Sunday, February 13, 2011

बर्ष २५ पत्‍नी ६

विभिन्न प्रलोभन दिँदै ६ महिलासित बिहे गरेका एक युवक पक्राउ परेका छन्। तीन पत्नीले एकसाथ प्रहरीलाई गुहारेपछि कञ्चनपुरको झलारी–२, सिमलफाँटाका २५ वर्षीय प्रकाश नगारी समातिएका हुन्। लक्ष्मी सुनार, कल्पना सुनार र बिर्मा भण्डारीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले नगारीकी कान्छी पत्नी जानु दमाईलाई समेत हिरासतमा लिएको छ। महेन्द्रनगर बजारमा युनिक सिलाई सेन्टर चलाएका नागरीले तीन साताअघि भीमदत्त–१८ की १८ वर्षीया जानुलाई छैठौं पत्नीका रुपमा भित्र्याएका थिए। जानु नगारीकहाँ सिलाइ सिक्थिन्। नगारीसित सम्बन्ध थाहा पाएपछि उनी घर निकाला भइन् र सँगै बस्न थालिन्। हातमुख जोर्न धौधौ परेपछि माघ २ गते लक्ष्मी नगारीलाई भेट्न बजार आइन्। 'बिहे गरेर एकसाथ बस्दै आएका रहेछन्,' उनले भनिन्, 'अनि के को वास्ता गर्नु?' आफूहरुकै कमजोरीले पतिलाई एकपछि अर्को बिहे गर्न बल मिलेको उनले सुनाइन्। 'श्रीमानविरुद्ध उजुरी गर्न हिच्किचाउँदा धोका पाइयो,' उनले भनिन्। घरमा तीनवटी श्रीमती छँदाछँदै नगारी ज्ञानुसित बिहे गरेर अलग्गै बस्दै आएका थिए। बिहे भएको छैन भन्दै फकाउँदै एकपछि अर्को पत्नी थपेको नगारीले स्विकारेका छन्। नगारीले कल्पना बादीलाई जात नमिलेको भन्दै ७ वर्षअघि नै घरनिकाला गरेका थिए। त्यसै वर्ष उनले लक्ष्मी सुनारसित धार्मिक परम्पराअनुसार दोस्रो बिहे गरेको प्रहरीले जनाएको छ। २४ वर्षीया लक्ष्मीबाट एक छोरी छन्। ५ वर्षअघि काम गर्न दार्चुला गएका नगारीले कल्पना सुनारसँग तेस्रो बिहे गरे। 'प्रहरीमा उजुरी दिए, तर दबाब आएपछि छाडियो,' लक्ष्मीले भनिन्, 'दुःख दिन्न, जसरी पनि पालनपोषण गर्छु भन्ने कागजपत्र भयो। तर, मेलमिलाप भएन।' दुई वर्षअघि मजदुरी गर्न भारतको धार्चुला गएका नगारीले बिर्मा भण्डारीसित चौथो बिहे गरे। लगत्तै पशुपति बोहरालाई सेनाको क्याप्टेन भन्दै पाँचौं पत्नीका रुपमा भित्र्याए। केही समय सँगै राखेर पशुपतिलाई बिक्री गरेको आरोप लक्ष्मी, कल्पना र बिर्माले नगारीमाथि लगाएका छन्। लक्ष्मीसित बिहे गरेको केही महिनामै नगारी लक्ष्मीकै फुपू कल्पना सुनारलाई लिएर दार्चुला पुगे र दुई छोरा जन्माएको प्रहरीको भनाइ छ। दुई वर्षपछि अन्य दुई महिलालाई भगाएर नगारी महेन्द्रनगर फर्किए। 'नेपाली सेनाको क्याप्टेन हुँ भन्दै फकायो, मैले पनि विश्वास गरी साथ दिएँ,' बिर्मा भण्डारीले रुँदै भनिन्, 'विश्वास गर्दा बेहाल भयो।' उनी अहिले पाँचमहिने छोरासहित वृद्ध सेवा केन्द्रमा बस्दै आएकी छन्। 'सबैलाई एकसाथ कहिल्यै राखेनन्,' लक्ष्मीले सुनाइन्, 'मैले एक्लै प्रहरीमा उजुरी दिएँ तर धरौटीमा छुटे, यसपटक पनि धरौटीमा छुट्ने डर छ।' दुईवटीलाई नेपाली सेनाको क्याप्टेन हुँ भनेर र दुईवटीसित पर्याप्त धनसम्पत्ति र घरजग्गा छ भन्दै फकाएर बिहे गरेको प्रहरीले जनाएको छ। 'नागरीले ८ वर्षमा ६ वटीलाई बिचल्लीमा पारेछन्,' प्रहरी निरीक्षक चक्रराज जोशीले भने, 'घरमा अरु श्रीमती पनि छन् भनेर थाहा पाइपाई बिहे गर्ने जानुलाई समेत हिरासतमा लिएका छौं।' पाँच बिहे गर्दा समेत चुप लागेर बस्दा नगारीले गल्ती गर्दै गएको उनले बताए। 'उजुरी परेपछि पो हामीले पहल गर्ने?' जोशीले भने। नगारीविरुद्ध उनकी माइली पत्नी बिर्मा भण्डारीले आवश्यक कारबाही गरिपाउँ्क भन्दै बहुबिहेको मुद्दा दायर गरेकी छन्। उनीविरुद्ध मानव बेचविखनको मुद्दासमेत दायर गर्ने तयारीमा नगारीका तीनवटै पत्नी जुटेको प्रहरी स्रोतले बतायो।

No comments:

Post a Comment

^ Scroll to Top