Tuesday, February 15, 2011

भ्यालेन्टाइन डे'का दिन ५३ भ्यालेन्टाइन जोडीलाई कारबाही !!!!

काठमाडौ, फाल्गुन ३ - तपाईंको भ्यालेन्टाइन डे कस्तो रह्यो ? केही जोडीको भ्यालेन्टाइन डे भने सोमबार दुःखद रह्यो । पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरूमा प्रणयमा रमाइरहेका ५३ जोडीलाई सोमबार पशुपति क्षेत्र विकास कोषले 'अमर्यादित' स्थितिमा भेटिएको भन्दै कारबाही गरेको छ ।
बिहानदेखि साँझसम्म ४० जोडीलाई रसिद काटेर जनही २ सय रुपैयाँ जरिवानासमेत गरियो । सामान्य परिवारको, रकम नभएको र श्रीमान्/श्रीमती दाबी गर्ने १३ जोडीलाई भने पहिलो पटक भन्दै माफी दिएको कोषले जनाएको छ ।
आलिङ्गन बाँधेर बसेको, चुम्बन गरिरहेको र यौनजन्य गतिविधिमा संलग्न भएको भन्दै नियन्त्रणमा लिइएको थियो । प्रमाणका रूपमा तस्बिर खिच्न खोज्दा माफी माग्दै थुप्रै जोडी रोएका थिए । जरिवानापछि यस्तो गतिविधि नदोहोर्‍याउन चेतावनी दिँदै प्रमाणका लागि केही जोडीको कोषले तस्बिरसमेत खिचेको छ । 'असहज परिस्थितिमा भेटिए पनि पति-पत्नी भएको दाबी गर्ने केही युवा र अधबैंसे जोडीलाई अर्को पटक प्रमाणसहित आउन भनेका छौं,' कोषका सदस्य सचिव सुशील नाहाटाले कान्तिपुरसँग भने ।
केही जोडीले तस्बिर खिच्न जंगल र देवालयहरूभित्र छिरेको दाबी गरे पनि उनीहरूसँग न क्यामेरा भेटियो न त खिचिदिने कोही थिए । 'पहिलो पटक भएकाले जरिवाना गराएर र चेतावनी दिएर छाड्यौं,' उनले भने ।
कोषले पशुपति घुम्न आउने जोडीलाई एकाबिहानदेखि पटक-पटक माइकिङ गरेर अमर्यादित व्यवहार गरेर नबस्न आग्रह गरेको थियो । पाँच प्रहरी र कोषका प्रतिनिधि सम्मिलित छ/छ जनाको दुई टोली निगरानीमा खटाइएको थियो । साँझ परेपछि भने दस प्रहरी र कोषका प्रतिनिधिसहितको टोली परिचालन गरिएको थियो । 'सामान्य ढंगले गफ गरेर बसेकालाई केही गरिएको छैन, धार्मिक क्षेत्रमा अमर्यादित गतिविधि गर्नेलाई मात्र कारबाही गरिएको हो,' नाहाटाले भने ।
पशुपति क्षेत्रमा अश्लील गतिविधिमा संलग्न जोडी देखिएसम्म कारबाही नरोकिने उनले बताए । कोषले दुई सातासम्म चल्ने यो कारबाहीलाई 'चेतावनी र सुझाव' अभियान भनेको छ । यसपछि पनि नियन्त्रण नभएमा जरिवाना रकम बढाइनुका साथै स्थानीय प्रहरीको सहयोगमा जोडीहरूलाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही गरिनेछ ।
पशुपति क्षेत्रको विश्वरूप, राममन्दिर, पन्ध्र शिवालय र श्लेषमान्तक वनलगायत क्षेत्रमा विकृतिजन्य गतिविधिमा संलग्न यस्ता जोडीबारे दर्शनार्थीको निरन्तर गुनासोपछि कारबाही सुरु गरेको कोषले जनाएको छ ।

No comments:

Post a Comment

^ Scroll to Top