Friday, January 7, 2011

पूर्वमुमाबडामहारानीको नारायणहिटीभित्रै एकान्तबास

छोरा-बुहारी र नातिनातिनाबाहेक अरू आफन्तलाई भेट्न झर्को मान्छिन् रत्न | हरेक दिन दरबारभित्रकै नारायणथानमा पूजा गर्छिन्, मंगलबार गणेशको पूजा गर्छिन् र एकादशीमा ब्रत बस्छिन्
काठमाडौं, २२ पुस
कुनैवेला दरबारकी 'रत्न' मानिएकी पूर्वमुमाबडामहारानी रत्न अहिले नारायणहिटीभित्र एक्लो जीवन बिताइरहेकी छन् । पति महेन्द्रले उपहार दिएको महिन्द्र मन्जिलमा उनी पूजापाठ गरेर दिन बिताउँछिन् ।
पूर्वराजा र पूर्वयुवराजलाई भेट्न निर्मल निवास धाउने राजावादीलाई पनि रत्नका बारेमा चासो छैन । त्यसो त छोराबुहारी र नातिनातिनाबाहेक नजिकका अरूलाई पनि उनी भेट्न खोज्दिनन् । 'एक्लैएक्लै दिन कटाउने बानीजस्तै परेको छ उहाँलाई' रत्ननजिकका एक दरबारीयाले भने ।
महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासनमात्र होइन, नारायणहिटी हत्याकाण्डकी प्रत्यक्षदर्शी पनि हुन् रत्न । तर, उनले यो विषयमा अहिलेसम्म मुख खोलेकी छैनन् ।
राजतन्त्र ढलेपछि पूर्वराजपरिवारले नारायणहिटी दरबार छोडे पनि उनी भने नारायणहिटी दरबारमै छिन् । उनले अन्तिमसम्म महेन्द्र मन्जिलमा बस्ने इच्छा गरे पनि सरकारले उनलाई अुनमति दिएको छैन ।
सासु तथा त्रिभुवनकी भित्रिया सरला मानन्धरको निधन भएपछि रत्न झन् एक्ली भएकी हुन् । उनीहरू हरेक दिन भेटेर कुरा गर्दै समय बिताउँथे, सरला महेन्द्र मन्जिलसँगै रहेको बम्बै चोकमा बस्थिन् । उनको गत वर्ष फागुनमा निधन भएको हो ।
स्रोतअनुसार पूर्वराजा ज्ञानेन्द्र भने हरेक सोमबार बेलुका करिब चार बजे नारायणहिटी पुगी आमा रत्नलाई भेट्छन् । उनी त्यहाँ करिब एकघन्टा बस्छन् र चिया खाएर र्फकन्छन् ।
रत्नका नातिनातिनीले भने मंगलबार उनलाई भेट्ने गर्छन् । पूर्वयुवराज पारसले भने कहिलेकाहीँ भेट्ने गर्छन् । पारस नारायणहिटी जाने कुनै दिन र समय छैन ।
पूर्वराजा र पूर्वराजपरिवारका सदस्यहरू रत्नलाई भेट्न जाँदा दरबारको जयनेपाल सिनेमा हलनजिकैको गेटबाट भित्र छिर्छन् । गेटसँगै नेपाली सेनाको उपत्यका पृतना छ ।
रत्नलाई नेपाली सेनाको उपसेनानीको नेतृत्वमा एक प्लाटुनले सुरक्षा दिइरहेको छ । सुसारेको तलब भने निर्मल निवासले पुर्‍याइरहेको छ । रत्नका ६ जना सुसारे सबै ६० नाघेका छन् । तीमध्ये दुईजना पुरुष र अरू महिला छन् । सुसारेहरूको तलब मासिक चारदेखि ६ हजारसम्म छ ।
केही समयअघि खुट्टामा भएको घाउमा क्यान्सर भएको आशंकामा उनलाई भक्तपुर क्यान्सर अस्पतालमा जचाउन लगिएको थियो । तर, अस्पतालले क्यान्सर नभएको पुष्टि गरेको छ । अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र पनि गएका थिए ।
८४ वर्षीय रत्नको समय धार्मिक कार्यक्रम र पूजापाठमै बित्छ । उनी हरेक एकादशीमा ब्रत बस्छिन् । नारायणहिटी दरबारभित्रै रहेको नारायणथान मान्दिरमा गई पूजापाठ गर्छिन् । यसैगरी हरेक मंगलबार गणेशको पूजा गर्छिन् र त्यो दिन नारायणहिटी दरबारमै रहेको गणेशको मन्दिरमा पूजापाठ गर्ने गर्छिन् ।

No comments:

Post a Comment

^ Scroll to Top