Sunday, April 10, 2011

दिपिका पादुकोण लाई निजी पार्टीमा नाच्ने काम मन पर्दैनरे.......


बलिउडका लोकप्रिय अभिनेता-अभिनेत्रीहरू मोटो रकम लिएर निजी पार्टीमा नाच्ने क्रम तीव्र भएका बेला दिपिका पादुकोणले भने चार करोड भारूको प्रस्ताव लत्याएर सबैलाई चकित तुल्याइन्।

लन्डनमा लामो समयदेखि बसोबास गर्दै आएका सम्भ्रान्त पञ्जाबी परिवारले एउटा निजी डान्स पार्टीमा नाच्न भनेर उनलाई चार करोड भारूको प्रस्ताव गरेको थियो। त्यो पार्टीमा उनले अरू कुनै गीतमा नभएर आफ्नै नयाँ फिल्म दम मारो दमको आइटम गीतमा नाच्नुपर्ने थियो।

‘त्यो गीतमा दिपिकाको लुक र पहिरन अत्यन्त सेक्सी छ। डान्सको स्टेप्स पनि सेक्सी छ। उनले निजी पार्टीमा पनि त्यस्तै खालको पहिरनमा नाच्ने इच्छा देखाइनन्,' दिपिका निकट स्रोतले भन्यो। स्रोतका अनुसार यो प्रस्ताव आउँदा सुरुमा त दिपिकाले पत्याएकी थिइनन्। उनले यसलाई कसैले जोक गरेको ठानेकी थिइन्। तर, प्रस्ताव साँच्चिकै हो भन्ने भएपछि चकित खाइन्।

दिपिकालाई निजी पार्टीमा नाच्ने अफर यसअघि पनि आएका हुन्, तर उनले सधैं विभिन्न कारण देखाउँदै अस्वीकार गर्दै आएकी छन्। दिपिकाको नकारात्मक जवाफपछि उक्त पञ्जाबी परिवार निकै दुःखी भएको स्रोतले बतायो। तिनले खुबै आग्रह पनि गरिरहे। तर, दिपिकाले मान्दै मानिन। ‘जतिसुकै पैसाको प्रस्ताव आए पनि निजी पार्टीमा नाच्ने काम मलाई मन पर्दैन,' उनले भनिन्।

यसअघि सुपरस्टार शाहरुख खानदेखि सलमान खानलगायत विपाशा बासु, कोयना मित्रा, कटि्रना कैफजस्ता अभिनेत्रीले मोटो पैसा लिएर निजी पार्टीमा आफ्नो जादु छरिसकेका छन्।

No comments:

Post a Comment

^ Scroll to Top