Tuesday, June 7, 2011

रामलीला मैदानमा रामदेवको रामधुलाइ

गेरुवस्त्र लगाएरै रामदेवहरू दिल्लीको सेभेन रेसकोर्स रोड छिर्न खोज्छन् भने पनि सोनिया गान्धी र मनमोहन सिंहहरू कमण्डलु बोकेर हरिद्वार गइहाल्ने छैनन्, त्यस्तो अवस्थामा द्वन्द्व स्वाभाविक हो, जो अहिले भइरहेको छ

दिल्लीको रामलीला मैदानमा लाठी चलेको दोस्रो दिन काठमाडौंको लैनचौरमा पनि लाठी चलेको छ । कारण उनै योगी रामदेव हुन् जसले भारतमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने नारा बोकेर हडताल गरिरहेका छन् । भारतमा सुशासन होस् भनेर भारतीय नागरिकले प्रदर्शन गर्नु सुहाउँदो विषय हो । तर, भारतमा प्रजातन्त्र र सुशासनको चिन्ता गरेर नेपालमा प्रदर्शन गर्नु अनौठो हो । भारतमा भ्रष्टाचार निर्मूल गर भनेर लैनचौरमा गएर प्रदर्शन गर्नेहरूले बुझ्नुपर्ने हो, आफ्नो भान्साको भात डढाएर अर्काको भान्सा सुँघ्दै हिँड्नेलाई मूर्ख भन्छन्, केही थान मूर्ख प्रतिनिधिले सबै नेपालीलाई असजिलो बनाएका छन् ।

लैनचौरमा गएर प्रदर्शन गर्नेले भारतमा रामदेव कुटिएको र उनका समर्थकको प्रजातन्त्र खोसिएको भन्दै विरोध गरेका छन् । तर, भारतीय बजारमा परबल बेच्न जाने दार्चुलाका गरिब किसानलाई भारतीय सुरक्षा फौज एसएसबीले कुटेर बेहोस बनाएका समाचार दिनहुँजसो आउँछन् । दुई किलो चिनी किन्न भारतीय बजार गएका कपिलवस्तुका नेपालीलाई एसएसबीले लुटेका समाचार दिनहुँ आउँछन् । वर्षभरि भारतीय होटलमा भाँडा माझेर फकर्ंदा नेपाली युवालाई सुनौलीमा नांगेझार बनाइन्छ । गरिब नेपाली दाजुभाइ दिनदिनै कुटिँदा, पिटिँदा र लुटिँदा लैनचौरमा किन प्रदर्शन हुँदैन ? सीमा क्षेत्रमा मात्र होइन, लाजिम्पाटको व्यस्त सडकमा, सुन्धाराको केन्द्रीय कारागारमा भारतीयले गोली चलाउँदा लैनचौरअगाडि किन विरोध हुँदैन ? आफ्ना दाजुभाइ कुटिँदा कुम्भकर्णजस्तै निदाउने नेपालीलाई भारतीय प्रहरीले भारतीय नागरिकलाई कुट्यो भन्दा केको खसखस हो ? बुझ्नै सकिएन ।

लैनचौरमा प्रदर्शन गर्न जानेहरूले मात्र होइन, भारतलाई नै कर्मथलो बनाइरहेका आचार्य बालकृष्णले पनि बिचित्रको भूमिका देखाएका छन् । स्याङ्जा घर भएका बालकृष्णले नेपाली नागरिकता त्यागेका छैनन् भने भारतमा भ्रष्टाचार हटाऊ भनेर मनमोहन सिंहलाई थर्काउने अधिकार कहाँबाट पाए ? उनी नेपाली हुन् भने भारतमा सुशासन कायम गर भनेर मन्त्रीहरूलाई नैतिक शिक्षा दिने कानुनी हैसियत कहाँबाट पाए ? तर, नेपाललाई भ्रष्टाचारमुक्त बनाइसकेर भारत र विश्वलाई पनि सत्मार्गमा ल्याउने महान् अभियानमा हिँडेजस्तै गरेर दुई दिनअघिसम्म वरिष्ठ मन्त्रीहरू प्रणव मुखर्जी र कपिल सिब्बलसँग वार्तामा बसेका बालकृष्ण अहिले बेपत्ता छन् । उनी आफू त कतै लुके होलान्, लुकाइयो होला । तर, उनले अधिकारविनाको जिम्मेवारी लिएर सिर्जना गरेको बबण्डर लुकेको छैन, बरु भारतीय मिडियाबाट छरपष्ट भइरहेको छ । होइन, बालकृष्णले ठीकै गरेका हुन् भन्ने हो भने नेपालमा सरकार बन्दा र बिग्रँदा राकेश सुदको सक्रियतालाई पनि जायज भन्नुपर्नेछ ।

आचार्य बालकृष्ण मात्र होइन, उनका गुरु रामदेवले अहिले मच्चाएको 'प्रोपोगन्डा' पनि नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत हुन सक्ने कुनै आधार छैन । योगका कारण लाखौँ मान्छे शिष्य भएपछि तिनको काँधमा चढेर राजनीतिको शिखरमा पुग्ने योजना रामदेवले गत वर्ष नै सार्वजनिक गरेका हुन् । आफ्नो चुट्कीको भरमा लाखौँ मान्छे कहिले घोप्टी पर्ने, कहिले उत्तानो पर्ने, कहिले सास लिने र कहिले सास थुन्ने गरेको देखेपछि रामदेवलाई राजनीति पनि त्यसैगरी चलाउने रहर चलेको होला । तर, चुट्कीकै भरमा सरकारको सास रोकिदिने योजना बनाएका रामदेवको टेन्टभित्र सरकारले अश्रुग्यास पड्काएपछि अहिले उनको आफ्नै सास रोकिएको छ ।

साम्प्रदायिक विभेद बलियो भएको भारतीय समाजमा रामदेवको राजनीति सफल नहोला भनेर ठोकुवा गर्न नमिल्ला । तर, रामदेवले उठाएका मुद्दा पूर्णतः आधारहीन र हावादारी मात्रै छैनन्, उनको आफ्नै आदर्शभन्दा पनि विपरीत छन् । रामदेवले समाजमा अन्याय र विभेद हटाउन चाहेका हुन् भने उनी आफैँले योगशिविरमा गर्ने विभेद अन्त्य गर्नुपर्ने हो । रामदेवले योगशिविरमा ३० हजार रुपैयाँ तिर्नेलाई आफ्नो ठीक अगाडि, २० हजार तिर्नेलाई त्यसको पछाडि, १० हजार तिर्नेलाई अझ पछाडि र त्योभन्दा कम तिर्नेलाई सबैभन्दा पछाडि आवाज आउने, तर मञ्च नदेखिने ठाउँमा राख्छन् । आफ्ना 'प्यारा' शिष्यलाई पनि प्रथम, दोस्रो, तेस्रो र निम्नस्तरमा वर्गीकरण गर्ने रामदेवले सिंगो भारतलाई विभेदमुक्त गराउँछु भनेर ठोकुवा गर्न सक्छन्, तर विश्वास गर्न सकिँदैन ।

फेरि, भ्रष्टाचार र कालोधनको विरोध गर्दै जनतालाई भोकहडतालमा उतार्ने रामदेवले सबैभन्दा पहिले आफ्नो कमाइको पारदर्शी बनाएको भए उनको राजनीतिमा नैतिक बल पनि बलियो हुन्थ्यो । उनी पटक-पटक नेपाल आउँछन्, तर शिविरबाट उठ्ने पैसा उनले झोलामा बोकेर लैजान्छन् । शिविरका नाममा उठाएको पैसा कर नतिरी लग्नु आर्थिक अपराध हो । तर, यस्तै अपारदर्शी पद्धतिबाट जम्मा गरेको पैसाले रामदेवले मरिससमा टापु नै किनेको दाबी भारत सरकारको छ । मरिससमा टापु सुरक्षित गरेको 'योगी' लाई उनको देशको सरकारले कारबाही गर्छ भने नेपालका कुनै भोगीले चिन्ता गर्नु आवश्यक छैन ।

फेरि, नेपाल र भारतजस्ता देशमा सबैले सबै पेसामा हात हाल्नु अर्को दुःखद् पक्ष हो । नेताको व्यापार र व्यापारीको राजनीति त स्थापित सत्य नै भइसक्यो, त्यसमाथि योगीले पनि सक्रिय राजनीति गर्न खोजेपछि राजनीतिमा बबण्डर हुनु स्वाभाविक हो । रामदेव राजनीति गर्न नपाउने नागरिक होइनन्, तर जबसम्म उनले पार्टी खोल्दैनन्, आफ्नो राजनीति घोषणापत्र जारी गर्दैनन् तबसम्म उनको छद्मभेषी राजनीतिक स्वार्थमाथि प्रश्न उठ्नु स्वाभाविक हो । गेरुवस्त्र लगाएरै रामदेवहरू दिल्लीको सेभेन रेसकोर्स रोड -प्रधानमन्त्रीनिवास) छिर्न खोज्छन् भने पनि सोनिया गान्धी र मनमोहन सिंहहरू कमण्डलु बोकेर हरिद्वार गइहाल्ने छैनन्, त्यस्तो अवस्थामा द्वन्द्व स्वाभाविक हो, जो अहिले भइरहेको छ ।

छद्म राजनीतिक स्वार्थका लागि रामलीला मैदानमा प्रवेश गरेका रामदेव छद्मभेषमै बाहिर निस्कन खोज्दा प्रहरी फन्दामा परे । सिलाएको कपडा जिन्दगीभर नलगाउने कसम खाएका रामदेव अचानक महिलाको 'अम्ब्रेला कट' कुर्ता सुरुवालमा देखिएपछि दुनियाँ छक्क पर्नु स्वाभाविक हो । ५० हजार मान्छेलाई विश्वासमा लिएर हडतालमा उतारेपछि अन्तिमसम्म उनीहरूको नेतृत्व लिनु रामदेवको जिम्मेवारी थियो । तर, आफ्ना शिष्यमाथि प्रहरीले लाठी र अश्रुग्यास चलाउँदा रामदेव महिलाको बीचमा बसेर कुर्ता-सुरुवाल लगाइरहेका थिए । शिष्यहरू स्वामीजी ! स्वामीजी !! भनेर रोइरहेका वेला रामदेव महिलाको बीचमा लुकेर गेटबाट बाहिर निस्कँदै थिए । उनले लोकतन्त्रका लागि शान्तिपूर्ण विरोध गरेका हुन् भने छापामार शैलीको नाटक किन गरे ?

सोनिया गान्धी र मनमोहन सिंहलाई लालकृष्ण आडवाणी र नितिन गडकरीले राजनीतिक आन्दोलन गरेर चुनौती दिएका भए कसको तर्क सही भनेर विश्लेषण गर्नेलाई पनि सजिलो होला । त्यसैगरी योगी रामदेवले कालीबाबा वा पाइलटबाबालाई जस्तोसुकै सांस्कृतिक चुनौती दिएको भए पनि विश्लेषण गर्नेलाई सजिलो हुन्थ्यो । तर, आफ्नो वास्तविक पहिचान अस्पष्ट पारेर रामदेवले राजनीतिलाई पनि जटिल बनाइदिएका छन् । यति हुँदाहुँदै पनि रामदेवको यो शैलीलाई राजनीतिक मानेर स्विकार्ने वा बेइमानी मानेर तिरस्कार गर्ने भारतीय जनताको 'बिजनेस' हो, नेपालीको होइन ।

नयाँ पत्रीका

No comments:

Post a Comment

^ Scroll to Top