Thursday, June 23, 2011

अझै चर्चा छ 'बोर्डफस्र्ट’को

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन्


सरकारले ०६२ पछि एसएलसी परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई 'बोर्ड फस्र्ट' घोषणा गर्न छाडे पनि यसको चर्चा भने कायमै छ । सर्वोत्कृष्ट (बोर्ड फस्ट) घोषणाले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको भन्दै सरकारले पछिल्लो समयमा यस्तो व्यवस्था परिवर्तन गरेको हो । सर्वोत्कृष्ट घोषित भएकाहरू भने अधिकांश अहिले रोजगारी तथा अध्ययनका लागि विदेशमा छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन् । उनीहरूमध्ये धेरैजसो विदेशमा छन् । केहीले विदेशमा बसेर पढाइलाई निरन्तरता दिएका छन् भने केही जागिर खाँदै छन् । चिकित्सापछि इन्जिनियरिङ पढ्नेको जमात ठूलो छ ।

प्रजातन्त्र पुनस्र्थापनापहिलेका बोर्डफस्ट कोही सामाजिक र कोही राजनीतिक क्षेत्रमा लागेर समेत ख्याति कमाएका छन् । एसएलसी सर्वोत्कृष्टमध्ये ०२६ सालका एसएलसी सर्वोत्कृष्ट डा. बाबुराम भट्टराई अहिले सबैभन्दा बढी चर्चामा छन् । डा. भट्टराई यसअघिको सरकारका अर्थमन्त्री भइसकेका छन् । अर्थमन्त्री हुँदा उनले गरेको कामबाट सन्तुष्ट हुनेको जमात ठूलो छ । विदेशमा अध्ययन गरेर पनि नेपालमा फर्केर राजनीतिमा लागेका व्यक्तित्व हुन्, उनी । इन्जिनियरिङ पढेका भट्टराई अहिले राजनीतिक क्षेत्रमा चर्चित छन् ।

०२४ सालका सर्वोत्कृष्ट डम्बरबहादुर नेपाली चिलिमे जलविद्युत् परियोजनाका संस्थापक हुन् । परियोजना सफल भएपछि उनी एकाएक चर्चामा आएका थिए । आफ्नो कामले यसरी चर्चामा आउने सर्वोत्कृष्टहरू कम छन् । एसएलसीको बोर्डफस्टहरू सरकारी जागिरमा निकै कम छन् । सरकारी जागिरमा बोर्डफस्र्ट शून्य हुनबाट बचाएका छन्, किशोर थापाले । ०३१ सालको एसएलसीका सर्वोकृष्ट थापा अहिले निर्वाचन आयोगमा सचिव छन् ।

०५० सालकी सर्वोत्कृष्ट गरिमा राणा हाल बेलायतमा छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरेकी थिइन् । एमबिबिएस नपढ्ने थोरै बोर्डफस्टमध्येकी उनी एक हुन् । बेलायतमा उनको अध्ययन अध्यापनभन्दा पनि घरगृहस्थी प्राथमिकतामा छ ।

सरकारले ०५१ सालमा सर्वोत्कृष्ट विद्यार्थीको नामै घोषणा गरेन । ०५२ सालको एसएलसीमा सर्वोत्कृष्ट भएका आयाम लामिछाने अहिले जापानमा छन् । वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरबाट एसएलसी दिएका लामिछानेले सिभिलतर्फबाट त्यहाँ अध्ययन गरेका थिए । आयामका पिता पदमराज लामिछानेका अनुसार उनी अहिले जापानमा छन् । एसएलसी पास गरेर बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेपछि उनी छात्रवृत्तिमा जापान गएका थिए । पदमराजका अनुसार आयाम अहिले टोकियो विश्वविद्यालयमा पिएचडी गर्दै छन् ।

विश्वबन्धु बगाले ०५३ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसीमा सर्वोत्कृष्ट भएका थिए । सेन्ट जेभियर्समा साइन्स लिएर प्लस टु गरेपछि बगालेले पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका थिए । एमबिबिएस सकेपछि उनी केही समय हेल्पिङ ह्यान्ड्स अस्पतालमा बिरामी जाँचेर बसे । पछि उनी अन्तर्राष्ट्रिय आप्रवासी संगठनको -आइओएम) मेडिकल सेक्टरमा आबद्ध छन् । बिरामी लिएर अमेरिका जाने-आउने काममा व्यस्त रहने गरेको बगाले बताउँछन् ।

०५४ सालमा सिद्धार्थ इंग्लिस मावि काभ्रेबाट एसएलसीमा सर्वोत्कृष्ट भएका मदनकुमार बडाल अहिले अमेरिकामा छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट एमबिबिएस सकेका थिए । उनले एमबिबिएसपछि चीनमा एक वर्ष अध्यापनसमेत गरेका थिए ।

०५५ सालका सर्वोत्कृष्ट वीरेन्द्र घिमिरे एसएलसीपछि नै विदेशमा छन् । भिएस निकेतन स्कुलमा पढेर सर्वोत्कृष्ट भएका घिमिरेले एसएलसीलगत्तै बेलायतमा छात्रवृत्ति पाएका थिए । बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढेपछि अहिले उनी जर्मनीमा जागिरे जीवन बिताइरहेका छन् ।

०५६ की सर्वोत्कृष्ट सुम्निमा सिंह अहिले पाकिस्तानमा छिन् । पारिवारिक स्रोतका अनुसार उनी त्यहाँ चिकित्साशास्त्र पढ्दै छिन् । सुम्निमा साहित्यिक गतिविधिमा पनि संलग्न छिन् ।

०५७ सालमा झापाका स्वच्छन्द सोङमेन सर्वोत्कृष्ट भएका थिए । एसएलसीपछि ह्वाइटहाउसमा साइन्स पढेका उनले त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस अध्ययन पूरा गरेका छन्् । सोङमेनका बाबु अमरसिंहका अनुसार जापानमा पाँचवर्षे छात्रवृत्ति पाएका उनी हाल उतै छन् । एमडी र पिएचडीका लागि उनले मियाजाकी विश्वविद्यालयबाट छात्रवृत्ति पाएका हुन् ।

पोखराका सुयोग भण्डारी ०५८ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट भएका थिए । उनी अहिले अमेरिकामा छन् । पोखराको शिशु निकेतन स्कुलबाट एसएलसी दिएका भण्डारीले काठमाडौंको बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेका थिए । शिशु निकेतन स्कुलले दिएको जानकारीअनुसार उनी अहिले बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छन् ।

०५९ सालका सर्वोत्कृष्ट विशाल ज्ञवाली र ०६० का विशाल खनाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबिबिएस पढ्दै छन् । यी दुवैले रूपन्देहीबाट एसएलसी दिएका थिए । ज्ञवालीले न्यु होराइजन र खनालले एभरेस्ट बोर्डिङ स्कुलबाट एसएलसी दिएका हुन् । ज्ञवालीले एसएलसीपछि ह्वाइटहाउस इन्टरनेसनल र खनालले क्यास्पियन भ्याली कलेजमा प्लस टु अध्ययन गरेका थिए ।

समीर श्रेष्ठ ०६१ मा काभ्रे माविबाट एसएलसीमा सर्वोत्कृष्ट भएका हुन् । उनी एसएलसीमा बोर्डफस्ट घोषित अन्तिम विद्यार्थी हुन् । समीर अहिले काठमाडौं विश्वविद्यालयमा एमबिबिएस दोस्रो वर्षका विद्यार्थी हुन् ।

०४६ का राजन शर्मा र ०४८ का प्रवीणदेव पाठकलाई पनि स्वदेशले रोक्न सकेन । ०६२ सालयता सरकारी तहबाट एसएलसीमा सर्वोत्कृष्ट विद्यार्थीको नाम घोषणा गर्न छाडिएको छ । अनौपचारिक रूपमा भने हरेक वर्षजसो बोर्डफस्टको नाम सञ्चारमाध्याममार्फत बाहिर आई नै रहेको छ ।

त्र भवानीश्वर गौतम

हालसम्मका बोर्डफस्र्ट

१९९० पुष्पभक्त मल्ल

१९९१ यदुनाथ खनाल

१९९२ गोपालप्रसाद रिमाल

१९९३ श्यामकृष्ण गौतम

१९९४ चन्द्रदेव ओझा

१९९५ तीर्थप्रसाद प्रधान

१९९६ भरतप्रसाद प्रधान

१९९७ भुवनलाल प्रधान

१९९८ रेणुलाल सिंह

१९९९ तीर्थबहादुर प्रधान

२००० ज्ञानमणि आचार्य दीक्षित

२००१ विष्णुप्रसाद धिताल

२००२ रञ्जनमान शर्मा

२००३ उपेन्द्रमान मल्ल

२००४ भवानीशंकर राजवंशी

२००५ दामोदरप्रसाद कायलाद

२००६ शैयादमोहन शाह

२००७ नन्दकिशोर अग्रवाल

२००८ महवीरप्रसाद अग्रवाल

२००९ बाबुलाल अग्रवाल

२०१० पुरुषोत्तमनारायण श्रेष्ठ

२०११ दमलाल श्रेष्ठ

२०१२ रामबाबु शर्मा

२०१३ आनन्दमानसिंह अमात्य

२०१४ दिव्यरत्न शाक्य

२०१५ प्रकाशचन्द्र जोशी

२०१६ शिवप्रसाद अधिकारी

२०१७ रमेश शर्मा भट्ट

२०१८ प्रचण्डराज शाह

२०१९ रमेशानन्द वैद्य

२०२० दीपक बज्राचार्य

२०२१ भेषराज कँडेल

२०२२ महेन्द्रनाथ शर्मा

२०२३ प्रकाश मानन्धर

२०२४ डम्बरबहादुर नेपाली

२०२५ भक्तबहादुर आले

२०२६ बाबुराम भट्टराई

२०२७ आंगिता छिरिङ शेर्पा

२०२८ द्रेनप्रकाश रसाइली

२०२९ राजेन्द्रकुमार कवा

२०३० प्रमोदराज पोखरेल

२०३१ किशोर थापा

२०३२ रामचन्द्र शर्मा

२०३३ बलराम पाण्डे

२०३४ अनिलबहादुर तुलाधर

२०३५ विजयकृष्ण श्रेष्ठ/सतिस बजाज

२०३६ उत्तमकृष्ण श्रेष्ठ

२०३७ द्वारिका श्रेष्ठ

२०३८ अच्यूतबाबु तिवारी

२०३९ लुना भट्ट

२०४० निशा धौभडेल

२०४१ शम्भुशरण शाह

२०४२ राजनलाल प्रधान

२०४३ दीपककुमार सिंह

२०४४ प्रमोद आचार्य

२०४५ राजेन्द्र गुरुङ

२०४६ राजन शर्मा

०४७ मानव भट्टराई

०४८ प्रवीणदेव पाठक

०४९ प्रकाश थपलिया

०५० गरिमा राणा

०५१ .................

०५२ आयाम लामिछाने

०५३ विश्वबन्धु बगाले

०५४ मदनकुमार बडाल

०५५ वीरेन्द्र घिमिरे

०५६ सुम्निमा सिंह

०५७ स्वच्छन्द सोङमेन

०५८ सुयोग भण्डारी

०५९ विशाल ज्ञवाली

०६० विशाल खनाल

०६१ समीर श्रेष्ठ

०६२देखि सर्वोकृष्ट

घोषणा हुन छाड्यो ।

Nayapatrika

No comments:

Post a Comment

^ Scroll to Top