ्नु भएको हो । त्यसपछि पद्मोदयबाट २०३४ मा एसएलसी सेकेन्ड डिभिजनमा पास गर्नु भएको हो ।

एसएलसी पछी उहाँ संगीतको माध्यमबाट आफुंलाई चिनाउन थाल्नुभएको थियो । अहिलेका राम्रा गायकमध्येका एक उत्कृष्ट गायक प्रकाश श्रेष्ठ र उहाँले धेरै कार्यक्रममा संगै गित प्रस्तुत गर्नुभएको थियो । २०३९ सालको गाईजात्रे हास्य व्यङ्ग्य कार्यक्रममा भाग लिएदेखि राजाराम हास्य व्यङ्ग्यतिर लागे प्रकाश श्रेष्ठ गायनमै चुलिए । त्यसपछि राजारामले मह जोडीको अंशबन्डा नामक नाटकमा काम गर्नुभयो । त्यसपछि मह जोडीकै टेलिफिल्म सन्ततिमा पहिलोपटक देखा पर्नुभयो । उहाँले सानो भए पनि अभिनय गरेको पहिलो चलचित्र वासुदेव हो ।

उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ । उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ । पछिल्लो पटक अमेरिकामा खोलिएका १६ संस्थाले एउटै मञ्चमा राखेर उहाँको सम्मान गरेका छन् । पौडेलले आफ्नो कला देखाउनकै लागि अमेरिका, हङकङ, थाइल्यान्ड, रुस, कोरिया, जापान, क्यानाडा, कतार, दुबई, बहराइन, सिंगापुरको भ्रमण गर्नुभएको छ ।

artistnepal.com
अरु यता >>

Wednesday, November 2, 2011

मर्सिडिज भन्दा महंगो साइकलको लिलामी

सुन्दा पनि अचम्म लाग्नसक्छ । एउटा साइकलको मुल्य मर्सिडिज कारको भन्दा पनि बढि छ । त्यतिमात्र होइन यतिधेरै पर्ने साइकल नचल्ने हालतमा छ ।

यो घटना अमेरिकाको हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल आउँदो हप्ता लिलामी हुने भएको छ । वाफबाट चल्ने यो साइकलका दुइ पांग्राबीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि छ यो साइकलमा ।

मोटरसाइकलमा जस्तै ह्यान्डलगि्रप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा थियो । यो अनौठो साइकललाई आउादो हप्ता लस भेगासमा लिलामी गरिँदैछ र आयोजकहरुले यसको मुल्य ४ करोड भन्दा बढि पर्ने बताएका छन् ।

अझ रोचक कुरा त के भने यस्तो अनौठो साइकल बनाउने रोपरलाई प्रहरीले यस्तो साइकल चलाएको भन्दै पक्राउ गरेको थियो । तर अन्तिममा उनीमाथि लगाउने आरोप तय गर्न नसकेपछि उनलाई छाडिएको थियो । रोपरको सन् १८९६ मा यहीँ साइकल दुर्घटनामा ज्यान गएको थियो । उनी हृदयाघात भएर साइकलबाट लडेको बताइन्छ ।

Onlinekhabar.com
अरु यता >>
^ Scroll to Top