Friday, March 11, 2011

जेलमै गोली प्रहार

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई भेट्न भनी जसजीत सिंह बिहान ११ बजे कारागारको दक्षिणी भागमा रहेको बन्दी भेटघाट टहरामा पुगेका थिए। सोही समय भाइबुहारीसँग भेट गरिरहेका युनुसको छाती ताकेर उनले गोली हानेका थिए। प्रत्यक्षदर्शीका अनुसार सिंहको देव्रेहातमा पेस्तोल देखेपछि भेटघाट कक्षमा खटिएका नाइके वीरबहादुर तामाङ र त्यहीँको सुरक्षामा खटिएका प्रहरी जवान प्रमोदकुमार चौरसियाले धकेलेकाले निशाना चुकेको थियो।

सिंहलाई हस्तक्षेप गर्दा डकैती मुद्दामा सजाय भोगिरहेका तामाङ लडेर घाइते भएका थिए। तामाङको पनि नर्भिकमै उपचार भइरहेको छ।

घटनास्थलमा रहेका कारागारका नाइके र प्रहरी अवरोधका कारण सिंहले प्रहार गरेको गोली कुममा लागेको थियो। युनुसको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। काखीनजिकै गोली लागेका युनुस खतरामुक्त छन्।

कारागारस्रोतका अनुसार जेल प्रशासनले शनिबारबाहेक अन्य दिन बिहान नौदेखि १२ बजेसम्म युनुसलाई आफन्त भेट्न अनुमति दिँदै आएको थियो। बिहीबार उनलाई वीरगन्जबाट आएका भाइ अमिन र बुहारीले भेटेका थिए।

कैदी भेटघाट गराउने सहयोगीहरू शोभराजलाई माइकबाट सिंह भेट्न आएको जानकारी गराउँदै थिए, त्यहीबेला युनुसमाथि गोली प्रहार भएको थियो। सिंहले ज्याकेटको देव्रेखल्तीमा हात हालेर पेस्तोल निकाली ग्रिलमा सामान दिन बनाएको प्वालभित्र हात छिराएर गोली हानिहाले।

प्रहरीले सिंहलाई कारागारभित्रै पक्राउ गरेको थियो। केन्द्रीय कारागारमा गोली चलेको र युनुस घाइते भएको जानकारी आएलगत्तै प्रहरी प्रधान कार्यालयलगायत उपत्यकाका तीनै कार्यालयका प्रहरी घटनास्थल पुगेका थिए।

११ बजे पक्राउ परेका सिंहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टिमले नियन्त्रणमा लिएर कारागारमै सोधपुछ गर्दा उनका अन्य दुई सहयोगीसमेत भक्तपुर बोडेमा कोठा लिएर बसेको खुलेपछि प्रहरी सिंहलाई लिएर त्यहाँ पुगेको थियो। प्रहरी पुग्नुअघि नै सिंहका सहयोगी सुरेश द्विवेदी र रामु द्विवेदी फरार भएका थिए। प्रहरीले कोठामा खानतलासी लिँदा सिंहको रासनकार्ड र सुरेशको तस्बिरमात्र फेला परेको थियो।

संगठित समूहका सदस्य
प्रहरीले सिंह भारतीय संगठित समूहका सदस्य रहेको दाबी गरेको छ। बिहीबारै आयुक्त कार्यालयमा युनुस गोलीकाण्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले सिंह १५ लाख भारतीय रुपैयाँ र दुई सहयोगी लिएर एक महिनाअघि हत्या योजनासहित नेपाल आएको खुलेको जनाएको छ। प्रहरीले सिंह 'कन्ट्र्याक्ट किलर' रहेको दाबी गर्दै उनले भारतमै हत्या गरेका र गोली प्रहार गरेकाहरूको विवरणसमेत सार्वजनिक गरेको थियो।


महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख अर्जुनजंग शाहीले पत्रकार सम्मेलन गरी प्रारम्भिक अनुसन्धानबाट सिंह दुई महिनादेखि युनुस हत्या योजनामा सक्रिय रहेको दाबी गरे। प्रहरीका अनुसार सिंहले सन् २०११ जनवरीमा दुबईका अली अध्यक्ष नामका व्यक्तिबाट युनुसको हत्याको सुपारी (जिम्मा) लिएको बयानमा जनाएका छन्।


अलीले भारतमै ७ लाख ५० हजार भारतीय रुपैयाँ पेस्की दिएपछि सिंह युनुस हत्याका लागि सहयोगीसहित एक महिनाअगाडि स्थलमार्गबाट काठमाडौं आएको प्रहरीले दाबी गरेको छ।


एआइजी शाहीले सिंहले यसअगाडि भारतको उत्तर प्रदेशमा रामप्रसाद यादव र बृजेश सिंहको हत्या गरेको खुलेको दाबी गरे। उनका अनुसार सिंहले पप्पु यादव, सलिम मुस्तफा र अनिल मेहताको हत्या प्रयास गरे पनि उनीहरू घाइतेमात्र भएका थिए।


सिंह सहयोगीसहित फेब्रुअरी ५ (माघ २२ गते) स्थलमार्गबाट नेपाल आएर दुई सहयोगीसँगै बस्दै आएको प्रहरीले बताएको छ। उनीहरूले योजना बनाउन बोडेमा दुइटा कोठा भाडामा लिएको, तर त्यसअघि २१ दिन कलंकीमा डेरा लिएको प्रहरीको दाबी छ।
शाहीका अनुसार शोभराजलाई भेट्ने बहानामा युनुसको गतिविधि अवलोकन गरी सिंहले बिहीबार हतियारसहित गएर हत्या प्रयास गरेका हुन्।


उत्तरप्रदेशको लखनउस्थित कानपुररोड, सरोजिनीनगर बस्ने ४२ वर्षीय सिंहबाट प्रहरीले घटनामा प्रयोग भएको बेलायतमा बनेको एक थान रिभल्वर, पाँच थान त्यसको गोली र एक थान खोका बरामद गरेको छ। अहिले प्रहरीले घटनाका सहयोगी भनिएका द्विवेदीद्वयको खोजी गरिरहेको छ। प्रहरीले फरार दुवैबारे जानकारी दिनेलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणासमेत गरेको छ।

कस्तो छ भद्रगोलको सुरक्षा?
अति संवेदनशील स्थलका रूपमा केन्द्रीय कारागारमा कडा सुरक्षा व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि नेपाली 'डन' हरूसम्मलाई यहीँ राखिएको छ। यहाँ कैदी भेट्न आउनेले विभिन्न चरणमा सुरक्षा जाँच पार गर्नुपर्छ।

खैनी, बिँडी, चुरोट, लाइटर, मोबाइलजस्ता सामान बाहिरै राखेर मात्र भित्र कैदीलाई भेट्न दिइन्छ। यस्तो अवस्थामा कसरी हतियार भित्र लग्न सिंह सफल भए, गम्भीर प्रश्न छ।
घटनास्थलस्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उनी चेन गेटभित्र युनुस र बाहिर उनलाई भेट्न भनी आएका थिए। सिंहले चेनगेटभित्रै हात घुसाएर पेस्तोलबाट गोली प्रहार गरेका हुन्।

डिएसपीको कमान्डमा करिब सय प्रहरीको सुरक्षा घेरामा रहेको केन्द्रीय कारागारमा तीनवटा चेकिङ प्वाइन्ट पार गरेर युनुसमाथि गोली प्रहार भएपछि त्यहाँको सुरक्षा रणनीति नांगिएको छ।

कैदी भेट्न आएका व्यक्ति आधुनिक हतियारसहित उनी कैदी भेटघाटकक्षसम्म पुग्दासमेत कारागार सुरक्षाका लागि आधुनिक उपकरणसहित तीन तहमा खटिएका सुरक्षाकर्मीले पत्तो पाएनन्।

प्रहरीले भने सिंहले भित्री कट्टुमा हतियार लुकाएर राखेकाले पत्ता लगाउन नसकिएको दाबी गरेको छ। पत्रकार सम्मेलनमा सिंहको ज्याकेटका दुवै खल्तीमा रहेको प्वाल देखाउँदै एआइजी शाहीले 'गुप्तांगनजिक सानो आकारको हतियार राखेर भित्र प्रवेश गरेपछि ज्याकेटभित्र हात छिराएको बहाना गरी पेस्तोल निकालेर प्रहार गरेको बताए पनि सुरक्षामा त्रुटि भएको स्विकारे।

अभियुक्तले तीनवटा सुरक्षा पोस्ट पार गरेर त्यहाँ पुगेको थियो। कारागार प्रहरीले आगन्तुकको साथमा रहेको सामान्य सामाग्री समेत साथमा लैजान दिँदैन। त्यस्तो स्थानमा सिंहले सहजै आधुनिक पेस्तोल कसरी लगे?

कारागारका कैदीलाई भेट्न जानेमाथि प्रहरीले कहाँ जाने, कसलाई भेट्नेजस्ता जानकारी लिन्छ र दायाँतर्फको चेकिङ प्वाइन्ट पुर्‍याउँछ। महिला र पुरुष आगन्तुकको शरीर खानतलासी लिने, उनीहरूको साथमा रहेका मोबाइललगायत सामग्री सोही स्थानमा राखेपछिमात्र आगन्तुकलाई बन्दी भेट्न भेटघाट कक्ष जान दिइन्छ। ठूला अभियोगका अपराधीको हकमा ड्युटी अफिसरलाई भेटेर बेग्लै अनुमति लिनुपर्ने व्यवस्था छ।

केन्द्रीय कारागारका जेलर क्षेत्रबहादुर भण्डारीले घटनाबारे केही बोल्न चाहेनन्। घटनालगत्तै उनको कार्यकक्षमा पुगेका पत्रकारसामु उनले मुन्टोसम्म उठाउन सकेनन्। प्रहरीले भने कारागार सुरक्षामा त्रुटि रहेको स्विकार्दै प्रहरी सहायक निरीक्षक लक्ष्मण भण्डारी, प्रहरी जवान मनोजकुमार कार्की र तिलकराज चौधरीलाई बिहीबारै निलम्बन गरेको छ। एआइजी शाहीले भने, 'सुरक्षा लापरबाही भएकै हो, हामीले त्यसलाई समेत अनुसन्धानको दायरामा ल्याएका छौं।'

तर कारागारस्रोत बिहीबारको घटनामा कारागार सुरक्षाका माथिल्लो तहका प्रहरी अधिकारीहरूसमेत संलग्न देखिएको दाबी गर्छ। ती अधिकारीले भने, 'सामान्य त्रुटिबाटमात्र यो घटना भएको होइन, माथिल्लै तहको संलग्नता देखिन्छ।'

केहीअघि अर्का बन्दी चक्रे मिलनले केन्द्रीय कारागारभित्रैबाट आपराधिक सञ्जाल चलाउने गरेको र अर्का अभियुक्त टासी लामाले लागूऔषध कारोबार गरेको खुलेको थियो। दुवै घटना सार्वजनिक भएलगत्तै आयुक्त कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखाले कारागारका कैदी र कैदी भेट्न आउने आगन्तुकमाथि निगरानी बढाएको दाबी गरेका थिए।

जमिमकै निरन्तरता
एक वर्षअघि सञ्चार उद्यमी जमिम शाहको हत्या छानबिनका लागि गठित प्रहरी र न्यायिक टोलीले दिएको प्रतिवेदनमा युनुसको हत्या गर्न आएकाहरूले शाहको हत्या गरेको उल्लेख छ।

प्रतिवेदनमा नक्कली भारु कारोबारमा संलग्न आरोपमा युनुस पक्राउ परेपछि सिंहदरबार प्रभाग हिरासतमा रहँदा एकपटक र काठमाडौं जिल्ला अदालत लैजाने क्रममा चारपटक युनुसको हत्या प्रयास भएको उल्लेख छ।

युनुस नक्कली भारु र लागूऔषध कारोबार अभियोगमा गत वर्ष पुस १८ गते पक्राउ परेका थिए भने माघ २४ गते लाजिम्पाटमा शाह मारिएका थिए।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ अभियुक्त प्रकाश क्षेत्रीलगायतले काठमाडौं जिल्ला अदालतमा चारपटक युनुसमाथि आक्रमणको प्रयास गरे पनि भिड र बढी प्रहरी भएकाले नसकेको बयान दिएका थिए।

जमिम हत्या अनुसन्धानमा गठित न्यायिक समितिसँगको बयानमा युनुस आफैंले जमिम हत्यामा संलग्न मोहम्मद बकार आफूलाई सिंहदबार प्रभागमा भेट्न आएको बताएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले युनुसमाथि बिहीबार भएको गोली प्रहार जमिम हत्याकै निरन्तरता भएको बताए। 'सिंहको बयान र जमिम हत्याको अनुसन्धानबाट सोही समूह पुनः नेपालमा सक्रिय देखिएको छ,' ती अधिकारीले भने।

सिंहले आफुलाई दुबई बस्ने एक व्यक्तिले युनुसको हत्याका लागि नेपाल पठाएको दाबी गरे पनि उनको सम्बन्ध भारतीय कारागारमा रहेको बब्लु श्रीवास्तवसँग रहेको देखिएको ती अधिकारीले बताए। श्रीवास्तव २०५५ मा भएको मिर्जा दिलसादवेग र २०६६ मा भएको जमिम हत्याका योजनाकार रहेको प्रहरीले दाबी गर्दै आएको छ।

जमिम हत्यालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोली बब्लुसँग घटना सम्बन्धमा जानकारी लिन भारत पुगेको थियो। तर, भारतीय प्रहरीले बब्लुसँग भेट्ने अनुमति दिएको थिएन। प्रहरीले जमिम हत्यामा संलग्न भारतीय नागरिक त्रिलोक सिंहसँग सिंहको सम्बन्ध रहेको दाबीसमेत गरेको छ।

नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने, 'भारतीय प्रहरीको सुरक्षा घेरामा रहेका एक अपराधीले पटक पटक नेपालीको हत्या योजना बनाउँछन् र आफ्ना व्यक्ति नेपाल पठाउँछन्, तर भारतीय पक्षलाई जानकारी छैन भनेर कसरी मान्ने?'

शोभराज पनि अनुसन्धान दायरामा
कारागार व्यवस्था विभागका अनुसार गोलघरमा राखिएका बन्दीलाई परिवारका सदस्य र कानुनी सहयोगीबाहेक अन्य नातेदारलाई समेत सहजै भेट्न दिइन्न। तर, शोभराजसँग कुनै सम्बन्ध नभएका भारतीय सिंहले २१ दिनदेखि निरन्तर भेटिरहेका थिए।

प्रहरीस्रोतका अनुसार प्रारम्भमा सिंहले शोभराजकी कानुनी सल्लाहकार शकुन्तला थापासँगै शोभराजलाई भेटेका थिए। पछिल्लो समय भने उनी एक्लै कारागार गएर शोभराजलाई भेट्ने गरेका थिए। तर यी दुवैको भेटको प्रयोजन भने खुल्न सकेको छैन।

जेलस्रोतका अनुसार सिंहले बेखाबखत अपहरणको अभियोगका केन्द्रीय कारागारमै रहेका अमर टन्डनसँग समेत भेट गर्दै आएका थिए। एआइजी शाहीले पक्राउ अभियुक्त सिंहले शोभराजसँग निरन्तर भेटघाट गरेको पुष्टि भएकाले युनुस घटना सम्बन्धमा शोभराजलाई समेत अनुसन्धानको दायरामा राखिएको बताए।

कारागार व्यवस्था विभागका प्रमुख दुर्गाप्रसाद भण्डारीले नियमअनुसार गोलघरमा रहेका कैदीसँग वकिल र परिवारका सदस्यबाहेक अरूले भेटघाट गर्न पाउँदैनन्। गोलघरका कैदी शोभराजसँग सम्बन्धै नरहेका भारतीयले निरन्तर भेटिरहेको जानकारी आउँदा आफैँलाई आश्चर्य लागेको बताउँदै उनले भने, 'मलाई पनि यसबारे जानकारी गराएकै थिएनन्।'
सिंह शोभराजलाई भेट्न बा४०प २५१० नम्बरको पल्सर मोटरसाइकल चढेर केन्द्रीय कारागार आउने गरेका थिए। बिहीबार भने उनले बा४०प १००५ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए।

सर्ट पाइन्ट र पहेंलो रङको ज्याकेट लगाएका उनी बिहीबार ११ बजे कारागार पुगेका थिए। जेलस्रोतका अनुसार नियमित कारागार आउजाउ गर्ने क्रममा उनी कारागारका प्रहरीसित परिचित भइसकेका थिए। स्रोतका अनुसार कारागारपरिसरभित्र प्रवेश गर्नुअगाडि सोधपुछका लागि बसेका प्रहरीले उनलाई केही सोधेनन्। उनी सरासर कारागारको पश्चिमतिर रहेको सामान चेकजाँच गर्ने स्थानमा पुगेका थिए। सुरक्षाका लागि बसेका प्रहरी जवान मनोजकुमार कार्की र तिलकराम चौधरीले मेटल डिटेक्टरले चेक गर्ने क्रममा आवाज आएपछि खल्तीमा के छ निकाल्नुस् भनेपछि उनले दुई रुपैयाँको क्वाईन देखाएपछि प्रहरीले पुनः चेक नगरीभित्र पठाएको थियो।

रोकिएको थियो तराईमा सार्ने सिफारिस
प्रहरीले करिब एक महिनाअघि गृह मन्त्रालयले कारगार व्यवस्थापन विभागलाई युनुसलगायत केही कैदीको जेल सरुवाका लागि सिफारिस गरेको थियो।

प्रहरीले अमर टन्डनसँगै युनुसलाई समेत केन्द्रीय कारागारबाट तराईमा सरुवाको प्रस्ताव पठाएको थियो। तर कारागार व्यवस्था विभागले अन्यको प्रस्ताव स्वीकार गरे पनि युनुस र टन्डनको भने मानेको थिएन।

विभागस्रोतका अनुसार युनुसमाथि कारागारभित्रै समेत खतरा रहेको भन्ने जानकारी आइरहेकाले तराईका जिल्लामा पठाउँदा थप खतरा बढ्ने देखिएपछि उनको सरुवा रोकिएको थियो।

तीन छानबिन समिति
प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रप्रताप शाहको संयोजकत्वमा छानबिन समिति बनाएको छ। समितिमा डिआइजी पर्शुराम खत्री र एसएसपी माधव जोशी सदस्य छन्। त्यसैगरी महानगरीय आयुक्त कार्यालयले पनि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी हेमन्त मल्लको संयोजकत्वमा बेग्लै तीन सदस्यीय समिति बनाएको छ।
कारागार व्यवस्थापन विभागले पनि विभागका अधिकृत विदुर भट्टराईको संयोजकत्वमा समिति बनाएको छ।

3 comments:

  1. Thanks for your comment . sure i am also visiting your blog . thanks again

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

^ Scroll to Top