Friday, January 7, 2011

हात्ती मसाज

ब्राजिलमा सर्प मसाजपछि थाइल्यान्डमा हात्ती मसाज अहिले चर्चामा छ । हात्ती मसाजको मजा लिन विश्वभरिका पर्यटक अहिले थाइल्यान्डको पटाय पुगेका छन् । यो मसाजका लागि सानो कदका हात्ती प्रयोग गर्ने गरिएको छ । हात्तीले आफ्नो सुँढ र खुट्टाको सहायताले मसाज गर्छ । यसका लागि हात्तीलाई विशेषप्रकारको प्रशिक्षण दिइएको छ ।
मसाज गराइसकेका पर्यटक भन्छन्, 'यसले शरीरको दुखाइ जान्छ । शरीर फुरुंग हुन्छ ।' मसाजका लागि तेल या क्रिमको प्रयोग गरिएको छैन । हात्तीको स्पर्शबाट पर्यटक मसाजको मजा लिन सक्छन् । हात्तीले संवेदनशील अंगको मसाज सुँढले तथा कडा अंगमा खुट्टाले मसाज गर्ने गरेको छ । यी हात्तीलाई ब्युटिसियनको संज्ञा दिइएको छ । हात्तीलाई जर्मनका नागरिक बोडो एम्स फोयस्टर्सले प्रशिक्षण दिएका थिए । उनी उत्तरी थाइल्यान्डस्थित आफ्नो क्याम्पमा हात्तीलाई प्रशिक्षण दिन्छन् । उनलाई हात्ती समझदार जनावर लाग्छन् । 'हात्ती मानिसका भाषा सजिलै बुझ्छन् । यिनीहरूलाई १०० देखि ८० निर्देशन याद हुन्छ,' उनी भन्छन् ।
यति मात्रै होइन, यहाँ हात्तीलाई चित्रकारिताको पनि प्रशिक्षण दिइन्छ । यिनीहरूले पेन्ट गरेको टिसर्ट मात्र आठ सयदेखि एक हजार ६ सयसम्ममा किन्न सकिन्छ ।

No comments:

Post a Comment

^ Scroll to Top