Thursday, May 26, 2011

विद्यालय ड्रेस मै सुई हान्दै गरेका विद्यार्थी पक्राउ

विद्यालय पोशाकमै सिरिञ्जबाट लागुऔषध सेवन गर्दै गरेको अवस्थामा एक निजी विद्यालयका विद्यार्थीहरु समातिएका छन्। धरान-९ स्थित समिट उच्च माविमा अध्ययनरत ६ विद्यार्थीहरुलाई शुक्रबार करिब ११ बजे प्रहरीले समातेको हो। पक्राउ पर्नेहरु वर्ष १८ का दिनेश भनिने तेज लिम्बु, पवन राई, १९ वर्षका अनुस कार्की, १६ वर्षका सोयम राई, १७ वर्षका डेबिट तामाङ र १५ वर्षका दिपेश राई रहेका छन्। पक्राउ परेकाहरु कक्षा ११ का साइन्स र व्यवस्थापन संकायका विद्यार्थीहरु हुन्। उनीहरुलाई धरान ७ शान्तिपथस्थित खहरे नजिकै सुई हान्दै गरेको अवस्थामा सिभिल प्रहरीले रंगेहात पक्राउ गरेको वडा प्रहरी कार्यालयका इञ्चार्ज एवं सई कुमार भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरुबाट एक थान सिरिञ्ज र करिब २० ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान र आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालयमा बुझाइने सई भण्डारीले बताए। विद्यालयमा भोलि शनिबार आयोजना हुन लागेको एक सेमिनारको तयारी गर्न निर्देशन दिएविपरित बाहिरिएको प्लस टु इञ्चार्ज नरेन्द्र लिम्बुले बताए। ‘सेमिनारको तयारी गर्न काममा खटाएका थियौँ, हामी अन्यत्र ब्यस्त भएको मौकामा यिनीहरु बाहिरिएछन्, एक्कासी प्रहरीबाट फोन आयो'—उनले भने। लागुऔषध प्रयोग गरिरहेको अवस्थामा रंगेहात भेटिएको प्रमाणित भएमा विद्यालयबाट निष्काशनसम्मको कारबाही हुने उनले बताए।

No comments:

Post a Comment

^ Scroll to Top