Sunday, May 15, 2011

'गर्लफ्रेन्ड’का पतिले बीच सडकमै कुटे भुवन केसीलाई


फिल्मको पर्दामा गुन्डाहरूलाई 'रामधुलाइ' गर्दै आएका अभिनेता भुवन केसीले शनिबार बीच सडकमा वास्तविक 'धुलाइ' भेटेका छन् । 'रिल लाइफ'मा झगडापछि कुर्सीमा आराम गर्ने भुवनले 'रियल लाइफ'मा कुटाइ खाएर भाग्नुपर्‍यो ।

भुवनलाई बाटो छेकेर, गाडीबाट तानेर कुट्ने व्यक्ति उनकै नयाँ 'गर्लफ्रेन्ड' का पति हुन् । सम्पत्तिका लागि आफ्नी श्रीमती शर्मिला डंगोललाई बरालेको भन्दै उनका पतिले भुवनलाई हातपात गरेका हुन् ।

दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध तोडेको घोषणापछि भुवनले २ वैशाखमा वरदान फिल्मको मुहूर्तमा ललितपुर कुपन्डोलमा बुटिक चलाउँदै आएकी शर्मिलालाई आपनी 'लेटेस्ट गर्लफ्रेन्ड' भनेर चिनाएका थिए । उनैै 'लेटेस्ट गर्लफ्रेन्ड' का पतिले भुवनलाई शनिबार दिउँसो ११:४५ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका हुन् ।

भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन्, छेउमा भुवन थिए । तर, उनीहरूको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो ।

मोटरसाइकलमा सवार पुरुषले आक्रोशित स्वरमा शर्मिला र भुवनलाई 'गाडी रोक' भन्दै कराइरहेका थिए । शर्मिलाले ती पुरुषको आदेशको वास्ता नगरी गाडी हाँकिरहेकी थिइन् ।

केही बेरपछि ती पुरुषले गाडी अगाडि लगेर मोटरसाइकल तेस्र्याए । शर्मिलाले बाध्य भएर गाडी रोकिन् । मोटरबाइकबाट झरेर ती पुरुषले हेल्मेटले भुवन बसेको गाडीको सिसा फुटाउन थाले । आत्तिएका भुवनले सिसा खोले । यही मौकामा उनले गाडीभित्र हात छिराए र भुवनको कपाल भुत्ल्याउँदै चिच्याए, 'साले झर, तँसँग हिसाबकिताब गर्नु छ ।'

भुवन पनि 'नायक' हुन्, झट्ट किन मान्थे ? शर्मिलाले मोटरबाइक तर्काएर गाडी हाँक्न खोजिन् । तर, ती पुरुषले दिएनन् । उनी भुवनलाई समातेको समात्यै भए । त्यसपछि भुवन गाडीबाट झरे । ती पुरुषले भुवनको टाउकोमा लगातार हेल्मेटले हाने । एक, दुई, तीन । प्रत्यक्षदर्शीले ६ गन्न भ्याएका थिए, भुवन भाग्न सफल भए ।

तर, यतिन्जेल शर्मिलाका पतिले भुवनलाई हेल्मेटले मात्रै होइन, चार-पाँच मुक्का र दुई-तीन लात्ता पनि हानिसकेका थिए ।

घटनाका प्रत्यक्षदर्शी बालकोटनिवासी राजन ढुंगानाका अनुसार शर्मिलाका पतिले भुवनलाई तथानाम गाली गर्दै पिटेका थिए । भुवन भने 'यो बेबकुफ हो, यो पागल हो' भन्दै कराइरहेका थिए ।

शर्मिलाका पतिले भुवनलाई हेल्मेटले टाउकोमा हानिरहँदा भुवनले हातले छेक्ने कोसिस गरेका थिए । तर, उम्कन उनलाई झन्डै पन्ध्र मिनेट लागेको थियो । त्यसैबीच सडकछेउ रहेका ट्राफिक प्रहरी पनि 'द्वन्द्वस्थल' मा आइपुगे । ट्राफिक प्रहरीलाई भुवनले यो साले बेबकुफ हो, यो बहुलाएको छ भन्दै भागेका थिए । 'भुवन भीडबाट निस्किएर कोटेश्वर चोकतिर भागे,' प्रत्यक्षदर्शी राजनले भने ।

भुवन भाग्नुअघिसम्म भीडले के भएको हो भन्ने ठम्याउनै सकेको थिएन, गाडीले कतै दुर्घटना गराएर भागेकाले झगडा भएको होला भन्ने अनुमान मात्र थियो । तर, शर्मिलाका पतिले नै सबै कुरा बताएपछि भीड छक्क परेको थियो ।

भुवन भागेपछि शर्मिलाका पति हेल्मेट बोकेर गाडीमा चढेका थिए । उनले पत्नी शर्मिलालाई सम्झाउने कोसिस गरेका थिए । तर, शर्मिला सुन्न तयार थिइनन् । सार्वजनिक स्थलमा झगडा भएको भन्दै ट्राफिकले सो गाडी महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वर लगेको थियो ।

'पछि पनि गाडी शर्मिलाले चलाइन् । उनका पति पहिला अभिनेता भुवन बसेको सिटमा बसे । ट्राफिक प्रहरी पछाडिको सिटमा बसे,' प्रहरी वृत्तसम्म पुगेका प्रत्यक्षदर्शी राजनले भने, 'ट्राफिक प्र्रहरीमा पुगेपछि ट्राफिकले डंगोल दम्पतीको लाइसेन्स लिए । शर्मिलाको लाइसेन्सबाट ती पुरुष उनका पति हुन् भन्ने पुष्टि भएपछि प्रहरीले तत्कालै छाडिदियो ।' केही बेरपछि दुवैजना प्रहरीबाट बिदा भए ।

महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वरका प्रहरी निरीक्षक प्रेमराज जोशीले भने घटनाको विस्तृत विवरण दिन चाहेनन् । 'पति-पत्नीको झगडा रहेछ । पछि मान्छे पठाएर गाडी लगे,' उनले भने, 'हामी पुग्दा पिटाइ खाने मान्छे भागिसकेको थियो । हामीले देख्न पाएनौँ । तर, प्रत्यक्षदर्शीले अभिनेता भुवन केसी हुन् भन्दै थिए ।' यससम्बन्धमा अभिनेता भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

नयाँ पत्रिका

No comments:

Post a Comment

^ Scroll to Top