Monday, February 7, 2011

क्या मोज !! परीक्षा नै नदिई उत्तीर्ण

जाजरकोट जिल्लाका अधिकांश माविका विद्यार्थी परीक्षा नै नदिएर उत्तीर्ण हुने गरेका छन् । यो वर्षको एसएलसी योग्यता परीक्षामा पनि जिल्लाका २५ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी नै नभएर उत्तीर्ण भए । माघ १० देखि सञ्चालित परीक्षामा परीक्षार्थी उपस्थित नभएरै उत्तीर्ण भएका छन् । फितलो परीक्षा प्रणालीका कारण यस्तो विकृति बढेको शिक्षाप्रेमी केशवजंग शाहले बताए । उनले भने, 'विद्यार्थी कमाइ गर्न भारत वा कतै सहरमा रहेका हुन्छन् । तर परीक्षामा उत्तीर्ण हुन्छन्, यो कस्तो विडम्बना हो ?'
परीक्षार्थीमध्ये धेरै भारतमा छन् । कुनै-कुनै परीक्षार्थी पहिलो दिनको जाँचमा उपस्थितमात्र भएर उतै फर्के । सदरमुकामको त्रिभुवन उच्चमावि बाहेक अन्यमा जाँच नदिएका परीक्षार्थी उत्तीर्ण भएका हुन् । जिल्लाका सम्पूर्ण विद्यालयका झन्डै ४ हजारमध्ये करिब हजार विद्यार्थी परीक्षामा सहभागी नै नभई उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी नहुने विद्यार्थीबाट कम्तीमा ४ हजारका दरले रकम उठाइएको स्थानीय नगेन्द्र शाहले बताए । सरस्वती उच्च मावि सीमामा २ सय ६० मध्ये ९० जना जतिले जाँचै नदिएरै उत्तीर्ण भए । लक्ष्मी प्राप्ति उच्चमाविमा पनि १ सय २५ मा ६० ले परीक्षा नदिएरै उत्तीर्ण भए छन् । परीक्षामा सहभागी नहुने विद्यार्थीको हाजिर रेकर्ड मिलाइएको एक शिक्षकले बताए ।
यहाँ ४५ मावि सञ्चालनमा छन् । तीमध्ये धेरैजसो विद्यालयमा २५ प्रतिशत पनि कोर्स पूरा भएको छैन । शिक्षक राजनीति, निजी अध्ययन, व्यापार व्यवसायमा व्यस्त हुने र विद्यालयमा अनुपस्थित हुँदा नियमित पठनपाठनमा अवरोध भई कोर्स पूरा हुँदैन । शैक्षिक सत्रभरि कम्तीमा ३ सय दिन पढाउनुपर्ने प्रावधान भए पनि विद्यालयमा वर्षको सय दिन पनि पढाइ नहुने अभिभावक बलबहादुर शाहीले बताए ।
शिक्षकले पठनपाठनमा लापरबाही गर्दा परीक्षा प्रणालीमा अनियमितता बढेको हो । गाउँमा विभिन्न परीक्षा केन्द्र स्थापना हुनुले झन् विकृति बढेको अभिभावक बताउँछन् ।
अघिल्लो एसएलसी तथा ११ र १२ को परीक्षामा मलेसिया, दुबई, भारतलगायतका देशमा बसेका समेतले त्यस्ता परीक्षा उत्तीर्ण गरेको रहस्य खुलेको छ । त्यसैगरी औपचारिक शिक्षा नपाएका, नेपाली र अंग्रेजी अक्षर नचिन्ने समेतले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् ।

No comments:

Post a Comment

^ Scroll to Top