Wednesday, February 2, 2011

ऐश्वर्या आमा बन्ने

बलिउड नायिका ऐश्वर्या राय बच्चनका लागि सन् २०१० निकै व्यस्ततापूर्ण रह्यो । रावण, एक्शन रिप्ले, रोबोटजस्ता चलचित्रपछि उनी अभिनित अर्को चलचित्र ‘गुजारिश’ प्रदर्शनको तयारीमा रहेको छ । तर सन् २०११ मा भने उनको कुनै चलचित्र प्रदर्शन हुने निधो भइसकेको छैन ।
यस अर्थमा अर्को वर्ष उनी आमा बन्ने अड्कल गरिदैंछ । तर ऐश्वर्या र उनको परिवारले यसबारेमा केही खुलाएको छैन । विवाह गरेर पनि अभिनयमा सक्रिय रहेकी ऐश्वर्याले सन् २०११ मा बच्चन परिवारलाई नयाँ सन्तान दिएमा आश्चर्य मानिरहनु पर्दैन । किनकी ऐश्वर्याका ससुरा अमिताभ बच्चनले निकै अघिदेखि आफू हजुरबुवा बन्न आतुर रहेको बताउँदै आएका छन् । तर ऐश्वर्या र उनका पति अभिषेकले भने यसबारेमा खुलेर केही बताएका छैनन् । यद्यपी सन् २०११ का लागि काम नलिएकी ऐश्वर्यालाई आमा बन्ने तरखरमा रहेको भन्दै भारतीय संचारमाध्यमले टिप्पणी गर्न थालेका छन् ।
चलचित्र ‘रावण’ को असफलतालाई ‘रोबोट’ को सफलताले बिर्साइदिएको छ । त्यसैले पनि ऐश्वर्याको मुहारमा मुस्कान छाएको छ । बक्स अफिसमा सफलताले उनको नाम फेरि एक नम्बर अभिनेत्रीमा गनिन थालेको छ । तर पनि ऐश्वर्या यस्ता कुरालाई प्राथमिकता दिन चाहन्नन् । उनी आफ्नो काममा मात्र ध्यान दिन्छिन् । दर्शकले आफ्नो चलचित्रलाई रुचाउँदा उनी निकै खुशी हुन्छिन् ।
अचेल उनी आफ्ना चलचित्र एक्शन रिप्ले र गुजारिसको प्रचारका लागि मिडिया सामू देखा पर्न थालेकी छन् । ‘एक्शन रिप्ले’ चलचित्रमा अभिनय गर्दा आफूले ७०को दशकको अनुभव हासिल गर्न पाएको उनी बताउँछिन् । यस चलचित्रमा उनी अक्षयकुमारका साथ देखा परेकी छन् । अभिनय यात्राको झण्डै एक दशकमा यो जोडी पहिलो पटक पर्दामा देखा परेको हो । त्यसो त चलचित्र ‘खाकी’ मा यी दुई एकसाथ देखिएका थिए । तर सो चलचित्रमा उनीहरू प्रेमी–प्रेमिकाको भूमिकामा थिएनन् ।
ऐश्वर्या कुनै पनि भूमिकाका लागि गहन अध्ययन नगर्ने बताउँछिन् । ‘म आफ्नो भूमिकाका लागि अध्ययन गर्दिनँ,’ उनी भन्छिन्, ‘म निर्देशकको कुरा सुन्छु र आफ्नो कुरा राख्छु ।’ ‘एक्शन रिप्ले’ चलचित्रका लागि आफूले कुनै कलाकारको नक्कल नगरेको उनी बताउँछिन् । ‘मैले त्यस चलचित्रका लागि पुराना चलचित्र हेरेँ तर कुनै कलाकारको नक्कल गरिनँ,’ उनले भनिन् ।

No comments:

Post a Comment

^ Scroll to Top