Wednesday, March 16, 2011

लोडसेडिङले सुपरमार्केटका सञ्चालक को ज्यान लियो

लोडसेडिङको अध्यारोमा झुक्किएर सिसाको ढोकामा ठोक्किदा जेमिनी सुपरमार्केटका सञ्चालक ४५ वर्षीय जगदिश मास्केको ज्यान गएको छ। सोमबार बेलुका आठ बजे लोडसेडिङको समय सकिएपछि बत्ति बाल्न स्विच अन गर्न हिँडेका उनी सुपरमार्केटमा रहेको सिसाको ढोकामा ढोक्किएर गम्भीर घाइते भएका थिए।

ढोकाको सिसाले देब्रे पेट काटिएका उनलाई श्रीमती सबिना र सुपरमार्केटका कर्मचारीले उपचारका लागि ओम अस्पताल पुर्‍याए पनि तिब्र रक्तश्रावका कारण उनको मृत्यु भएको थियो। मास्केका परिवारले 'दुर्घटनाका कारण मृत्यु भएको' जाहेरी दिएर मंगलबार दाहसंस्कार गरेका छन्।

मास्केका परिवारको जाहेरी अनुसार लोडसिङको समयमा जेनेरेटर चलाएर सुपरमार्केटका केही स्थानमा बत्ति बालिएको थियो। सुपरमार्केटमा शाक्यकी श्रीमती र १० जना कामदार थिए भने एन्जोली नामकी विदेशी ग्राहक किनमेल गर्दै थिइन्। बेलुका आठ बजे लोडसेडिङको समय सकिएपछि बत्ति आयो। कोही कर्मचारीसँगै सुपरमार्केटमा काम गरिरहेका मास्केले कर्मचारी रघुनाथ चौधरीलाई जेनेरेटर बन्द गरेर दक्षिणतिर रहेको विद्युतको मुख्य स्विच अनगर्न दौडदै गएका थिए।

काउन्टरमा कर्मचारी रेश्मा लामा बसिरहेकी थिइन्। एक्कासी केही पड्केको आवाज आएपछि हेर्न जाँदा मास्के ठोक्किएर फुटेको सिसाको ढोकामा अड्केका थिए। सिसाले देब्रे कोखा काटेर गम्भिर घाईते भएका मास्केले 'मलाई छिटो अस्पताल लैजाउ' मात्र भन्न भ्याए। सुपरमार्केटका २ जना कर्मचारी र मास्केकी श्रीमतीले ट्याक्सीमा राखेर ओम अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बौद्ध बृत नजिकै रहेको जेमिनीमा ठुलो आवाज आएपछि जेमिनीका सञ्चालक मास्केलाई गोली हानेको हल्ला भएको थियो। प्रहरी घटनास्थलमा पुगेर अवलोकन गरेपछि दुर्घटना भएको खुलेको थियो। बौद्ध प्रभागका डिएसपी पवन गिरीले भने 'पहिला त गोली चलेको हल्ला आएको थियो। घटनास्थलमा पुग्दा अध्यारोमा ठोक्किएर सिसाको ढोकामा ठोक्किदा दुर्घटना भएको रहेछ।'

दैनिक हिँडिरहने ठाउँ भएकाले अभ्यस्त बनेका मास्के अँध्यारैमा हिँडेर स्विच अन गर्न जांदा प्राय खुल्लै रहने सिसाको ढोका बन्द हुँदा उनी झुक्किएर ठोक्किएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। डिएसपी गिरीले भने 'घटना भएको समयमा घटनास्थल अँध्यारो रहेकाले मास्केले ढोका बन्द हो कि खुल्ला ठम्याउन नसक्दा दुर्घटना भएको देखिन्छ।'

घटनास्थलको प्रकृति, प्रत्यक्षदर्शीको बयान र मास्के परिवारको जानकारीको आधारमा घटना शंकास्पद नदेखिए पनि अनुसन्धान भने सुरु गरिएको डिएसपी गिरीले बताए। उनले भने 'अहिलेसम्म खुलेका तथ्यबाट घटना शंकास्पद देखिएको छैन, पोष्टमार्टम रिर्पोट आएपछि घटनामा प्रत्यक्षदर्शी र परिवारका सदस्यहरुबाट अनुसन्धान सुरु गछौं।'

No comments:

Post a Comment

^ Scroll to Top