Monday, March 14, 2011

भुकम्प आइहाल्यो भने नेपालको तयारी कति ?

काठमाडौं शहर विश्वमै उच्च भुकम्पीय जोखिममा रहेको कुरा सार्वजनिक भैरहेको वेला सरकारले भने भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै पनि तयारीहरु गरेको छैन। नेपालमा भुकम्पीय उच्च खतरा रहेको भन्दै विभिन्न देश तथा अर्न्तराष्ट्रिय दातृ निकायले उच्च चासोका सहयोग दोव्वर रहँदा जिम्मेवार निकायहरु भने भुकम्प आइहालेमा कसरी उद्धार गर्ने भन्ने पुर्वाधारहरुको तयारी गरेका छैनन्।

'उच्च जोखिम रहेपनि तत्काल भुइँचालो आइहालेमा उद्धार गर्ने ठाउँहरुको पहिचान गर्न सकिएको छैन,' गृहमन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने 'यस सम्वन्धमा विभिन्न निकायहरुसंग छलफल चलिरहेको छ। उनले काठमाडौंको कोर क्षेत्रमा भुकम्पीय जोखिम ज्यादै भएपनि त्यहाँ खाली ठाउँ उपलव्ध नभएको उनको भनाई छ।

हाल गृहमन्त्रालयले युनिसेफ, रेडक्रस, आइओएम लगायतका अर्न्तराष्ट्रिय निकायहरुसंग साझेदारी गरेपनि राजधानीमा कति घरहरु जोखिममा छन भन्ने समेत पहिचान हुन सकेको छैन। खनालले जुनसुकै समयमा आउन सक्ने भुकम्पीय सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीलाई तालिम दिने काम भैरहेको जानकारी दिए। 'भुकम्प आइहालेमा उद्धार गर्न का लागि सेना र प्रहरीलाई अभ्यास गराउँदैछौं ' खनालले भने।

गृहमन्त्रालय मात्र होइन शहरीकरणको व्यवस्थापन र शहरमा बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक हुनुपर्ने नियम भएपनि उपत्यकाका तिनै शहरमा यो नियम लागु गराउन सकेका छैनन्। नेपालमै सवैभन्दा भुकम्पीय दृष्टीकोषले असुरक्षित मानिने काठमाडौं , ललितपुर र भक्तपुरहालसम्म कुनै कामहरु अघि बढन सकेका छैनन्। काठमाडौं उपत्यका नगरविकास समितीका अध्यक्ष डा. भाइकाजी तिवारी हाल बनेको नियम कार्यान्वयन आउनमा नसक्दा समस्या देखिएको बताउँछन्। 'भुकम्प न्युनिकरणको मुख्य उपाय पुराना जोखिमयुक्त घरहरुको विस्थापन हो।' तिवारीले भने 'तर यो असम्भव छ।' उनले काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका र ललितपुर उपमहानगरपलिका भित्रै यस्ता घरहरुको संख्या बढी भएकाले र यिनै क्षेत्रमा खाली जग्गा नभएकोले समस्या भएको बताए।

सवैभन्दा जोखिमयुक्त घर काठमाडौं महानगरपालिकामा भएपनि उसले हालसम्म भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै काम त के कुनै अध्ययन समेत गरेको छैन। महानगरपालिका शहरी विकास विभाग प्रमुख देवेन्द्र डंगोल भुकम्पीय जोखिम हटाउन हालसम्म कुनै काम नभएको स्विकार्छन्। 'हालसम्म कुनै कामै हुन सकेको छैन।' डंगोलले भने।
हाल भुकम्पीय जोखिम न्युनिकरणका लागि काम गर्दै आइरहेको संस्था भुकम्प प्रविधी राष्ट्रिय समाजले केही दातृ निकायहरुसंग मिलेर गृहमन्त्रालयले केही तयारी गर्दै आइरहेपनि पुर्वाधारको अभावमा कार्यक्रमहरु लागु हुन नसकेको बताउँछ। समाजका कार्यकारी निर्देशक आमोदमणी दिक्षित भुकम्पीय जोखिममा परेका घरहरु विस्थापनको काम ज्यादै जटिल भएकाले अव यदि भुकम्प आइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताउँछन्। उनका अनुसार अहिलेकै अवस्था रहने हो भने काठमाडौंमा सामान्य भुइचालोबाट पनि लाखौं धनजनको क्षती हुन्छ। 'भुकम्प आइहालेमा उद्धार गर्नका लागि टुडिखेलजस्तै ५० वटा ठुला ठाउँको आवश्यकता पर्छ।' दिक्षितले भने 'सरकार र विभिन्न दातृ निकायहरुले यस्ता ठाउँहरुको पहिचान गर्ने भनिएपनि हालसम्म कुनै ठाउँहरु प्हिचान हुन सकेको छैन। 'उपत्यकामा धेरै ठाउँ खाली छैन।' दिक्षितले भने 'भएका ठाउँ समेत उद्धार गर्नका उपलव्ध हुने किसीमको हुनुपर्‍यो।' यसअघि ललितपुर उपमहानगरपालिकाको सक्रियतामा ललितपुरमा भुकम्प आइहालेमा उद्धार गर्नका लागि तीन वटा ठाउँहरुको पहिचान गरिएको जानकारी उनले दिए। ललितपुरको खुमलटार, वालकुमारी र इन्जिनियर क्याम्पस गरि यहाँ झण्डै ५० हजारको उद्धार हुनसक्ने उनले जानकारी दिए।

उद्धार गर्न खाली जग्गामात्र होइन त्यसक्रममा आवश्यक पर्ने दमकल, खानेपानी, अस्पताल समेत पर्यात नभएको दिक्षितको भनाई छ। 'यसविषयमा विदेशीहरुले समेत उच्च चासो राखेका छन्। ' दिक्षितले भने 'प्रकोप भनेको जुनसुकै समयमा पनि आउनसक्छ त्यसैले सरकार पुर्वाधारहरुको तयारी तर्फ लाग्नुपर्छ।'

No comments:

Post a Comment

^ Scroll to Top