Sunday, February 27, 2011

काठमांडूका डनहरुको कथा

हप्ता असुलीबाट आपराधिक सञ्जालमा छिरेका सुजन पौडेल (रमेश बाहुन) दुईपटक हतियारसहित पक्राउ परेर धरौटीमा रिहा भए। यतिखेर प्रहरीले फेरि उनलाई खोजिरहेको छ, तर फेला पार्न सकेको छैन। उनले हाउजिङ कम्पनीमा पैसा असुली गर्न धम्क्याएको प्रहरीको आरोप छ। सुजनजस्तै १० भन्दा बढी डनले फरक–फरक समूह परिचालन गरेर अवैध खानी, क्यासिनो, रात्रिकालीन व्यवसायसँगै हाउजिङलाई निसाना बनाइरहेका छन्।
हाउजिङ व्यवसायमा कस्तो छ डनहरूको दबदबा?
व्यवसायीहरू यति त्रसित छन्, औपचारिक रूपले कोही चुइँक्क बोल्दैनन्। समाचार संकलनका क्रममा सम्पर्कमा आएका आधा दर्जन व्यवसायीमध्ये अधिकांशले कुरा चपाउँदै भने, 'केही समस्या छैन, सब ठिक छ।'
हाउजिङ व्यवसायीको छाता संगठन नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले नै हाउजिङ व्यवसायमा डनहरूको दबदबा नभएको दाबी गरे। फोन सम्पर्कमा आएका उनले भने, 'खै, मलाई त त्यस्तो थाहा छैन।' बल्लतल्ल बोल्न तयार भएकाहरू पनि डनहरूको डरले घरिघरि सम्झाइरहन्थे, 'नामचाहिँ नलेखिदिनुहोला है!'
यो व्यवसाय चलाउन गुन्डालाई पैसा नबुझाउने एकजना पनि छैन।' यो एक चर्चित बिल्डरले नागरिकसँग स्विकारेको कुरा हो। नाम खुलाउन नचाहेका उनले भने, 'उनीहरूको नाम लियो भने कतिसम्म गर्छन् भन्ने त बुधबारको घटनाले देखाइहाल्यो। उनीहरूका बारे खुलेर कुरा गर्नु भनेको आफैं असुरक्षित हुनु हो।'
बुधबार एक्जाभेटर जलाएको खबर प्रहरीलाई दियो भनेर डनहरूले सम्बन्धित हाउजिङ कम्पनीका व्यवसायीलाई धम्क्याएका थिए।
उनका अनुसार दुर्व्यसनीदेखि संगठित आपराधिक समूहसम्मबाट त्रसित छन्, व्यवसायीहरू। व्यवसायीले जग्गा खरिददेखि अर्पाटमेन्ट बिक्रीसम्ममा डनहरूको दबाब सहनुपरेको पीडा सुनाए।
'चलाइरहेको डोजर खोसेर पैसा माग्ने, अपार्टमेन्टमै आएर सित्तैमा घर माग्ने, फोन गरेर ठेक्का माग्ने,' एक व्यवसायीले भने, 'यस्ता घटना त सामान्य भइसक्यो।'
डनहरूको दबदबाकै कारण अपार्टमेन्ट बनाउँदा आवश्यक पर्ने निर्माण सामग्रीबारे व्यवसायीहरू स्वतन्त्र भएर निर्णय गर्न सक्दैनन्। बालुवाको ठेक्का कसलाई दिने, गिट्टी, ढुंगा, सिमेन्ट कोसँग लिने, स्टिल कहाँबाट मगाउने भन्नेमा सम्बन्धित व्यवसायीको निर्णय अन्तिम हुँदैन। उनीहरू डनहरूको अनुमति नलिई सिन्को भाँच्न सक्दैनन्।
'गिट्टीको काम मेरा केटाहरूलाई दिनु भन्दै धम्क्याउँछन्,' ती व्यवसायीले भने, 'प्रतिवाद गर्‍यो भने काम गर्न मन छैन कि क्या हो भन्छन्।'
सबै मापदण्ड पुर्‍याएर हाउजिङ सुरु गर्दा गुन्डाको माग पुरा गर्न ५ देखि १० प्रतिशतसम्म रकम नछुट्याए काम अगाडि बढाउन नसकिने ती व्यवसायीको अनुभव थियो।
आठ वर्षदेखि हाउजिङ व्यवसायमा संलग्न अर्का व्यवसायीले 'मध्यमस्तरका बिल्डर अझ पीडित रहेको' सुनाए। माग पुरा नगरेसम्म कहिले बाटोको समस्या देखाउने त कहिले जग्गाको विवाद निकालेर हैरान बनाउने गरेको उनले खुलाए। 'बाइकमा ह्वारह्वार आउँछन्, डोजरको चाबी खोस्छन् र पैसा माग्छन्,' उनले भने।
केही घटनामा प्रहरीको सहयोग लिँदा थप समस्या बढेपछि सकेसम्म आफैं समस्या समाधान गर्ने गरेको अर्का व्यवसायीले बताए। 'प्रहरीलाई गएर भन्यो भने पक्राउ त गर्छ, तर केही दिनमै फेरि रिहा भइहाल्छन्, अनि समस्या उस्तै,' उनले भने, 'सधैं प्रहरीलाई भनेर साध्य नहुने, घरपरिवारका सदस्यलाई समेत धम्क्याएपछि उनीहरूले भनेको नमाने के गर्ने?'
केही घटनामा रकम दिन नमान्दा फोनकर्ताले 'छोराछोरीको माया नलाग्ने कस्तो निर्दयी बाबु' भनेर धम्क्याएपछि पैसा दिन बाध्य भएको उनले गुनासो गरे।
......
नेपाल जग्गा तथा आवास विकास संघका प्रवक्ता इच्छा वाग्ले गुन्डा र घोषित/अघोषित पार्टीबाट नेपालभरकै व्यवसायी पीडित रहेको बताउँछन्। 'शान्तिसुरक्षाको प्रत्याभूति छैन, जसको बलमा उनीहरूले पीडित बनाइरहेका छन्,' उनले भने, 'व्यावसायिक आचरणमा बसेर काम गर्दासमेत ढुक्क भएर व्यवसाय गर्ने वातावरण छैन।'
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले राज्य संयन्त्रप्रति विश्वास नगरी आपराधिक तत्वसँग सम्झौता गर्दा आपराधिक समूह बलियो बन्दै गएको दाबी गरे।
'डर र भय जति मान्यो त्यति बढ्छ,' उनले भने, 'व्यवसायीले सुरक्षा संयन्त्रमाथि विश्वास गरेर सहयोग गरे समस्या सहजै समाधान हुन्छ।' महानगरीय प्रहरी परिसर प्रमुख पुष्कर कार्की आफ्नो स्वार्थका लागि व्यवसायीहरूले नै गुन्डा प्रयोग गर्ने गरेको दाबी गर्छन्। 'प्रहरीलाई विश्वास नगरी गुन्डालाई आर्थिक रूपमा बलियो बनाउनु भनेको आफू असुरक्षित हुनु हो भन्ने व्यवसायीले बुझ्नुपर्छ,' उनले भने।
बुथ क्याप्चरदेखि हाउजिङसम्म
संगठित अपराधका जानकारहरू भन्छन्, पञ्चायतकालीन अवस्थामा फाट्टफुट्ट 'दादा' थिए, ०४६ को राजनीतिक परिर्वतनसँगै ह्वात्तै उनीहरूको विकास भयो। सुरक्षा संयन्त्र र प्रभावशाली व्यक्तिले आफूअनुकूल उपयोग गरेपछि तिनको प्रभाव बढेको हो। यसले हिजोका 'टोलेदादा' अहिले राष्ट्रिय सञ्जाल विस्तार गर्ने तहमा पुगेका छन्।
राजनीतिक स्वार्थका लागि छरिएर रहेका गुन्डा एकत्रित पार्ने श्रेय नेता र केही सुरक्षा अधिकृतलाई नै जान्छ। ०४६ को राजनीतिक परिर्वतनसँगै क्षेत्रपाटीका दिपक मनाङे, चाबहिलका राजु गोर्खाली र महाराजगन्जबाट चक्रे मिलनको सक्रियता बढ्यो। मनाङेले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो आधार बनाए, गोर्खाली कांग्रेस निकट रहे भने चक्रे एमालेमा सक्रिय भए।
एक प्रहरी अधिकृतका अनुसार राजनीतिक शक्तिको आडमा उनीहरूले ठेक्कापट्टालाई अतिरिक्त आम्दानीको स्रोत बनाए। ०५३ ताका गोर्खालीले फरक क्षेत्र रोजे, बालुवा र ढुंगाखानी सञ्चालन।
खुला राजनीतिक अवस्था र बढ्दो पर्यटकको चहलपहलसँगै ठमेल क्षेत्र पर्यटन गन्तव्य बनेपछि मनाङेले ठमेललाई आफ्नो आधारक्षेत्र बनाए। होटल, रेस्टुरेन्ट र रात्रिकालीन व्यवसायमा प्रभाव बढाए। चक्रे पनि गोर्खालीले सुरु गरेको क्षेत्रमै लागे।
खाडीलगायत क्षेत्रमा रोजगारको अवसर खुलेलगत्तै वैदेशिक रोजगारदाताको संख्या ह्वात्तै बढ्यो। चक्रे विस्तारै वैदेशिक रोजगारदातालाई आम्दानीको स्रोत बनाउन केन्द्रित भए। सन्दीप पाठक लगायतकाले वैदेशिक रोजगारतालाई आम्दानीको स्रोत बनाउने प्रयास गरे पनि उनीहरू टिक्न सकेनन्।
मनाङे, गोर्खाली र चक्रेसँगै बाघे लामा, काजी शेर्पा, गणेश लामा, विष्णु लामा, दावा लामा, कुमार घैंटे, साजन महर्जन, रवि राणा, मीनकृष्ण महर्जन, जसवन्त गुरुङ, ललित गुरुङ, सुगन श्रेष्ठ संगठित रूपमा देखिए। त्यही भएर ०६० पछि म्यानपावर व्यवसायीमाथि आक्रमण र तोडफोडको घटना बढेको थियो।
त्यसपछि एकाएक रक्तचन्दन तस्करी सुरु भयो। र, उनीहरूको बलियो आम्दानीको स्रोत त्यही बन्यो। मनाङेको सहयोगीका रूपमा रात्रिकालीन व्यवसायमा प्रभाव जमाएका गणेश भारतबाट भित्रने रक्तचन्दनलाई नेपालको बाटो भएर चीनको खासासम्म पुर्‍याउन बढी सक्रिय भए। काभ्रेका स्थानीय भएकाले रक्तचन्दन तस्करीमा गणेश लामाको एकछत्र राज भयो।
हत्या अभियोग लागेपछि गोर्खाली नेपालबाटै पलायन भए। पलायनसँगै उनको प्रभाव पनि खस्कियो। उनको समूहका युवाहरू विभिन्न समूहमा छरिए। नेपाल फर्केलगत्तै उनी जेल परे।
गोर्खालीको पलायनसँगै रक्तचन्दन र रात्रिकालीन व्यवसायबाट आर्थिक रूपमा बलियो भएका गणेशले दिपक समूह छाडेर काभ्रेका युवा समेटेर काभ्रेली समूह निर्माण गरेर तेस्रो शक्तिका रूपमा स्थापित भए।
नयाँ समूहको उदयसँगै आम्दानीका क्षेत्र पनि विस्तार भए। उनीहरूले लेनदेन र क्यासिनोलाई समेत आम्दानीको स्रोत बनाए। फाट्टफुट्ट रूपमा उनीहरू रात्रिकालीन व्यवसायमा सक्रिय थिए। कोही चलचित्र उद्योगतिर आकर्षित भए।
०६२ पछि अभिशेष गिरी, महेन्द्र भोटे, विक्रम लामा, सुजन पौडेल (बाहुन), दिनेश अधिकारी (चरी), अभिमानसिंह बस्नेत, राजु श्रेष्ठ, सगुन श्रेष्ठ, रिगल, ललित गुरुङ, विश्वक्रान्ति, वीरेन्द्र महर्जन, प्रवेश श्रेष्ठ, तेजेन्द्र रायमाझी लगायत समूह संगठित रूपमा उदाए। यसमध्ये सुजनले हाउजिङ क्षेत्रमा आतंक मच्चाए।
नेपाली सेनाको रेन्जर गणको जागिर छाडेका दोलखाका ३० वर्षे सुजनले साना हतियारको कारोबारबाट आपराधिक यात्रा थालेका थिए। ०६२ बाट अपराध दुनियाँमा छिरेका उनी चार वर्षमै व्यवसायीका लागि सुरक्षा खतरा बने भने प्रहरीका लागि मुख्य चुनौती।
पौडेल ०६४ वैशाखमा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर रिहा भएका उनी बुटवलबाट दुई पेस्तोलसहित पक्राउ परे। हातहतियार खरखजानाको अभियोगमा दुई वर्ष कारागार बसेपछि सफाइ पाएर रिहा भएका उनी लगत्तै हतियारको कारोबार छोडेर हाउजिङबाट रकम असुल्न सक्रिय भएका थिए। हतियार कारोबारमा पटकपटक पक्राउ परेपछि ०६४ बाट उनले हाउजिङ व्यवसायीलाई 'टार्गेट' बनाए।
प्रायः सैनिक पृष्ठभूमिका युवा समूह जम्मा पारेर त्रासलाई अम्दानीको स्रोत बनाएका उनी आर्थिक रूपमा जति बलियो बन्दै गए, व्यवसायी आफूलाई उति असुरक्षित ठान्दै गए। सुजन बाहुनमात्र हैन, विस्तारै चक्रे, गणेश लामा, मनाङे, घैटे, चरी लगायत सबै हाउजिङतिर केन्द्रित भए।
कोही धम्क्याएर रकम असुल्न सक्रिय बने, कोही निर्माण सामग्रीको ठेक्काका लागि बार्गेनिङ गर्न थाले त कोही सिधै बिनालगानी सेयर माग्न थाले। व्यवसायीहरू गुन्डाको हैसियत हेरेर माग पुरा गर्न बाध्य भए।
व्यवसायीका अनुसार गणेश 'धम्क्याएर जबर्जस्ती बालुवा, गिट्टीको ठेक्का लिँदै आएका छन्। निर्माणसम्बन्धी काम गर्न उनले सिरुवा कन्सट्रक्सन कम्पनी खोलेका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरी केन्द्रीय सदस्य भएका उनी उपत्यकाभित्रै खुला छन्।
पेस्तोलसहित पक्राउ परे पनि अदालतबाट सफाइ पाएर ६ महिनाअघि रिहा भएपछि हाउजिङलाई निसाना बनाउँदै घैंटे व्यवसायीसँग 'केटाहरूका लागि खर्च' भन्दै कमिसन माग्छन्। व्यवसायीको हैसियतअनुसार रकम असुल्न सक्रिय छन्। चरी लगायतका भने 'तपाईंहरू कमाउने, हामीलाई खोई' भन्दै धम्क्याएर व्यवसायीबाट रकम असुल्छन्।
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी भण्डारी प्रभाव विस्तारका लागि गठित समूह परिचालनको बलियो आधार आर्थिक स्रोत भएकाले उनीहरू सधैं आर्थिक रूपमा बलियो बन्न सक्रिय हुन्छन्। जोसँग जति आर्थिक स्रोत भयो, उसको समूह त्यत्ति फैलिने संगठित अपराधको प्रकृति भएको डिआइजी भण्डारीले बताए।
'जुन क्षेत्र आर्थिक रूपमा अगाडि बढ्यो, उनीहरू त्यतै सक्रिय हुन्छन्,' उनले भने, 'हरेक क्षेत्रको कमजोरी केलाएर त्यहीँ हिट गरी आम्दानीको स्रोत बनाउँछन्।'
आँखैअगाडि डन तर कमजोर प्रहार
गत मंगलबार व्यक्तिसहित एक्जाभेटर जलाएपछि हाउजिङ क्षेत्रलाई धन्दा बनाउने डनहरूमाथि कारबाही गर्न प्रहरी केही कस्सिएझैं देखिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोदेखि स्थानीय प्रहरी इकाईसमेत घटनामा संलग्नको खोजीमा छन्।
एक्जाभेटर जलाउन संलग्न व्यक्ति पक्राउ पर्नुअघि नै सूचना चुहाएको भन्दै सञ्जिल ओलीमाथि आक्रमण भयो। प्रहरीले दुवै घटनामा संलग्न भएको दाबी गर्दै १२ जना पक्राउ गरे पनि मुख्य अभियुक्त अझै प्रहरी पकडबाहिर छन्।
पौडेलपीडित व्यवसायी सुरक्षाको माग गर्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसम्म पुगेपछि उनको खोजी सुरु भएको एक वर्ष भयो। प्रहरी स्रोतका अनुसार प्रहरीभित्रै बलियो सञ्जाल बनाएर ललितपुरको गोदावरीलाई आधार क्षेत्र बनाएर उपत्यकाभित्रै सक्रिय छन् उनी। तर, खोजीमा जुटेको केन्द्रदेखि स्थानीय तहसम्मको प्रहरीले पक्राउ गर्न सकेको छैन।
चक्रे कारागारभित्रैबाट सञ्जाल सञ्चालन गरेर बसेका छन्। संघीय लोकतान्त्रिक पार्टी प्रवेश गरेका मनाङे राजनीतिक आवरणमा खुला छन्। पछिल्लो समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेर केन्द्रीय सदस्य बनेका गणेश काभ्रे र उपत्यकामा सार्वजनिक रूपमा हिँड्छन्। दिनेश अधिकारी, कुमार घैंटे उपत्यकामै सक्रिय छन्।
राजनीतिक दलको स्वार्थमा संगठित भएका समूहले २० वर्ष अवधिमा ठेक्कापट्टा, रात्रिकालीन व्यवसाय, रक्तचन्दन तस्करी, क्यासिनो हुँदै हाउजिङ व्यवसायसम्म प्रभाव विस्तार गरी त्रसित बनाएकोबारे सुरक्षा संयन्त्र जानकार छ। उनीहरूको सञ्जाल भत्काउन सक्रिय रहेको प्रहरी अधिकारीले दाबी गरे पनि त्यो घटेको छैन। टोले गुन्डाका रूपमा सुरु भएको उनीहरूको सञ्जालले राष्ट्रिय स्वरुप लिइसकेको छ।
एक प्रहरी अधिकारीका अनुसार अधिकांश जिल्लामा चक्रे, दिपक र गणेश समूहले स्थानीय संयोजक तोक्ने गरेका छन्। प्रहरी अधिकारीहरू उच्च तहको राजनीतिक संरक्षणका कारण प्रहरीले चाहेर पनि कारबाही गर्नसक्ने अवस्था नभएको दाबी गर्छन्। ती अधिकारीले भने, 'एक्जाभेटर जलाएको केसमा व्यक्तिलाई पक्राउ गरेर प्रहरी कार्यालय ल्याउन पाएको छैन, छोड्न नेताहरूको फोन आइसकेको थियो, अनि कसरी गर्ने काम?'
पीडितले जाहेरी नदिँदा अधिकांशलाई कारबाही गर्ने आधार नभएकाले समेत प्रहरी मुकदर्शक बन्न बाध्य भएको प्रहरीका एक उच्च अधिकारीले बताए। उनले भने, 'सबै चलाख भएर ह्वाइट कलर क्रिमिनल बनिसकेका छन्, पक्राउ गरेर कारबाही गर्न प्रमाण पुग्दैन।'
संगठित अपराधविरुद्ध प्रष्ट कानुनी व्यवस्थाको अभावमा समेत उनीहरूको सञ्जाल भत्काउन कठिन भएको सोही क्षेत्रमा सक्रिय प्रहरी अधिकारीको अनुभव छ। ब्युरोका प्रमुख डिआइजी भण्डारी संगठित अपराधीविरुद्धको कारबाहीमा प्रहरी बलियो रहेको दाबी गर्छन्। पीडित र प्रविधि सहयोगी नभएपनि उनीहरूको सञ्जाल भत्काउन प्रहरी बलियो रहेको उनको तर्क थियो।
'उनीहरू संगठीत देखिएपनि बलिया भने छैनन्, उनीहरूको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार भइसकेको छैन,' उनले भने, 'प्रहरीले चाहेका बेला पक्राउ गरेर ल्याउनसक्छ।' उनले सञ्जाल भत्काउन राज्यका अन्य संयन्त्र सहयोगी नभएको र काउन्टर स्ट्रेन्थ कमजोर रहेको भने स्वीकार गरे। उनले भने, 'प्रहरीको आँट र क्षमतामा कमी छैन, कमजोरी व्यवस्थापनमा छ।'
एसपी कार्की राज्यका अन्य संयन्त्र गम्भीर नहुँदा तत्काल भत्किन सक्ने सञ्जाल भत्काउन नसकेको बताउँछन्। अनुसन्धानका क्रममा गणेश लामाको नाममा ५० करोडभन्दा बढी सम्पत्ति देखिएपछि सम्पत्तिको स्रोत अनुसन्धान गर्न राजश्वलाई ६ महिनाअगाडि विवरणसहित सिफारिस पठाएपनि अनुसन्धान हुन नसकेको बताउँदै उनले भने, 'हामीले पक्राउ गरेका धेरै अपराधीको आर्थिक अवस्था शंकास्पद देखिएपनि कारबाहीका लागि सम्बन्धित निकायमा पठाएका छौं, तर खै किन प्रक्रिया अगाडि बढेन।'

4 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * असेंबल ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) जरुरी ऋण जानकारी दिएको लागि।

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  2. परमेश्वरको शान्तिले तपाईं संग हुन सक्छ।
    तपाईं एक व्यापारी वा बहिनी हुनुहुन्छ? तपाईं कुनै पनि हुनुहुन्छ
    वित्तीय तनाव या तपाईं शुरू गर्न धन गर्नुपर्छ।
    तपाईंको आफ्नै व्यापार?
    एक) व्यक्तिगत ऋण व्यापार विस्तार।
    बी) सुरु-अप कारोबार र शिक्षा।
    सी) समेकन
    नाम: ..........................................
    देश: .........................................
    स्थान: ..........................................
    स्थिति: .......................................
    लिंग: ................................................ ...
    उमेर ................................................. ....
    ऋण राशि आवश्यक: .........................
    ऋण अवधि: ...................................
    व्यक्तिगत सेल फोन नम्बर: .......................
    मासिक
    आय: .....................................
    धन्यवाद र परमेश्वरको आशिष।
    इमेल: marycoleloanscompany3@gmail.com

    ReplyDelete
  3. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  4. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete

^ Scroll to Top