Tuesday, March 1, 2011

'श्रीमती झुक्किएर हैरान'

मैले बिहे गरेर ल्याएपछि मेरो दाइ हेर्न आएछन् । भाइले कस्ती श्रीमती ल्याएछ भनेर कोठामा छिरेको त बुहारीले श्रीमान् सम्झेर बोलाइछ, दाइ लाजले रातोपीरो भएर भागेछन् ।'
मोरपथरी-१ का रामचन्द्र रानाले जम्ल्याहा हुँदाको पीडा र रमाइलो प्रसंग भनिरहँदा बेतना महोत्सव बेलबारीमा भेला भएका हजारौं दर्शकबीच हाँसोको फोहोरा छुट्यो । बेलबारीमा आयोजित बेतना सीमसार महोत्सवको दोस्रो दिन आइतबार 'राष्ट्रिय जुम्ल्याहा-तिम्ल्याहा भेला' गराइएको थियो ।
७७ जोडी जुम्ल्याहा र तीन जोडी तिम्ल्याहा मञ्चबाट दर्शकलाई जुम्ल्याहा-तिम्ल्याहा हुनुको अनुभव सुनाइरहेका थिए । उनीहरूलाई आयोजकले मञ्चमा दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए । धैर जुम्ल्याहा पुरुषको नाम राम/लक्ष्मण र महिलाको गंगा/जमुना थियो । गंगा खतिवडा र जमुना निरौलाले आफूहरूले जुम्ल्याहा भएकामा समाजका सबैबाट माया पाएको अनुभव सुनाए ।
जुम्ल्याहा भएका कारण दिदी-बहिनीमा थप घनिष्टता र आत्मीयता हुने गरेको समेत उनीहरूले बताए । तर रामचन्द्र रानाको झैं उनीहरूका श्रीमान् भने उनीहरूसँग झुक्किएका छैनन् रे । सम्मान कार्यक्रममा एउटाले काम बिगारे अर्काेले सजाय पाउने गरेका रमाइला प्रसंगहरू भनेर जुम्ल्याहाले दर्शकलाई निकै हँसाएका थिए ।
एउटाले काँक्रो चोर्दा अर्काेले कुटाइ खाएको, एउटाको प्रेम पत्र अर्काेले पाएको, शिक्षकले एउटालाई पिट्नुपर्ने झुक्किएर अर्कैलाई पिटेको जस्ता धेरै रमाइला प्रसंग उनीहरूले सुनाए ।
धिमाल जातिको वेशभूषा तथा सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । धिमाल युवायुवतीले परम्परागत पहिरनमा फेसन शोसमेत गरेका थिए ।
साँझ रेश्मा सुनवारले चर्चित गीत 'मै ठूली भै छु रे' गाएर दर्शकलाई उत्तेजित बनाएकी थिइन् । दर्शकको धीत नमरेपछि उनले दोहोर्‍याएर गाउनुपरेको थियो भने लोक गायक महेश बुढाथोकीले 'काफल गेटी कुटुक्कै, भैयो भुतुकै' जस्ता लोकपि्रय गीत गाएर दर्शकलाई लठ्ठ बनाएका थिए ।
बेतना सीमसार संरक्षण समिति बेलबारीको आयोजनामा फागुन १४ देखि नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहेको छ भने संस्कृतिको जानकारीका लागि राई, लिम्बु, धिमाललगायत जातिहरूका परम्परागत पोसाक र उनीहरूले प्रयोग गर्ने सामग्रीको स्टल राखिएको छ ।
बालबालिकाका लागि बाल उद्यान, कम्प्युटर, सवारी, लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तुसमेत गरी महोत्सवमा ६० स्टल छन् । महोत्सवले ३५ लाख आम्दानी गर्ने लक्ष्य राखेको आयोजकले जनाएका छन् । तेस्रो दिनसम्म ३० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको प्रचार विभाग संयोजक भोजराज बस्नेतले बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

^ Scroll to Top