Sunday, March 13, 2011

आफन्तलाई जापानका नेपालीको सन्देश / हामीलाई यहाँ सन्चै छ

जापानमा गएको महाभूकम्प र त्यसबाट सिर्जित सुनामी छालबाट १ हजार ३ सयभन्दा बढीको ज्यान जाँदा त्यहाँ रहेका नेपालीको स्थितिलाई लिएर नेपालस्थित आफन्तहरु चिन्तित बनिरहेका बेला उनीहरुले नआत्तिन आग्रह गरेका छन्।

जापानमा शुक्रबार गएको भूकम्प र सुनामीबाट नेपालीलाई अहिलेसम्म कुनै क्षति नपुगेको त्यहाँस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली महासंघ एनआरएन ले जनाएका छन्।
जापानमा व्यवसाय रोजगारी तथा अध्ययनका सिलसिलामा १५ हजारभन्दा बढी नेपाली रहेकाले आफन्तहरु अहिले उनीहरुको अवस्थालाई लिएर चिन्तित बनिरहेकामा जापानस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. दुर्गाबहादुर सुवेदीले शनिबार साँझ नेपाल समाचारपत्रसँगको इमेल सम्पर्कमा हालसम्म कुनै नेपाली पनि हताहत तथा घाइते भएको जानकारी नआएको बताउनुभयो।

उपप्रमुख डा. सुवेदीले नेपालीहरु प्राकृतिक विपत्तिमा परेको अथवा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी दूतावासको पहलमा भूकम्प तथा सुनामीप्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको जानकारी दिनुभयो।

जापानका लागि नेपाली राजदूत डा. गणेश योन्जन तामाङको अध्यक्षतामा जापानमा कार्यरत विभिन्न नेपाली सामाजिक तथा राजनीतिक संघसंस्थाको आकस्मिक बैठकले उक्त समिति गठन गरेको हो। समितिको प्रमुख सल्लाहकारमा राजदूत तामाङ सल्लाहकारमा एनआरएन केन्द्रीय अध्यक्ष देवमान हिराचन तथा संयोजकमा नियोग उपप्रमुख डा. सुवेदी रहनुभएको छ।
समितिले जापानमा रहेका नेपालीहरुलाई विपत्तिबाट कुनै समस्या परेको भए तुरुन्त दूतावास वा समितिको सम्पर्कमा आउन आग्रह गरेको छ।

एनआरएन अध्यक्ष हिराचनले भूकम्प तथा सुनामीबाट अत्यधिक प्रभावित सेन्डाई क्षेत्रमा करिब १ सय जना नेपाली रहेकामा उनीहरु सबै सकुशल रहेको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो। उहाँले संस्थागत रुपमा व्यक्तिगत तहबाट समेत नेपालीहरुको स्थितिबारे चासो लिइरहेको र अहिलेसम्म नराम्रो स्थिति बेहोर्नुनपरेको बताउनुभयो।

आफूसँग सम्पर्कमा आएका नेपालीहरुले स्वदेशमा रहेका आफन्तलाई भनिदिन आग्रह गरेको सन्देश उहाँले नेपाल समाचारपत्रलाई सुनाउनुभयो- हामी यहाँ सन्चै छौं तपाईंहरुले चिन्ता नलिनुभए हुन्छ। भूकम्प र सुनामीबाट बढी प्रभावित अर्को क्षेत्र मियागी प्रान्तमा २ सयभन्दा बढी नेपाली रहेको दूतावासले जनाएको छ। उक्त क्षेत्रबाट पनि कुनै अपि्रय समाचार सुन्न नपरेको नियोग उपप्रमुख डा। सुवेदीले बताउनुभयो।

जापान सरकारले जापानी विदेश मन्त्रालयमा आपत्कालीन कक्ष स्थापना गरी जापानमा रहेका विदेशी राजदूतावास महावाणिज्य दूतावास र कूटनीतिक नियोगहरुसँग सम्पर्क र समन्वय गरिरहेको छ। जापान सरकारले विदेशी नागरिकहरुमा भएका र हुन सक्ने क्षतिका सम्बन्धमा सूचना तथा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएकाले नेपालीहरु अप्ठुरो स्थितिमा नरहेको समेत डा. सुवेदीले जानकारी दिनुभयो।

जापानस्थित नेपाली दूतावासले एनआरएन राष्ट्रिय समिति जापान त्यहाँ रहेका विभिन्न संस्था तथा ओसाका र फुकुओकामा रहेका नेपाली अवैतनिक महावाणिज्य दूतावासहरुलाई पनि सक्रिय भई नेपालीहरुसम्बन्धी सूचना र तथ्य जानकारी गराउन आग्रह गरिएको उहाँले बताउनुभयो।

No comments:

Post a Comment

^ Scroll to Top