Tuesday, April 12, 2011

मन्त्रीमाथि खुकुरी प्रहार

मन्त्री घोषित भएको केही घन्टाभित्रै एमाले केन्द्रीय सदस्य गोकर्ण बिष्टमाथि उनको सामाखुशी टाउन प्लानिङस्थित निवासमा दुई जना अपरिचित युवाले खुकुरी प्रहार गरेका छन्। खुकुरी लागेर आधा काटिएको हत्केला ठमेलस्थित मनमोहन मेमोरियल अस्प्तालका चिकित्सकले शल्यक्रिया गरेर जोडिदिएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको छ।

घाइते विष्टलाई प्रधानमन्त्री झलनाथ खनालले आज अस्पतालमा भेटेका छन्।

मोबाइलमा कुरा गर्दै साँझ सवा आठ बजे घरबाट निस्किरहेका बिष्टमाथि मोटरसाइकलमा आएका युवाले खुकुरी हानेका थिए। उनले देब्रे हातले खुकुरी छेक्दा हत्केलामा गम्भीर चोट लागेको छ। टाउको ताकेर हानेको खुकुरी छेक्दा उनको बायाँ हातमा चोट लागेको हो।



प्रहरीले घटनास्थल क्षेत्रबाट आठ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौ प्रहरीका प्रवक्ता केदार ढकालका अनुसार बिष्टको वयानको आधारमा आक्रमण गर्न प्रयोग गरेको आशंकामा बा २९ प १०५ नम्बरको कालो पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बिष्ट अहिले खतरामुक्त हुनुहुन्छ' डिएसपी ढकालले भने।

बिष्टका भाइ गगनका अनुसार लोडसेडिङका बेला मोबाइलमा कुरा गर्दै घरबाहिर निस्किएको दुई मिनेटमै आक्रमण भएको थियो। घाइते भएपछि उनले घरभित्र गएर श्रीमती प्रतिमा श्रेष्ठलाई गुहारेका थिए। श्रीमान रगतपच्छे भएर आएको देखेपछि प्रतिमाले छिमेकीलाई गुहारेर ट्याक्सीमा राखी अस्पताल लगेकी थिइन्।

प्रहरीले लोडसेडिङको मौका छोपी लुटपाटमा सक्रिय समूहले आक्रमण गरेको आशंका गरेको छ।

No comments:

Post a Comment

^ Scroll to Top