Tuesday, March 8, 2011

सँगै बाँच्ने सँगै मर्ने प्रेमीले मृत्यु दिए


कुनै प्रेमीले आफ्नी मायालुलाई बिहेको प्रस्ताव राख्दा के मात्रै नभन्ला ? सपनाको घर सजाउनेदेखि लिएर आकाशको तारै झारिदिनेसम्मका कुरा, हैन ? नभए पनि कम्तीमा 'सँगै बाँच्ने सँगै मर्ने' कुरा त गरेकै हुन्छ ।

झापाकी युवती तारा गुरागाईंलाई पनि उनका 'प्रेमी' ले त्यसै भनेका थिए । तर वास्तविकतै नबुझी विश्वासमा परेकी तारालाई प्रेमको नाटक रच्न पोख्त भइसकेका युवक तुलाराम खड्काले माया होइन, मृत्यु दिए । झापाकै पृथ्वीनगरका खड्काले गत पुस १६ गते बिर्तामोडबाट काठमाडौं जाने भन्दै भगाएर तारालाई एक साता नबित्दै जनकपुरस्थित एक होटलमा लगी हत्या गरिदिए ।

खड्काको प्रेममा परेकी ताराले भागेर दमक पुगेपछि घरमा भाउजूलाई फोन गरी आफू बिहे गरेर हिँडेको बताएकी थिइन् । त्यसपछि मोबाइल अफ गरेर एक साताभन्दा बढी उनी सम्पर्कविहीन भएपछि आफन्त खोजी गर्दै काठमाडौं आएका थिए । सम्भावित सबै ठाउँमा खोज्दा पनि फेला नपरेपछि युवतीका दाइले महानगरीय प्रहरी अपराध महाशाखामा लिखित उजुरी दिएका थिए ।

'टेलिफोन नम्बर र फोटो पाएपछि हामीले त्यो युवकलाई फोन गरेर युवतीबारे सोध्यौं,' अपराध महाशाखाका एक अधिकृतले भने, 'तर ऊ भागेर हिँड्न थाल्यो । सम्पर्कमा आउन छाडेपछि फोनका आधारमा पक्राउ गर्‍यौं ।' इटहरीमा पक्राउ परेका खड्कालाई प्रहरीले ताराको हत्या भएको जिल्ला धनुषा ल्याएको छ । सुरुमा हत्याको अभियोग अस्वीकार गरे पनि युवतीको तस्बिर देखाएपछि उनले छल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाबाट साथ लिएर हिँडेकै दिन खड्काले ताराको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । 'हत्याको पूर्वयोजना अनुसार नै खड्काले अर्कै व्यक्तिको नाममा होटलको कोठा लिएको देखिएको छ,' धनुषाका प्रहरी उपरीक्षक दिनेश अमात्यले भने, 'होटलमा आफ्नो परिचय, सम्पर्क नम्बर सबै गलत लेखाएका रहेछन् ।'

उनीहरू मानकी होटलको ३०३ नम्बरको कोठामा बसेका थिए । खड्काले कोठा सरोज रिजालको नाममा बुक गराएका थिए ।

रिसेप्सनमा टिपाइएको टेलिफोन नम्बर प्रयोगमै थिएन । 'घटना पूरै नियोजित छ,' अमात्यले भने, 'नत्र नक्कली परिचय दिनु जरुरी थिएन ।' होटलमा बेवारिसे शव फेला परेपछि सबै जिल्ला प्रहरी कार्यालयहरूमा फोटो पठाइएको उनले जनाए । 'त्यसैका आधारमा युवतीका आफन्तले शव सनाखत गरेका हुन्,' उनले भने ।

ताराका दाइ भीम गुरागाइर्ंले बहिनी र खड्काको तस्बिरसहित अपराध महाशाखा काठमाडौंमा उजुरी दिएका थिए । 'बहिनीको कोठाबाट भागेका युवकको तस्बिर फेला पारेका रहेछन्,' अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले भने । आपराधिक पृष्ठभूमिका ३३ वषर्ीय खड्काले भने प्रेम सम्बन्ध गहिरो हुँदै गएपछि ताराले बिहे गर्न कर गरेकाले उनको हत्या गर्नुपरेको प्रहरीलाई बयान दिएका छन् । उनी व्यावसायिक 'किलर' रहेको प्रहरीको दाबी छ ।

खड्काले २०५१ मा झापाका कृष्णकुमार राईलाई खुकुरी हानेर हत्या गरेकामा १० वर्ष कैद सजाय पाएका थिए । २०६१ सालमा माओवादीले इलाम जेलमा आक्रमण गरेको मौका छोपी भागेका थिए । त्यसपछि सामान्य नागरिकसरह बस्दै आएका खड्काले २०६३ मा ताप्लेजुङकी अम्बिका लिम्बुलाई सिलगुढी पुर्‍याएर बेचेका थिए ।

उनलाई पनि बिहेकै नाटक रचेर बिक्री गरेको उनले बयान दिएका छन् । त्यो अपराधसमेत प्रमाणित भएपछि अदालतले त्यसमा पनि कैद सजाय सुनाएको थियो । उनी हत्या र बेचबिखनको १५ वर्ष कैद सजाय सकेर २०६६ असोजमा जेलमुक्त भएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

^ Scroll to Top