Tuesday, February 8, 2011

बिहेको भोलिपल्टै दुलहा-दुलहीको मृत्यु

बिहे गरेको भोलिपल्ट आयोजित भोजबाट र्फकंदै गर्दा कार दुर्घटनामा दुलहा-दुलहीको आइतबार राति मृत्यु भएको छ । मनमैंजुका राजेश पन्थी र उनकी श्रीमती निर्मलाले बसुन्धरामा कार दुर्घटनामा ज्यान गुमाएका हुन् ।
विहे भोज सकेर बाँसबारीबाट घर र्फकंदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएर उनीहरु चढेको कार पल्टिएको प्रहरीले जनाएको छ । पन्थी दम्पतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी दीपक थापाले बताए ।
कारमा सवार राजेशका बाबु कृष्ण र आमा पार्वती भने बाँचेका छन् । शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत उनीहरूको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
३० वर्षीय राजेश र २८ वर्षीया निर्मला शनिबार मात्र विहे भएको थियो । परिवारकै तर्फबाट बाँसबारीको आँटी पार्टी प्यालेसमा आयोजना गरिएको भोजबाट बिदा भई आमाबुबालाई लिएर उनीहरू घर र्फकंदै थिए । महाराजगन्ज चोकको ओरालोबाट बसुन्धरातर्फ जाँदै गरेको कार बायाँतर्फ रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टेको थियो । दुर्घटना भएकै स्थाननजिक प्रहरीको सिआरभी टोली रहेकाले घटनास्थलमा तत्काल प्रहरी पुगे पनि आवश्यक सामग्रीको अभावमा उद्धारमा केही ढिलाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कारको सिसा फोरेर प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।
प्रत्यक्षदर्शी एक प्रहरीले तीव्र गतिमा चलाइएको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा एक्कासि मोडिएर बिजुलीको पोलमा ठोक्किएको बताए । उनका अनुसार बा.७च७१४६ नम्बरको स्यान्ट्रो कार पोलमा ठक्कर खाई उत्तानो परेको थियो । ठक्करबाट कारको अघिल्लो भाग पूरै कुच्चिएकाले अगाडि सिटमा बसेका राजेश र निर्मलाको चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो सिटमा रहेका बाबुआमालाई भने गहिरो चोट लागेको छ ।
पेसाले राजेश कम्प्युटर इन्जिनियर हुन् भने निर्मला नर्स । बेलायतमा नर्सिङ अध्ययन गरिरहेकी तनहुँ घर भएकी निर्मला बिहेकै लागि नेपाल आएको परिवारले जनाएको छ । उनीहरूबीच मागीविवाह भएको हो ।
गुल्मी घर भएका राजेशले हालै मात्र कारको सवारीचालक अनुमतिपत्र लिएका थिए । कार चलाउन निपुण भइनसकेकाले र्फकने क्रममा उनलाई कार नचलाउन आग्रह गरेको भोजमा सहभागी आफन्तले बताए । मृतक दम्पतीको सोमबार दाहसंस्कार गरिएको छ ।

No comments:

Post a Comment

^ Scroll to Top