Monday, February 14, 2011

जेलभित्रका कैदी अन्नपूर्णमा कफी पिउँदै

कैतीको अभियोगमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदी दरबारमार्गको होटल अन्नपूर्णबाट आइतबार लागुऔषध र लाखौँ नगदसहित पक्राउ परेका छन् ।
पाँच वर्षअघि कमलादीस्थित बैंक अफ काठमाडौंमा भएको डकैतीमा संलग्न काभ्रे मंगलटारका टासी लामालाई प्रहरीले आइतबार बिहान होटल अन्नपूर्णको क्याफेबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २० लाख नगद र १५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
यसका अतिरिक्त लामाका शरीरमा २५ लाख मूल्यबराबरको सुनसमेत थियो । उनले १५ तोलाको सिक्री र १० तोलाको औँठी लगाएका थिए । स्रोतका अनुसार जेलभित्रै बसेर पनि लामाले अवैध रूपमा लाखौँ कमाएका छन् ।
होटलमा रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । केन्द्रीय कारागारमा रहेका लामा सामान किन्न बहानामा बिहानै हिँडेका थिए । विशेष अवस्थामा मात्र जेलका कैदीलाई बाहिर जान दिइने भए पनि लामा नियमित रूपमा जेलबाट निस्केर बाहिरै बस्ने गरेको कारागार स्रोतले बतायो । आइतबार बिहानै जेलबाट निस्केका उनलाई साथमा गएको प्रहरीले बाटामै छोडिदिएको थियो ।
उनले जेल प्रशासन तथा प्रहरीलाई आर्थिक प्रभावमा पारी जेलभित्र रहे पनि बाहिर विभिन्न गतिविधि चलाइरहेको प्रहरी स्रोतले दाबी गर्‍यो । होटलबाट पक्राउ पर्दा उनको साथबाट मोटो रकम र लागुऔषध बरामद भएको छ, तर रकम र लागुऔषधको स्रोत भने खुल्न नसकेको प्रहरीले स्रोतले बतायो ।
लामा पटकपटक आफूखुसी जेलबाट बाहिर निस्कने गरेको घटनालाई कारागार व्यवस्था विभागले गम्भीर रूपमा लिएको जनाएको छ । उनी नियमविपरीत कारागारबाट बाहिर निस्कन कसरी सफल भए भन्ने विषयमा विभागले छानबिन गर्ने भएको छ । घटनाको विषयमा विभागले जेलर क्षेत्रबहादुर भण्डारीसँग स्पष्टीकरण सोधिसकेको स्रोतल बतायो ।
जेलभित्र बसे पनि प्रशासनसितको मिलेमतोमा उनी जेलबाहिरै लामो समय बिताउने गर्थे । जेलभित्रै रहँदा पनि उनले ठेकदारलाई धम्क्याएर पैसा असुल्ने गरेका थिए । केन्द्रीय कारागारमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजसँग पनि उनले एक करोडको बार्गेनिङ गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । लामाले व्यवसायी सिबी लामाबाट पनि धम्क्याएर पैसा असुलेका थिए ।
स्रोतका अनुसार लामा पक्राउ पर्नु केहीअघि मात्र उनले अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमसँगै कफी खाएका थिए । गौतमलाई पनि प्रहरीले अनुसन्धानका लागि केही समय नियन्त्रणमा लिएर छोडिदिएको छ । उनले लामासँग बसेर कफी खाए पनि उनीसँग चिनजान नभएको प्रहरीसमक्ष बताएका छन् । 'लामाका साथीसँगको चिनजानका आधारमा उनलाई भेटेको हुँ,' गौतमलाई उद्धृत गर्दै प्रहरी स्रोतले बतायो ।

No comments:

Post a Comment

^ Scroll to Top