Thursday, February 3, 2011

‘शीलाकी जवानी’ र ‘मुन्नी बदनाम हुइ’.............

बलिउडमा सफल नायिकाको सूचीमा समावेश भइसकेकी क्याट्रिना क्याफ आफूलाई टेलिभिजनमा काम गर्न कुनै संकोच नहुने बताउँछिन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘मलाई टेलिभिजनमा काम गर्न आपत्ति छैन, यसमा मलाई संकोच पनि छैन ।’
राम्रो कार्यक्रम भएमा आफू टेलिभिजन कार्यक्रम सञ्चालन गर्न पछि नपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘म टेलिभिजन कार्यक्रम सञ्चालन गर्न तयार छु तर कार्यक्रम राम्रो हुनुपर्‍यो र त्यो अंग्रेजी भाषामै हुनुपर्छ ।’ उनको पछिल्लो चलचित्र ‘तीस मार खाँ’ निकै चर्चामा रहेको छ । सो चलचित्रमा उनले नृत्य गरेको आइटम गीतका कारण पनि चलचित्रले चर्चा बटुलेको हो । ‘शीलाकी जवानी’ बोलको गीतमा उनले पृथक शैलीमा नृत्य गरेकी छन् । उनी भन्छिन्, ‘यो गीतका लागि मैले निकै मिहिनेत गरेकी छु, आइटम डान्सकै लागि भनेर आफ्नो वजन घटाएँ ।’
कतिपयले सलमान खान अभिनित चलचित्र ‘दबंग’ मा राखिएको आइटम गीत ‘मुन्नी बदनाम हुइ’ कै सफलता देखेर ‘तीस मार खाँ’ मा आइटम गीत राखिएको भन्ने चर्चा पनि गरेका छन् । तर क्याट्रिना भन्छिन्, ‘हामीले कसैको सफलता देखेर अकस्मात गीत राखेका होइनौं, आइटम गीत अचेल सबैजसो चलचित्रमा राख्ने गरिन्छ ।’ क्याट्रिनाले सो गीतका लागि विश्वज प्रसिद्ध पप गायिका शकीराबाट प्रेरणा लिएको बताइन् । क्याट्रिना भन्छिन्,‘हो, नृत्यका लागि मैले शकीराबाट प्रेरणा लिएकी हुँ, म समानताको सपना देख्छु, मेरो नृत्यमा शकीराको झल्को आउँछ भने त्यो मेरालागि सबैभन्दा ठूलो उपलब्धि र पुरस्कार हो ।’
आफूलाई कुनै पुरस्कारका बारेमा रुची नभएको क्याट्रिना बताउँछिन् । ‘म पुरस्कारका बारेमा त्यति सोच्दिनँ, कलाकारलाई प्रशंसा आवश्यक हुन्छ, त्यो प्रशंसा कुनै पुरस्कारबाट होस् या दर्शकबाट,’ उनले भनिन्, ‘पुरस्कारभन्दा पनि हाम्रो लागि दर्शक महत्वपूर्ण हो ।’
यसै महिनाको २४ तारिखमा प्रदर्शन हुने चलचित्र ‘तीस मार खाँ’ को प्रचारमा क्याट्रिना स्वयं जुटेकी छन् । सो चलचित्रका अभिनेता अक्षयकुमार र क्याट्रिना हालै चलचित्रको प्रचारकै लागि कोलकाता पुगेका छन् । कोलकातामा आयोजित पत्रकार सम्मेलनमा क्याट्रिनाले भनिन्, ‘चलचित्रमा हामीले सकेसम्मको योगदान गरेका छौं, निकै मिहिनेत गरेका छौं, हाम्रो कामको मूल्यांकन अब दर्शकले गर्ने पालो आएको छ ।’

No comments:

Post a Comment

^ Scroll to Top