Wednesday, May 11, 2011

नवविवाहित महिलाको पतिद्वारा निर्मम हत्या

सुरेश यादव, जनकपुर, वैशाख २७- दुई महिनाअघि मात्र विवाह गरेकी एक महिलालाई उनका पतिले घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेका छन्। धनुषा यज्ञभूमि-५ किसानपुरका २० वर्षीय रामदुलार मण्डलले १८ वर्षीया पत्‍नी रञ्जिता मण्डललाई सोमबार राति करिब १२ बजे घरमै घाँटी थिचेर हत्या गरेका हुन्।

आफ्नै भाउजुसँग अनैतिक सम्पर्क राख्दै आएका पतिलाई सम्झाउन खोज्दा भाउजुकै सहयोगमा पत्नीको हत्या गरेको स्थानीय एक महिलाले जानकारी दिए।

रञ्जितालाई हत्या गरी रातिमै घरबाट करिब पाँच सय मिटर दक्षिण तरकारीबाली लगाइएको खेतमा जमिनमुनि पुरिदिएका थिए। घटनाबारे छिमेकमा चर्चा चलेपछि स्थानीयले प्रहरीलाई खबर गरी मंगलबार दिउँसो ११ बजे शव उत्खनन् गरिएको छ। मृतकले लगाएको सारीको केही भाग बाहिर देखिएको आधारमा शव गाडिएको ठाउँ फेला परेको स्थानीय पवन मण्डलले जानकारी दिए।

प्रहरीले मृतकका पति रामदुलार र जेठानी २८ वर्षीया सीतादेवी मण्डललाई पक्राउ गरेको छ। अहिले शवको पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको छ भने पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय धारापानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा झटियाहीकी रञ्जिता गत फागुन महिनामा रामदुलारसित वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। पतिको अनैतिक व्यवहारबाट पीडित रञ्जिता र रामदुलारबीच विवाह भएको एक महिना नबित्दै खटपट शुरु भएको स्थानीयले बताए।

Nagariknews.com

No comments:

Post a Comment

^ Scroll to Top