Monday, June 6, 2011

दीन दुःखीका कलाकार चार्ली चैप्लिन.........


‘साँच्चिकै हाँस्न चाहनेले आफ्ना दुःखसित खेल्न सक्नुपर्छ,’ भन्थे चार्ली च्याप्लिन । उनले आफ्ना दुःख-पीडासित खेल्दै विश्वयुद्धका महाविनाशका कारण हाँस्न बिर्सेका लाखौँ मानिसलाई हँसाए । महामन्दी (सन् १९३०-४० सम्मको भयानक आर्थिक मन्दी । भनिन्छ- यस महामन्दीमा युरोपेली सरकारहरू यति निरीह बनेका थिए कि उनीहरू नागरिकलाई ‘आत्महत्या गर्छै भने डोरी किनिदिन सक्छौँ, तर काम भने दिन सक्दैनौँ,’ भन्न विवश थिए ।) द्वारा बेस्कन चुटिएका संकटग्रस्त लाखौँ अनुहारमा कहिलेकाहीँ हाँसोका रेखा कोरिदिन्थे चार्ली च्याप्लिन । उनका सिनेमा श्यामश्वेत भए पनि तिनले धेरैका जीवनमा प्रशस्त रंग भरिदिएका थिए । उनीबाट त्यसवेलाका अमेरिकी र युरोपेली नागरिक यति प्रभावित थिए कि उनीहरूले चार्लीमार्फत रुग्ण, ध्वस्त र अस्तव्यस्त संसारलाई हेर्ने नयाँ दृष्टिकोण बनाएका थिए, जो भविश्यप्रति आशावादी थियो ।

करोडौँ मानिसका हृदयमा महानतम् कलाकारका रूपमा स्थापित भए पनि चार्ली च्याप्लिन भने आफूलाई केवल जोकर ठान्थे । ‘म केवल एक विदूषक हुँ,’ उनी भन्ने गर्थे, ‘र, विदूषक भएकै कारण म कुनै राजनीतिज्ञभन्दा उँचो धरातलमा छु ।’ कलाकार, निर्देशक र संगीतकार चार्ली च्याप्लिन विश्वसिनेमा इतिहासका सर्वश्रेष्ठ मौलिक सिर्जनाकारहरूमध्ये एक मानिन्छन् । १६ अपि्रल १८८९ मा लन्डनको एक गरिब इलाकामा जन्मेका थिए चाल्र्स स्पेन्सर च्याप्लिन जुनियर । उनका पिता चाल्र्स स्पेन्सर च्याप्लिन सिनियर गायक थिए भने आमा हाना हिल च्याप्लिन प्रतिभाशाली गायिका, कलाकार र पियानोवादक थिइन् । प्रतिभाशाली बाबुआमाका सन्तान चाल्र्सले बोल्नुभन्दा पहिले गाउन र हिँड्नुभन्दा पहिले नाच्न सिके भनिन्छ ।

उनका बाबु केही हदसम्म सफल गायक थिए । र, दुःख-सुख परिवारलाई दुई छाक खुवाउँथे । तर, चार्लीको जन्मपछि उनी रक्सीमा यति डुब्न थाले कि उनको गायन र गृहस्थीको जहाज डुब्न थाल्यो । हदसम्मको रक्सीको पोतारी र अनुत्तरदायी भएपछि उनकी आमा हानाले बाबु च्याप्लिन सिनियरलाई छाडिदिइन् । तर, मानसिक रूपमा विक्षिप्त उनकी आमाको सिंगो जीवन पागलखाना र मानसिक अस्पताल भित्र/बाहिर गर्दै बितेको थियो । चार्ली र उनका सौतेला भाइ सिड्नीको बाल्यकाल अनाथलय र सडकमा बितेको थियो । आमा असाध्यै मायालु भए पनि उनको मानसिक स्थितिमा औँसी-पूर्णे हुने हुनाले चार्ली र सिड्नीले पाउनुसम्मको हन्डर पाए । तर, हाना सद्दे भएको वेला उनको ममताको छायाँमुन्तिर चार्ली र सिड्नी संसारका सबभन्दा सुखी बालक हुन्थे । तर, हानाको सद्देपन त्यति लामो आयुको हुँदैनथ्यो । एक महिना उनी सद्दे भइन् भने दुई महिना बौलाही हुन्थिन् ।

अनाथलयमा हुँदा चार्ली र सिड्नीले दुई चिज पेटभरि खान पाउँथे- गाली र कुटाइ । खाना भने कहिले पाउँथे, कहिले पाउँदैनथे, धेरैजसो आधापेट पाउँथे । त्यसैले उनीहरूका लागि भोक मार्ने सर्वश्रेष्ठ तरिका थियो- गल्ली र चोकमा उछलकुद गर्नु ।

चार्ली च्याप्लिनको कलाले कलिलै उमेरदेखि पारखीहरूको वाहीवाही लुट्न थाल्यो । नाम या प्रसिद्धि भनेको कुन जन्तुका नाम हुन् थाहा नपाउँदै चार्लीलाई उनका पारखीहरूले बताइदिएका थिए- एक दिन तिमी संसारको सबभन्दा प्रसिद्ध मानिस हुनेछौ ।

पाँच वर्षको उमेरमा चार्लीको प्रसिद्धितिरको यात्रातर्फ पहिलो पाइला बढ्यो । स्टेजमा गाउँदागाउँदै उनकी आमा बिरामी भइन्, उनको गला बस्यो । दर्शकका गालीका पोर्रा छुट्न थाले । उनी स्टेजबाट भागिन् । आमाबाट नाच्न, गाउन, अभिनय गर्न र पियानो बजाउन थोरबहुत सिकेका फुच्चे चार्ली ‘स्थिति सम्हाल्न’ स्टेजमा आए । र, यति राम्रो गाइदिए कि दर्शकले स्टेजमा पैसाको वषर्ा गर्न थाले । फुच्चे चार्ली धमाधम पैसा टिप्दै आफ्नो टोपीमा हाल्न थाले । यसरी पाँच वर्षको उमेरमा सुरु भएको तालीको गडगडाहटले उनलाई जीवनपर्यन्त छोडेन ।


चार्ली १२ वर्षको हुँदा उधुम रक्सी खाने उनका पितालाई रक्सीले खाइदियो । छुट्टिए पनि श्रीमान्सँग गहिरो प्रेमभाव राख्ने उनकी आमा त्यसपछि झन् साह्रो विक्षिप्त भइन् ।

औपचारिक शिक्षाका नाउँमा चार्लीले जम्माजम्मी दुई वर्ष स्कुल पढे । कहिले घर, कहिले अनाथलय त कहिले सडक हुँदै उनी हुर्किए ।

खासमा, भोकग्रस्त र कष्टकर बाल्यकालले नै चार्ली च्याप्लिनलाई महान् कलाकार बनाएको थियो । उनले स्टेज, सर्कस र सिनेमाको पर्दामा निर्वाह गरेका धेरै भूमिका उनले वास्तविक जीवनमै निर्वाह गरेका थिएः घर, जागिर, पैसा, केही पनि नभएको आवारा (द ट्रयाम्प) होस् या द ग्रेट डिक्टेटरको नाई । रोजीरोटीको खोजीमा उनी स्टेसनरी स्टोर, काँच कारखाना, प्रेस, क्लिनिक आदि धेरै ठाउँमा काम गर्न पुगे ।

स्टेजमा खुद्रा-मसिना र हास्यभूमिका गर्दागर्दै १७ वर्ष पुगे उनी । १७ वर्षे किशोरलाई बालकलाकारका रूपमा काम गर्न असहज लाग्नु स्वाभाविकै थियो । त्यसैले सन् १९०६ मा प्यारोडी कलाकारका रूपमा उनी ‘द केसी सर्कस’ मा आबद्ध भए, जहाँ उनीभित्रको हास्यकलाकारले फुल्ने र फक्रने मौका पायो ।

सन् १९०७ मा चार्ली कार्नाे प्यान्टोमाइम ट्रुपको सदस्य बने । प्यान्टोमाइम भनेको विनाबोली हाउभाउले हास्यसिर्जना गर्ने पुरानो कला हो । यस समूहमा आबद्ध भएर क्यानाडा र अमेरिकाको भ्रमण गरेपछि उनी एकाएक चर्चित कमेडियन भए ।

सन् १९१३ मा चार्ली च्याप्लिनले अमेरिकी फिल्म कम्पनी किस्टोनसँग प्रतिहप्ता एक सय २५ डलर पाउने गरी आबद्ध भए । र, १९१४ मा उनले आफ्नो पहिलो फिचर फिल्म मेकिङ ए लिभिङ बनाए । अब चार्लीका सुदिन सुरु भए ।

सन् १९१५ मा इसानी फिल्मस्ले उनलाई एक वर्षमा १४ वटा फिल्म बनाउने गरी प्रतिहप्ता एक हजार दुई सय ५० डलरमा अनुबन्ध गर्‍यो । यसैवर्ष उनी द ट्रयाम्पमा ट्रयाम्प (आवारा) को भूमिकामा देखिए । यस फिल्मलाई तितोमिठो कमेडीका रूपमा असाध्यै मन पराइयो । ट्रयाम्प घरबारविहीन, आफन्तविहीन नितान्त एक्लो चरित्र हो, जो चकचके छ र वेलाबखत गम्भीर हुन्छ । होचो कदको यो चरित्र हाँसउठ्दो जुँगा राख्छ, ह्वाल्र्याङ परेको सुट लगाउँछ, लठ्ठी बोक्छ र पेन्गुइन हिँडेजस्तो ढल्कीढल्की हिँड्छ । यस चरित्रको लवाइले ढलेको (सडकमा आइपुगेको) सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्छ । द ट्रयाम्प आएको दुई वर्षभित्र चार्ली च्याप्लिन अमेरिकाका प्रसिद्ध मानिसहरूमध्ये एक हुन पुगे ।

सन् १९१६ मा उनी हप्ताको दस हजार डलर कमाउने सबभन्दा महँगा कलाकार भइसकेका थिए । त्यसको एक वर्षपछि फस्र्ट नेसनल एक्जिबिट सर्किटले उनलाई वाषिर्क १० लाख ७५ हजार डलरमा अनुबन्धित गर्‍यो । धनी, विख्यात र अविवाहित चार्ली नवप्रवेशी सोह्र वर्षीय कलाकार मिल्ड्रेड हयारिससँग आकषिर्त भए र सन् १९१८ मा उनीहरूले विवाह गरे ।

चार्लीका फिल्म यति लोकपि्रय हुन थालेका थिए र उनको बजार मूल्य यति उच्च हुन थालेको थियो कि कुनै पनि स्टुडियो र कम्पनीले उनलाई आबद्ध गर्न नसक्ने स्थिति आएको थियो । अब चार्ली आफैँ निर्माता बने र आफूले निर्माण गरेको फिल्ममा मात्रै अभिनय गर्न थाले । त्यसवेलाका चर्चित कलाकारद्वय मेरी पिकफोर्ड, डगलस फेयरब्यांक्स र निर्देशक डिडब्लु गि्रफिथसँग मिलेर उनले युनाइटेड आर्टिस्टस भन्ने समूह बनाए । च्याप्लिन आफ्ना सहकर्मीसित यति आज्ञाकारिताको अपेक्षा गर्थे कि उनलाई कसैले नाइँ भनेको मन पर्दैनथ्यो । तानाशाहीले जस्तो व्यवहार गरे पनि उनी आफ्ना सहकर्मीको साहै्र ख्याल गर्थे । र, उनीहरू पनि उनलाई मान्थे, माया गर्थे ।

च्याप्लिनका अधिकांश फिल्मले उनलाई प्रसिद्धि र विवाद दुवै दिलाए । द किड, द गोल्ड रस, सिटी लाइट्स, मोडर्न टाइम्स, द ग्रेट डिक्टेटर, लाइम लाइटजस्ता फिल्मद्वारा उनले अकल्पनीय प्रसिद्धि आर्जन गरे । अनि विवाद पनि ।

अमेरिका आएर बस्न थालेको ४० वर्षपछि उनलाई कम्युनिस्ट भएको आरोप लगाइयो । उनलाई व्ाामपन्थी विचारधाराप्रति सहानुभूति राख्ने मान्छेका रूपमा अमेरिकाले हेर्न थाल्यो । उनलाई वामपन्थी पार्टीहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाइयो । अमेरिकी गुप्तचर संस्था एफबिआई हात धोएर च्याप्लिनका पछाडि लाग्न थाल्यो । कतिसम्म भने च्याप्लिनका गतिविधिबारेमा एफबिआईले करिब १९०० पृष्ठको फाइल बनायो, तर उनी कम्युनिस्ट भएको प्रमाणित गर्न सकेन । च्याप्लिन आफू कम्युनिस्ट नभएको स्पष्टीकरण दिँदादिँदा हत्तु भएका थिए । उनी भन्थे, ‘म क्रान्ति गर्न चाहन्न । अलि धेरै फिल्म बनाउन चाहन्छु र मानिसलाई मनोरञ्जन दिन चाहन्छु, बस् ।’

उनलाई एफबिआईले यहुदी भएको आरोप पनि लगायो । उनका सौतेला भाइ सिड्नी ‘तीन चौथाइ’ यहुदी भएकाले एफबिआईले उनलाई यहुदी भनेको थियो ।

एफबिआई र चार्ली च्याप्लिनबीच वर्षैँसम्म किचकिच चलिरहयो । अन्त्यमा बाध्य भएर चार्लीले अमेरिका छाडे र स्वीटजरल्यान्ड गएर बसे । पछि, सन् १९७२ मा उनलाई एकेडेमी अवार्डबाट सम्मानित गरियो ।

धेरैसँगको असफल प्रेमसम्बन्धपछि सन् १९४१ मा उनले उनासित विवाह गरे, जसले स्वीटजरल्यान्डमा सन् १९७७ मा उनको मृत्यु नहुन्जेलसम्म उनलाई साथ दिइन् । उनका फिल्म दुःखी, पीडित र गरिबका निम्ति थिए, जसका हाँसो शव, युद्ध र आर्थिक महामन्दीले खोसेको थियो ।

Shilauti.Wordpress.Com

No comments:

Post a Comment

^ Scroll to Top