Thursday, March 17, 2011

काठमाडौँमा भूकम्प गइहाल्यो भने....

भूकम्पबाट हुने मानवीय क्षतिका हिसाबले विश्वकै सबैभन्दा जोखिमपूर्ण सहर काठमाडौंमा अकस्मात त्यस्तो त्रासदी आइहाल्यो भने? प्रहरी प्रधान कार्यालयका एसएसपी रणबहादुर चन्दका अनुसार ६० हजार संख्यामा रहेका प्रहरीसँग आपतकालीन स्थितिमा उद्धार गर्न हेलिकप्टर त परै जाओस्, तत्काल काठ र रुख काट्न आवश्यक 'चेन सअ' पनि छैन।

'उपत्यकामा १५ तल्लाभन्दा ठूला भवन बनिरहेका छन् तर चौथो तलामाथिको आगो निभाउन दमकल र क्रेन सरकारसँग छैन,' भूकम्पसम्बन्धी एक कार्यक्रममा चन्दले बुधबार भने, 'आपत आइहाले सरकारी संयन्त्रसँगै लाखौं जनता एकैचोटि उद्धारमा जुट्नेछन् भन्ने आशामात्रै हामीसँग छ।'

सुरक्षाकर्मीसँग न गतिला क्रेन छन्, न पर्याप्त डोजर। न दमकल, न क्रंकिट फुटाउने स्क्याभेटर। भूकम्पपछिको अवस्थासँग जुध्न चाहिने ससाना उपकरण पनि छैनन्।

युरोपेली आयोगले छ वर्षअघि गरेको एक अध्ययनअनुसार काठमाडौं भूकम्पले हुने मानवीय क्षतिका दृष्टिले संसारकै सबैभन्दा जोखिमयुक्त सहर हो। लगातारको भूकम्पले ध्वस्त भएको दोस्रो जोखिमपूर्ण सहर मध्य अफ्रिकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा काठमाडौं छ गुनाबढी खतरापूर्ण रहेको अर्को सरकारी अध्ययनमा उल्लेख छ।

सशस्त्र प्रहरी निरीक्षक नवराज तामाङले कार्यक्रममा बताएअनुसार १३ हजार जवानले दैवी प्रकोप विपद व्यवस्थापन तालिम पाए पनि उपकरण अभाव छ। सशस्त्रले चितवन कुरिनटारमा आपतकालीन उद्धार तालिमकेन्द्र बनाए पनि त्यस्तो अवस्थामा कंक्रिट संरचना काट्न चाहिने 'रोटरी रेस्क्यु सअ' जस्ता साना उपकरण पनि नभएको उनले जानकारी दिए। कंक्रिट काट्न प्रयोग हुने यो यन्त्रलाई जापानमा १ लाख ५० हजार रूपैया पर्ने उनले बताए।

सशस्त्रले २ हजार ५ सयको एक जत्थालाई आपतकालीन उद्धारका लागि जुनसुकै बेला परिचालन गर्ने पञ्चवर्षीय योजना बनाएको छ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका प्राविधिक गणेश जिमीका अनुसार नेपाल भारतीय र तिब्बती प्लेट जोडिएको सन्धिस्थल भएकाले सारा मुलुक नै भूकम्पीय जोखिममा छ।

आपतकालीन उद्धारका लागि काठमाडौं महानगरपालिकामा २ सय ६, महानगरपालिकाबाहिर २ सय ३१ र ललितपुर उपमहानगरपालिकामा १ सय ७७ खुला ठाउँ पहिचान गरेर प्रयोग गर्न स्थानीयसँग सहमति भएको समाजले जानकारी दिएको छ। उसका अनुसार काठमाडौंका ९० प्रतिशत भवन भूकम्पबाट बच्न नसक्ने खालका छन्।

गृह मन्त्रालय र जाइकाले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनका अनुसार नब्बे सालको ८ दसमलब ४ रेक्टरस्केलको भूकम्प दोहोरिए उपत्यकामा मात्र ४० हजार मानिसको मृत्यु हुने, ९५ हजार घाइते हुने र ६० प्रतिशतभन्दा बढी घर ध्वस्त हुने सम्भावना छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार अव्यवस्थित सहरीकरणले क्षतिको मात्रा बढाउने छ। 'भएका जोखिम घटाउने र सम्भावित खतराबाट बच्न पूर्वतयारी गर्न भने सकिन्छ,' उनले भने।

चट्टानरहित भूबनावट, निर्माण आचारसंहिताविपरीत बनेका अधिकांश भवन, सहरी क्षेत्रको जनघनत्व पाँच गुना बढी, साँघुरा गल्ली र सडक, व्यवस्थापनसम्बन्धी सामग्री, ज्ञान र पर्याप्त उद्धार स्थान अभावले काठमाडौं विश्वकै अत्याधिक जोखिमक्षेत्र बनेको हो।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

^ Scroll to Top