Tuesday, March 15, 2011

'मुन्नी बदनाम हुई...' गिनिज बुकमा


हिन्दी फिल्म 'दबंग' को सुपर हिट आइटम नम्बर 'मुन्नी बदनाम हुई...' गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएको छ । सबैभन्दा धेरै व्यक्तिले एकै पटक नाच्नमा उक्त गीतले कीर्तिमान राखेको हो ।

सलमान खान अभिनीत 'दबंग' लाई सुपरहिट बनाउनमा ठूलै भूमिका खेलेको 'मुन्नी बदनाम हुई...' मा एक हजार दुई सय जना तीन मिनेटसम्म नाचेका थिए । अस्ट्रेलियाको मेलबर्न पार्कमा गत सप्ताहान्त आयोजित कार्यक्रममा डान्सको अगुवाइ मलाइका अरोडा खानले नै गरेकी थिइन् । 'दबंग' मा 'मुन्नी' बनेकी उनले गत आइतबार विश्व कीर्तिमानको प्रमाणपत्र हात पारेकी छन् ।

अस्ट्रेलियामा हिन्दी फिल्मको बजार बढाउन गरिएको 'इन्डियन फिल्म फेस्टिभल ः बलिउड एन्ड बियोन्ड' कार्यक्रम गरिएको थियो । फिल्म फेस्टिभलका प्रमुखले भने, 'यति मीठो गीतमा यति धेरै डान्सरहरूलाई एकैसाथ तालमा ताल मिलाएर नाचेको हेर्दा धेरै रमाइलो भयो ।' रेकर्ड बनाउनमा बलिउडका कोरियोग्राफर शियामक डाबर डान्स एकेडेमीका कलाकारहरूले मलाइकालाई साथ दिएका थिए । मेलबर्नअघि यही गीतमा सिंगापुरमा एक हजार आठ कलाकार नाचेका थिए ।

'मुन्नी...' को कीर्तिमानबारे मलाइकाका पति तथा 'दबंग' का निर्माता/अभिनेता अरबाज खानले ट्वीटरमार्फत फ्यानहरूलाई जानकारी गराएका थिए । उनले लेखेका थिए, 'मुन्नी गिनिज वल्र्ड रेकर्डमा परेको छ ।' उक्त कार्यक्रममा मलाइकालाई हेर्नेमध्ये अरबाज र उनीहरूका छोरा, अभिनेत्री विद्या बालन र जुही चावलासमेत थिए ।

No comments:

Post a Comment

^ Scroll to Top