Sunday, January 16, 2011

स्पेनको 'बुल फाइट' सम्झाउने, तारुका गाउँको गोरुजुधाइ

तारुका, माघ १ गते । स्टार स्पोर्टस, टेन स्पोर्टसलगायतका विदेशी खेलकुद टेलिभिजन च्यानलहरूमा स्पेनको राष्ट्रिय खेल 'बुल फाइट' हेर्दै आएका नेपालीलाई नेपालमा पनि हरेक वर्ष साँढे -गोरु) जुधाई प्रतियोगिता हुन्छभन्दा अचम्म लाग्नसक्छ ।
गाउँका अजङ्ग साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगितालाई नुवाकोट जिल्लाको तारुका गाउँ विकास समितिले सय वर्षभन्दा लामो समयदेखि निरन्तर आयोजना गर्दै आइरहेको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह वि.सं. १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो ।
माघे सङ्क्रान्ती पर्व ध्यू, चाकु, तरुल आदि खाएर मनाइने यो पर्व तारुकामा भने सयौँ वर्षदेखि ती परिकारहरूको अलावा यो गोरुजात्रा नुवाकोट जिल्लाको तारुकावासीको पहिचान नै बनिसकेको छ ।
स्थानीय झिँगटी घरबाट सुरु भएको उक्त खेल परम्परा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना गरिन्छ । माघे सङ्क्रान्तिमा आफूले पालेको साँढे जुधाए नाम कमाउने धुनमा गाउँलेहरू आफू गुन्द्रुक खाएर गोरुलाई मास खुवाई पाल्छन् । आफूले रुखोसुखो खाएर गोरुलाई मीठोमसिनु खुवाएर पाल्ने गरेको यहाँका गोरुपालकहरूको भनाइ छ ।
जुधाउनकै लागि गोरुलाई छोराछोरी जत्तिकै स्याहार-सुसार गर्ने गरिन्छ, स्थानीय वृद्ध झमबहादुर प्रधान भन्नुहुन्छ ।
तारुकावासीले शनिबार पाँच हल गोरुलाई प्रतियोगिको रूपमा र तीन हल गोरुलाई सहभागीको रूपमा मैदानमा उतारेका थिए । गोरुको लडाइँ हेर्न तारुका गाविसमा २० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सुरुमा मनोरञ्जनको लागि मात्र रहँदै आएको गोरु जुधाईको परम्पराले चौतर्फी प्रचार पाउन थालेपछि परिमार्जन गर्दै लगिएको आयोजक समितिका अध्यक्ष खतिवडाले बताउनुभयो । विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाडौँलगायतका जिल्लाबाट दर्शकहरूको उपस्थिति बढ्न थालेपछि यहाँ जात्रा व्यवस्थापनको लागि आयोजकले सयौँको सङ्ख्यामा स्वयंसेवकसमेत खटाउन थालेको छ । गोरु जुधाउने परम्परालाई दीर्घकालीन रूपमा निरन्तरता दिन गाउँलेहरूले गत वर्षदेखि जग्गा सहयोग मागेर गोरु जात्राको लागि मैदानसमेत जोहो गरेका छन् । यहाँ १२ रोपनी बारीको पाटो गोरु जुधाउन छुट्याइएको छ ।
यसैबीच आजको गोरु जुधाई हेर्नका लागि नेपाली काँग्रेसका सभासद् तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, नेकपा एमालेका नेता महेन्द्रबहादुर पाण्डेलगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । उहाँहरूले तारुकाको जोरु जात्रा हेरेपछि गोरखापत्रसँग प्रतिक्रिया दिँदै यस्ता प्रकारका नौलो संस्कृति जर्गेना गर्नको लागि राज्यपक्षबाट समेत मद्दत हुनुपर्ने भनाइ राख्नुभएको छ ।
यो निकै भिन्न स्वादको संस्कृति हो, यहाँका किसानहरूले आफ्नै क्षमतामा धानिरहेको परम्परा बचाउन चौतर्फी पहल र चासोको बेला भएको सभासद् केसीले भन्नुभयो ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top