Tuesday, June 7, 2011

सजिलो छैन विदेशमा काम, पैसा आउँदा त खुसी लाग्छ, लास आउँदा ...

रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धिसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

आर्थिक समस्याले गर्दा नेपालबाट दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । पर्याप्त दक्षताको अभाव र विभिन्न दुर्घटनामा परी मृत्यु हुनेहरूको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । रोजगारीका लागि गएका नेपाली कामदारमध्ये दैनिक दुईदेखि तीनजनाको लास नेपाल आउने गरेको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्यामा वृद्विसँगै मृत्यु हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष टङ्क रावतले कामका लागि विदेश जाने नेपालीमध्ये दैनिक दुईदेखि तीनजनाको लास नेपालमा आउने गरेको जानकारी दिनुभयो ।

पर्याप्त तालिम, सीप र दक्षता अभावका कारण करिब अढाइ वर्षमा ६६४ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक मुकुन्द अधिकारीले जानकारी दिनुभयो । सडक दुर्घटना, हावापानी परिवर्तनका कारण एसी प्रयोग गर्दा, मेसिनको काम गर्दा नेपाली श्रमिकले ज्यान गुमाउने गरेका छन् ।

तालिम नदिने र नलिने समस्याले दुर्घटना हुने गरेको भन्दै यसका लागि रोजगारीमा पठाउने र जाने दुवै पक्ष जिम्मेवार हुनुपर्ने निर्देशक अधिकारी बताउनुहुन्छ । कम खर्च गरी आर्थिक लाभ गर्न वैदेशिक रोगजार कम्पनीहरूले तालिमलाई कम महìव दिई छोटो समयमा सक्ने र तालिम लिनेहरू पनि त्यति सक्रिय नहुँदा विदेशमा दुर्घटना हुने गरेको बोर्डले जनाएको छ ।

मञ्चका उपाध्यक्ष रावतले रोजगारीमा जानेहरूले तालिममा सक्रियता नदेखाउँदा घटना वृद्धि भएको स्वीकार्नुभयो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष ०६५/०६६ मा ८७ जना, ०६६/०६७ मा ३९८ जना र ०६७/०६८ को पहिलो चौमासिकमा १७९ जना मृतकका परिवारलाई राहत प्रदान गरिसकेको जनाएको छ । नेपालबाट श्रम सम्झौता गरी गएका श्रमिक मृत्यु भएमा उनीहरूका मात्र तथ्याङ्क बोर्डमा रहने भएकाले विदेशमा कति नेपाली श्रमिकको मृत्यु हुने गरेको छ भन्ने आधिकारिक तथ्याङ्क भने कुनै पनि सरकारी निकायमा छैन ।

गैरकानुनी तरिकाले विदेश जानेहरूको सङ्ख्या १२ देखि १३ लाखसम्म रहेको र उनीहरूको मृत्यु भएको तथ्याङ्क सरकारले नराख्ने भएकाले सबै मृतक श्रमिकको तथ्याङ्क नभएको बोर्डका निर्देशक अधिकारीले बताउनुभयो । उहाँले बोर्डले पनि कानुनी प्रावधान पुर्‍याएर गएकाहरूलाई मात्र राहत दिने जानकारी दिनुभयो । सबै मृतकको तथ्याङ्क सङ्कलनका लागि बोर्डको पर्याप्त स्रोत नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ । बोर्डले रोजगारीका लागि जानेको तथ्याङ्क दिनसक्नेतर कति फर्किए, त्यसको तथ्याङ्क दिन नसकिने जनाएको छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष रावत गैरकानुनी तरिकाले विदेश गएका नेपालीको लास नेपालमा पुर्‍याउने व्यवस्था सरकारले गर्न नसकेको भन्दै त्यसको व्यवस्थाका लागि आग्रह गरिएको बताउनुहुन्छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको रेकर्ड अनुसार आर्थिक वर्ष ०६६/०६७ मा पुरुष ३७८ र महिला २० को मृत्यु भएको छ । जस अनुसार सबैभन्दा बढी साउदी अरबमा १२४ जनाको मृत्यु भएको छ ।

विदेशमा गई ज्यान गुमाएका कामदारलाई जनही एक लाख रुपियाा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । करार अवधिभित्र कुनै दुर्घटना भएमा मात्र क्षतिपूर्ति दिने गरिन्छ ।

गोरखापत्र

No comments:

Post a Comment

^ Scroll to Top