Wednesday, February 9, 2011

हावाबाट गुड्ने कारको नमुना बनाए कुशल केसीले

एक वर्षअघि सोलारबाट गुड्ने कार बनाएर चर्चामा रहेका बागलुङका १७ वर्षीय कुशल केसीले फेरि हावाबाट गुड्ने कारको नमुना बनाएका छन् । काठमाडौंको नासा इन्टरनेसनल कलेज कक्षा ११ मा अध्ययनरत केसीले हावाकै चापले गुड्ने नमुना कार बनाएर अर्को नयाँ प्रयोग गरेको दाबी गरेका छन् ।
हावाबाट गुड्ने कारमा टिन, बल्व बेरिङ, तार, प्लास्टिकको प्रयोग गरिएको छ । हावाको सिलिन्डरले टर्वाइनमा प्रेसर दिएपछि कार गुड्ने केसीले बताए । कलेज बिदामा बागलुङ आएका केसीले नौ दिनको समयमा बनाएको कार बागलुङमा सफल परीक्षण गरेर काठमाडौं पु¥याएका छन् । करिब नौ दिनमा बनाएको सो कार बनाउन १८ हजार रुपैयाँभन्दा बढी खर्च भएको केसीले बताए । सो कार बनाउनका लागि विद्यालयले आर्थिक सहयोग गरेको छ ।
गत वर्ष कात्तिकमा उनले पढेको अमृत आदर्श उच्च माध्यमिक विद्यालय बागलुङमा सयौं मानिसहरूको भीडमा डिजेल र पेट्रोलको विकल्पमा सौर्य ऊर्जाबाट चल्ने कार बनाएर सफल परीक्षण गरेका थिए, आफ्नोे प्रयास, घरपरिवार, साथीभाइ, इष्टमित्र विद्यालय सबैको सहयोगले कुशलले आफैंले बनाएको गाडी बागलुङ बजारमा गुडाएर सबैलाई चकित पारेका थिए ।
विद्यालयको विज्ञान प्रदर्शनीमा एकपटक सामान्य नमुना हेलिकप्टर उडाएपछि हौसलास्वरूप उनले सोलार कार बनाउने योजनामा लागेका कुशलले आफ्नो ५ महिनाको अथक प्रयासपछि कार गुडाएका थिए भने कार गुडाएको १ वर्षमा नै फेरि हावाबाट गुड्ने नमुना कारको सफल परीक्षण गरेका छन् । डिजेल र पेट्रोलको विकल्पमा सौर्य ऊर्जाबाट चल्ने कारको परीक्षण नेपालमा सम्भवत पहिलो गरेका केसीले फेरि हावाको प्रेसर चल्ने कारको नमुना बनाएर सबैलाई चकित पारेका छन् । न कुनै तालिम केन्द्रमा तालिम लिए, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग नै, आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार चलाए अहिले हावाको प्रेसरबाट गुड्ने कारको नमुना बनाएको छु केसीले बताए ।
त्यतिखेर ४२ दिन लगाएर ६ लाख रुपैयाँ खर्च गरेर वैज्ञानिक सिद्धान्तबाट आफूले कारको निर्माण गरेको दाबी गर्दै केसीले अहिलेसम्म बनेका सवारी साधन इन्टरनेसनल कम्बस्टन क्यानन प्रविधिले चल्दै आएकामा आफूले अहिले बनाएको कार एयर टाईड एयर टरवाईन प्रविधिले चल्ने भएकाले यो प्रयास पहिलो भएको बताए । हावाको सिलिन्डरले टर्वाइन प्रेसर दिएपछि कार गुड्छ, परीक्षणका रूपमा यो नमुना बनाएको छु अब चाँडै परिमार्जन गरेर ठूलो आकारमा बनाइ यात्रु सवार बनाउनेछु उनी भन्छन्, यसका लागि सबैको सहयोग आवश्यक छ । जिज्ञासु स्वभावको कुशलले सधंै सानोदेखि नै नयाँ प्रयोग गर्ने गथ्र्यो सोलारकार बनायो फेरि हावाबाट गुड्ने म खुसी छु बाबु भीम केसी बताउँछन् । कुशलले सानैदेखि खेलौना किनेर फुटालेर सामानहरू झिकेर लथालिङ पार्थे सानोमा उनको दिक्दारी आज उमंगमा बदलिएको छ उनकी आमा रुद्रा केसी बताउँछिन् ।
विश्वमा पछिल्लो पटक प्रदूषण बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै कुशलले आफ्नो कारको नाम ‘कुशल सोलार कार सेभ द वल्र्ड’ राखेका थिए भने अहिले कुशल एयर कारको नाम दिएका छन् ।
१ वर्षअघि ३ जनाको क्षमता भएको सोलार कारको माथि ३ वटा पछाडि २ वटा र अगाडि एउटा गरी ६ वटा २४० वाटको सोलार, २० एम्पिएरको बेट्री जडान गरिएको थियो । कार प्रतिघन्टा ६० किलोमिटर गुड्न सक्ने कुशलको दाबी छ । एयर कारमा भने अहिलेको सवारी साधनको प्रविधिभन्दा पूरै फरक रहेको कुशलले बताए ।
सोलार कार र एयर कारको परीक्षण गरेका कुशलले चाँडै नमुना जहाज बनाएर उडाउने योजना बनाएका छन् । उनको कुशलता देखेर नासा इन्टरनेसनल कलेजले उनलाई निःशुल्क अध्ययन गराएको छ । उसको काम देखेर हामी गर्व गरेका छौं शिक्षक राजेश श्रेष्ठ भन्छन्, उसलाई साथ र सहयोग गर्ने हो भने उसले अझधेरै गर्ने सक्ने श्रेष्ठ बताउँछन् ।

No comments:

Post a Comment

^ Scroll to Top