Monday, June 27, 2011

अंग्रेजीमा ९९ अंक


तनहुँ, अषाढ १३ - यस वर्षको एसएलसी परीक्षामा सहभागी ढोरफिर्दी ३ लालिमका १७ वर्षीय भिक्टोर पौडेलले अनिवार्य अंग्रजीमा ९९ अंक प्राप्त गरेका छन् ।

जिल्लाको दुलेगौंडा ७ गाछेपानीस्थित वाल विद्या मन्दिर हाईयर सेकेण्डरी स्कुलवाट उनी एसएलसी परफक्षामा सहभागी थिए । उनको जन्म २०५१ साल असार ६ गते हो भने सिम्वोल नम्वर ०४२२९७४ ‘एस’ रहेको छ ।

उनले अंग्रेजीमा ९९ अंक आउनु सामान्य झै लागेपनि विभिन्न पत्रपत्रिकामा अंग्रेजी विषयमा ९८ अंक हाँसिल गरेकालाई नेपालकै प्रथम भनेर प्रचार गरिएपछि आफुले पनि ९९ अंक प्राप्त गरेको जानकारी गराउन चाहेको वताए ।

‘एसएलसीको परीक्षामा अनिवार्य अंग्रेजीमा ९९ अंक आउनु सामान्य नै होला भन्ने लागेको थियो’ काठमाडौंमा रहेका उनले ईकान्तिपुरलाई भने, ‘तर सवैले ९९ अंक हाँसिल कसैले गरेका थिएनन् भनेपछि छक्क परेको छु ।’

उनले एसएलसीको परीक्षा भएको दिन रिजल्ट हेर्दा अंग्रेजीमा ९९ अंक आउला भनेर कल्पना नै नगरेको वताए । ‘परीक्षा सकेर आएपछि ९० अंक आउला भन्ने सोंचेको थिएँ’ परिक्षाको समयमा परिश्रम गरेर पढेको वताउँदै उनले भने, ‘नम्वर पत्यारै नलागेपछि काठमाडौंमा रहेका विज्ञान शिक्षक कमल सिग्देललाई समेत ५ पटक हेर्न लगाएँ ।’

आँफुलाई अंग्रेजी र विज्ञानमा विषेश रुचि रहेको पौडेलले वताए । पौडेलले प्राथमिक विद्यालय पश्चिमाञ्चल प्रहरी आवासिय मावि दुलेगौंडा र निमावि तह सोही ठाउँस्थित जिव जुन मेमोरियल सेकेण्डरी वोर्डिङ् स्कुलमा पढेका थिए ।

पौडेलका वावु ईश्वरीप्रसाद एसएलसीसम्मको अध्ययनपछि भारतिय सेनामा कार्यरत छन् । आमा टिकामाया ढोरफिर्दी ३ स्थित ढोरफिर्दी प्राविमा विगत १४ वर्षदेखि पढाउँदै आएकी छिन् । निजी तर्फवाट प्रमाणतह उतिर्ण उनले प्रावि दरवन्दिमा पढाउँदै आएकी हुन् । पौडेलकी ४० वर्षीया आमा टिकामायाले छोरा भिक्टोरलाई कुनै पनि कुरा वुझ्न धेरै पढ्न नपर्ने प्रवृतिको भएको वताईन् ।

‘पढाईका कुराहरु एकै पटकमा वुझ्थ्यो’ आफु गाउको विद्यालयमा पढाउने भएकोले छोराको अंक नै सवैभन्दा धेरै होला भन्ने थाहा नभएको वताउँदै टिकामायाले भनिन्, ‘छोरा विशिष्ट श्रेणीमा उत्रिर्ण भयो त्यसैमा खुसी मानेका थियौं ।’

पौडेलले नेपालीमा ७६ अंक, गणितमा ९७ अंक, विज्ञानमा ८० अंक, सामाजिक शिक्षामा ८४ अंक, स्वास्थ्य तथा जनसंख्या शिक्षामा ८५ अंक, ऐच्छिक गणितमा ९० अंक र लेखामा ८८ नम्वर प्राप्त गरेका छन् ।

विद्यालयका निर्देशक जिपि सिग्देलले पौडेल विद्यालयको परिक्षा तथा हरेक कृयाकलापमा उत्कृष्ठ भई रहने विद्यार्थी भएको वताए । ‘उनी कक्षामा प्रथम, द्धितिय भई रहेने विद्यार्थी हुन् ।’ उनले अंग्रेजी परिक्षामा ९९ अंक आउदा विद्यालयका शिक्षकहरु समेत चकित परेको वताउँदै भने, ‘हामी पनि उनको अंक प्रति अचम्मित छौं ।’


ekantipur.com

No comments:

Post a Comment

^ Scroll to Top